close

योजना कार्यान्वयनमा तात्याे धवलागिरि

योजना कार्यान्वयनमा तात्याे धवलागिरि

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिकाले चालू आर्थिक वर्ष २०७७/०७८ मा बजेट विनियोजन भएका योजना कार्यान्वयनका लागि धमाधम सम्झौता गरिरहेको छ । 


प्राविधिक रूपमा सर्भेक्षण गरेर लागत अनुमान र डिजाइन तयार पारिएका योजनाको उपभोक्ता समितिसँग सम्झौता गरेर कार्यान्वयन प्रक्रियामा जुटेको हो । वडा- १ गुर्जा, वडा- ५ मल्कवाङ, वडा- ६, मराङ र वडा- ७, ताकमका अधिकांश उपभोक्ता समितिसँग सम्झौता भइसकेको छ । 


सोमबार वडा- २, लुलाङ, वडा- ३, मुना र वडा- ४, मुदीका २० वटा उपभोक्ता समितिका पदाधिकारीलाई कार्यालयमै बोलाएर योजना सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत गोपाल पौडेलले बताए । उनका अनुसार थप ४ वटा योजना सम्झौताको क्रममा छन् । 


यसअघि आइतबार वडा नं.- ७, ताकमको वडा कार्यालयमै घुम्ती शिविर संचालन गरेर १३ वटा उपभोक्ता समितिसँग सम्झौता गरिएको पूर्वाधार शाखाका प्रमुख इञ्जिनियर सोविन जीसीले बताए ।  


प्रमुख प्रशासकीय अधिकृत पौडेल, लेखा अधिकृत कृष्ण खराल, इञ्जिनियर जीसी, प्राविधिक रमेश रावल र महिला विकास शाखाकी शिलु आलेको टोलीले वडामै योजना सम्झौता गरेको थियो । वडा अध्यक्ष कलानिधि शर्मा, वडा सदस्य देवबहादुर थापालगायतले सहजीकरण गरेका थिए । 


यसअघि वडा नं.- ६, मराङ र वडा नं.- ५, मल्कवाङका १९ वटा योजनाका उपभोक्ता समितिसँग मराङमा घुम्ती शिविर संचालन गरेर योजना सम्झौता गरिएको थियो । गुर्जाका ३ वटा योजनाका उपभोक्ता समितिले कार्यालयमै आएर सम्झौता गरिसकेका छन् ।  


गाउँपालिकाका कर्मचारीहरू वडामै पुगेर योजना सम्झौता गर्दा उपभोक्ता समितिका पदाधिकारीहरूलाई कार्यालयमा जाने समयको बचत र झन्झट हटेको छ । सहज र सरल हिसाबले नागरिकलाई सेवा उपलब्ध गराउन वडामै पुगेर योजना सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

 

धवलागिरि गाउँपालिकाले पूर्वाधारसम्बन्धी १२० वटा योजना बनाएको छ, जसमध्ये ४ वटा ठेक्का प्रक्रियाबाट कार्यान्वयन सुरु भएको छ ।