close

अजिंगरे भीर छिचोलेर यसरी बन्यो बाटो

अजिंगरे भीर छिचोलेर यसरी बन्यो बाटो

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको सबैभन्दा जोखिमयुक्त र कठिन मानिने दग्नामको अजिंगर भीर छिचोलेर रघुगंगा गाउँपालिकाका ३ वटा वडा सडक सञ्जालमा जोडिएका छन् । 

 

भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने दग्नाम, दर्मिजा, चिमखोला र कुइनेमंगले अजिंगर भीरमा ट्रयाक खुलेसँगै सडक सञ्जालमा जोडिएका हुन् । 


चिमखोला र कुइनेमंगलमा निर्माणाधीन जलविद्युत् आयोजना र प्रदेश सरकारसँगको साझेदारीमा अक्करे भीरमा चट्टानी पहाड फुटाएर दुर्गम गाउँलाई सडक सञ्जालमा जोडिएको रघुगंगा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले बताए । 


‘अजिंगर भीरमा सडक खन्न यो वर्ष गाउँपालिकाले डेढ करोड र गण्डकी प्रदेश सरकारले ५० लाख रुपैयाँ विनियोजन भएको छ,’ उनले भने, ‘गत भदौदेखि सुरु भएको ट्रयाक खोल्ने काम सकिएको छ ।’

 

जलविद्युत् आयोजनासँग ट्रयाक निर्माणका लागि सरकारको बराबर लगानी गर्ने सम्झौता भएको थियो । मौवाफाँट-दग्नाम-दर्मिजा हुदै चिमखोला जोड्ने सडक रघुगंगाको गौरवको आयोजना हो । 

 

गाउँपालिकाका सबइञ्जिनियर कमल चोखालका अनुसार मौवाफाँटदेखि दग्नाम हुँदै अजिंगर भीरसम्म ५ किलोमिटर र चिमखोलादेखि दर्मिजासम्म करिब ४ किलोमिटर सडकको ट्रयाक यसअघि नै खुलिसकेको थियो ।

 

‘गाउँपालिका, प्रदेश सरकार र जलविद्युत् आयोजनाले प्याकेज छुट्टाएर फरक-फरक ठाउँमा काम गरेका छौँ,’ चोखालले भने ‘कहाँ कति खर्च भयो भन्ने मूल्यांकन र नापजाँच हुन बाँकी छ ।’ अजिंगर भीरमा करिब ५ सय मिटर सडक निर्माण भएको छ । 

 

जलविद्युत् आयोजनाको सहयोगमा नेपाली सेनाको निगरानीमा विस्फोटक पदार्थको प्रयोग गरेर फुटाइएको चट्टान व्यवस्थापन गर्न डोजर र ब्रेकर प्रयोग भएको थियो ।


सडक निर्माणको अगुवाइ गरेका दर्मिजाका सुविन शेरपुञ्जाले परिकल्पनै नगरेको ठाउँमा सडक खनेर गाडी गुडाउन पाउँदा खुसी व्यक्त गरे । 

 

‘ट्रयाक खुलेपछि रघुगंगाको वडा नम्बर ४ दर्मिजा, ७ चिमखोला र ८ कुइनेमंगल सीधा सडक सञ्जालमा जोडिएका छन्,’ उनले भने, ‘केही साँघुरो ठाउँलाई फराकिलो बनाएर नियमित यातायात सञ्चालनको तयारीमा छौँ ।’

 

गत आर्थिक वर्षमा प्रदेश र संघीय सरकारले पनि दग्नाम-दर्मिजा-चिमखोला सडक आयोजनालाई रकम विनियोजन गरेका थिए । 


२०६७ मा स्थानीय, तत्कालीन जिविस र गाविसको ६० लाख रुपैयाँमा निर्माण भएको भगवति, बेग-चिमखोला हुँदै घ्यासीखर्क जोड्ने ५६ किलोमिटर दूरीको सडक घुमाउरो, प्राविधिक हिसाबले अनुपयुक्त, जोखिमयुक्त र लामो दूरीको भएकाले विकल्पमा नयाँ सडक निर्माण गरिएको हो ।

 

यसअघि जिल्ला सदरमुकाम बेनी, गाउँपालिका केन्द्र मौवाफाँट आउजाउ गर्न दग्नाम-दर्मिजाको पैदल मार्ग प्रयोग गर्नुपर्ने बाध्यता थियो । पुरानो सडकमा गाडी चढ्दा पूरै दिन लाग्ने तर हिँडेर ५/६ घन्टामै बेनी आउन सकिने अवस्था थियो । 


दर्मिजा, चिमखोला र कुइनेमंगलेका करिब १ हजार घरधुरी भीरपहरा, जंगल र खोल्साखाल्सीमा जोखिम मोलेरै हिँड्नुपर्ने बाध्यता हटेको छ । बिरामी पर्दा र अन्य कामले सदरमुकाम आउजाउ गर्न पैदलयात्रा गर्नुपर्ने समस्या हटेपछि स्थानीय खुसी छन् । 


खच्चर, भरिया र ट्रयाक्टरबाट गरिने ढुवानी भाडा महँगो पर्थ्याे । नयाँ सडक पुरानोभन्दा आधा छोटोका साथै सुरक्षित र सस्तो पनि छ । 


सडकले दुर्गम बस्तीको जनजीवन सहज बन्नुका साथै राहुघाट र आसपासका नदीमा निर्माण अनुमति लिएर बसेका जलविद्युत् आयोजनाले गति लिने रघुगंगाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।