close

पर्यटनबाटै चम्किँदै छ पूर्वको कालीकोट (भिडियाे खबर)

पर्यटनबाटै चम्किँदै छ पूर्वको कालीकोट (भिडियाे खबर)

ADVERTISEMENT

खोटाङ- खोटाङ जिल्लाको सम्पूर्ण भूभाग मध्यपहाडमा अवस्थित छ । सुनकोसी नदी किनारदेखि रूपाकोट-मैयूँ पर्वत शृंखलामा अवस्थित ३ हजार ६२० मिटर अग्लो डाँडाको बीचमा खोटाङको सम्पूर्ण भूमि अटाएको छ । 


झट्ट हेर्दा भौगोलिक विकटता नै खोटाङको आफ्नो परिचय हो कि जस्तै लाग्छ । त्यसैले त खोटाङलाई ‘पूर्वको कालीकोट’ देख्छन्, अर्धमुदित आँखाहरू । तर, यही खोटाङको भूगोलभित्रका पोखरी भने प्रचारप्रसार नहुँदा ओझेलमा छन् । यस्तै ओझेलमा छ, धार्मिक तथा पर्यटकीयस्थल हुमा अर्थात् होङमा पोखरी । यस पोखरीको संरक्षणमा कसैको पनि ध्यान गएको पाइँदैन । 


आकारमा सानो तर चिटिक्क भूबनोटमा रहेको यो पोखरी जन्तेढुंगा गाउँपालिका-५ चिसापानीमा पर्छ । वरपर भने उराठलाग्दो देखिन्छ । मौसमका कारण अहिले हरियाली नदेखिए पनि पोखरीको छेउछाउमा केही विकास भएको छैन । त्यसैले त यहाँका स्थानीय भन्छन्- संरक्षण नहुँदा पोखरी आझेलमा परिरहेको छ । भिडियोमा देखिने दृश्यले नै पुष्टि गरिरहेको छ यो तथ्यलाई । 


पर्यटकलाई आकर्षण गर्ने, बस्ने ठाउँ, बगैँचा जस्ता संरचना निर्माण गर्न सके ‘हुमा पोखरी’मा पर्यटनको प्रचुर सम्भावना छ । वरिपरि डाँडाले घेरिएको बीच भागमा हुमा पोखरी छ । ऐतिहासिक, धार्मिक तथा साँस्कृतिक विविधता बोकेको यस पोखरीको उत्तरी किनारमा पञ्चकन्यादेवीको मन्दिर छ । मनोकांक्षा पूरा होस् भन्ने कामना गर्दै मन्दिरमा वैशाख पूर्णिमादेखि र मंसिर पूर्णिमासम्म भोग दिएर पूजाआजा गर्ने प्रचलन छ । 


मुहान र निकास हुने ठाउँ नदेखिनु तर पानी नसुक्नु हुमा पोखरीको विशेषता हो । जन्तेढुंगा गाउँपालिकाको केन्द्र चिसापानी बजारबाट पैदल आधा घण्टामै पुग्न सकिने यस पोखरीमा सवारी साधनमार्फत पनि पुग्न सकिन्छ । करिव २ दशकअघिसम्म हुमा पोखरीमा टम्म पानी भरिएको हुन्थ्यो । तर, संरक्षण नहुँदा अहिले त्यो सबै कहानी हुन थालेको स्थानीय दुखेसो गर्छन् । 


कात्तिकको एकादशीका दिन हुमा पोखरीमा परेवा उडाउने चलन छ । हरिबोधनी एकादशीका दिन पोखरी परिसरमा दर्शनार्थीको भीड लाग्ने गरेको छ । त्यति मात्र नभई बराहपोखरी पुगेर फर्किएका धामी तथा  आफन्तले समेत हुमा पोखरीमा पूजाआजा गर्ने गरेका छन् । 


चिसापानी-रोक्सिङ भञ्ज्याङ सडकले छोएका कारण हुमा पोखरी पुग्न सहज छ । तर, सडकको डिलबाट वर्षामा झरेको भेलपानीले भने पोखरीमा बालुवा थुप्रिने गरेको छ । अर्कातर्फ पछिल्लो समय हुमा पोखरीको पानी सुक्दै गएको छ । वर्षा यामको भलपानी सिधै पस्ने भएकाले पोखरीको पानी धमिलो बनेको छ । 


पोखरीमा थुप्रिएको बालुवा स्थानीय सरकारको पहलमा झिक्ने गरिएको छ । पोखरीको दक्षिणीतर्फ बनेको भ्वाङ पोखरीको अर्को चुनौती हो । यद्यपि, खोलिएको भागमा हाल तार जालीसहितको पर्खाल हालिसकिएको छ । गाउँपालिकाकै धार्मिक तथा पर्यटकीय स्थलका रूपमा विकास गर्नका लागि हुमा पोखरीको डीपीआर तयार पारेर काम अघि बढाइएको छ । 


१९९९ सालमा हुमा पोखरीले तत्कालीन पुजारीलाई सपनामा ‘फोहोर भएकाले बसाइँ सर्दै छु’ भनेको केही दिनपछि राती बाजागाजा बजेको सुनिएको, त्यसको भोलिपल्ट पोखरीको एकातर्फ खोलिएको पाइएको किंवदन्ती छ ।