close

गुबे खोलामा आर्क डिजाइनकाे पुल बनाउँदै शुक्लागण्डकी

गुबे खोलामा आर्क डिजाइनकाे पुल बनाउँदै शुक्लागण्डकी

Trulli
ADVERTISEMENT

तनहुँ- केन्द्र र प्रदेश सरकारले ४ वर्षसम्म सुनुवाइ नगरेपछि तनहुँको शुक्लागण्डकी नगरपालिका आफ्नै लगानीमा पक्की मोटरेबल पुल बनाउन जुटेको छ । शुक्लागण्डकी वडा नम्बर २ र १ लाई जोड्ने गरी गुबे खोलामा नगरपालिकाले पक्की मोटरेबल पुल बनाउन थालेको हो ।

 
साविकको थप्रेक गाविसवासीलाई वडा केन्द्रदेखि नगरको केन्द्रसम्म सहज सडक संजालको पहुँचमा ल्याउने उद्देश्यले निर्माण गर्न लागिएको पक्की मोटरेबल पुलको शिलान्यास गरिएको छ । 

 

शुक्लागण्डकी नगरपालिका प्रमुख किसान गुरुङ, उपप्रमुख सविता रसाइली, प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीलगायतले संयुक्त रूपमा पुलको शिलन्यास गरे । 

 

कार्यक्रममा नगरप्रमुख गुरुङले पुल बनेपछि नगरवासीलाई आउजाउमा सहज हुने बताए । उनले भने, ‘सडक कालोपत्रे र पुल बनेर मात्र समृद्धि आउनेवाला छैन । त्यसका लागि उत्पादनसँग जोडिनै पर्छ ।’

 

कृषि र पशुपालनमा लागेर आर्थिक समृद्धिसँगै बसाइँसराइ रोक्न सकिने उनको धारणा छ । पुल बनेपछि थप्रेकवासीले उत्पादन गरेको कृषि उपज बजारमा पुर्‍याउन सहज हुने नगरप्रमुख गुरुङले बताए ।


उपप्रमुख रसाइलीले जनताको पीडाबोध गरेर नगरले आफ्नै लगानीमा पुल निर्माण थालेको जानकारी दिइन् । नगर क्षेत्रमै पनि भौगोलिक विकटताका कारण विकासलाई अगाडि बढाउन समस्या भएको उल्लेख गरिन् । 


नगरपालिकाका इञ्जिनियर तारापति भट्टराईका अनुसार यहाँ सिंगल स्पानको आर्क डिजाइनमा बन्ने पुल २० मिटर लामो र ६ मिटर चौडा हुनेछ । आगामी जेठ मसान्तसम्म पुल निर्माण सक्ने गरी बबुल अब्जल खान जेभी स्याङ्जाले १ करोड ४७ लाख ४८ हजार ७७१ रुपैयाँमा ठेक्का लिएको छ ।

 

पुल निर्माण गर्न नरपालिकाले गत आर्थिक वर्षमा ६० लाख रुपैयाँ र चालू आर्थिक वर्षमा ९० लाख रुपैयाँ विनियोजन गरेको थियो ।


गुबे खोलामा पुल नहुँदा थप्रेकवासीलाई बर्खाको समयमा समस्या हुने गरेको लालध्वज मोटरमार्ग उपभोक्ता समिति अध्यक्ष डिल्लीराम अधिकारीले बताए । उनले भने, ‘काममा ढिलासुस्ती नहोस् । आगामी बर्खामा पुल तरेर हिँड्न पाइयोस् ।’