close

जिल्ला प्रहरी कार्यालयलाई गाउँपालिकाको सहयोग, प्रहरी कार्यालयमा स्तनपान कक्ष 

जिल्ला प्रहरी कार्यालयलाई गाउँपालिकाको सहयोग, प्रहरी कार्यालयमा स्तनपान कक्ष 

Trulli
ADVERTISEMENT

म्याग्दी- रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय म्याग्दीमा नागरिक सहायता र स्तनपान कक्ष स्थापना भएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा प्रहरी कर्मचारीले श्रमदान गरेर कक्ष स्थापना गरेका हुन् ।


सहायता कक्ष स्थापना गर्न गाउँपालिकाले साढे २ लाख रुपैयाँ सहयोग गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताए ।


गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको व्यक्तिगत रूपमा ६१ हजार ६ सय ९५ रुपैयाँ सहयोग गरेका छन् । यसमा ३ लाख ११ हजार ६९५ रुपैयाँ खर्च भएको छ । 


प्रिफेक प्रविधिको सहायता कक्षको भवन र प्रहरी कार्यालय प्रवेशद्वारमा रहेको प्रयोगविहीन पोस्टलाई मर्मत गरेर स्तनपान कक्ष निर्माण गरिएको हो । कार्यालयमा आउने सेवाग्राही महिलाका लागि कक्ष तयार पारिएको अध्यक्ष भण्डारीले बताए । 


‘प्रहरी कार्यालयबाट गरिएको प्रस्ताव उपयुक्त देखेर तत्कालै सहयोग गरी ४ दिनमै सहायता कक्ष बनाएर हस्तान्तरण गरेका छौँ,’ उनले भने, ‘गाउँपालिकाले विनियोजन गरेको बजेटले नपुगेपछि मेरो सेवा-सुविधाबाट स्थापित भवबहादुर भण्डारी अक्षयकोषमार्फत थप सहयोग गरेको छु ।’


नागरिक सहायता र स्तनपान कक्षका साथै सरकारको ३ लाख ५० हजार रुपैयाँ लगानीमा प्रहरी कार्यालय भवनमा निर्माण भएको तालिम तथा बैठक कक्षको बिहीबार प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले उद्घाटन गरे । 

 

म्याग्दीका स्थानीय तहहरूले प्रहरी कार्यालय र मातहतका इकाइको पूर्वाधार, प्रविधि र स्रोत-साधनमा गरेको सहयोगका कारण सुरक्षा र विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन सहयोग पुगेको प्रजिअ अधिकारीको भनाइ छ । 

 

जिल्ला प्रहरी कार्यालय म्याग्दीमा यसअघि हिंसा प्रभावित महिला तथा बालबालिकाको आश्रयका लागि निर्माण गरिएको भवनको एउटा कोठामा सहायता कक्ष सञ्चालन गरिएको थियो । प्रवेशद्वारभन्दा टाढा र आश्रयस्थलसँगै रहेको सहायता कक्ष प्रभावकारी हुन सकेको थिएन । 


सेवाग्राही र प्रहरी, कर्मचारीलाई बच्चालाई स्तनपान गराउन समस्या भएको थियो । कम्प्युटरको माध्यमबाट दैनिक रूपमा सेवाग्राहीको विस्तृत विवरण राखिने र सन्तुष्टिको मापनका लागि फारमसमेत भर्ने ब्यवस्था मिलाइएको प्रहरी नायब उपरीक्षक किरणजंग कुँवरले बताए । 

 

‘सहायता कक्षमा १ जना प्रहरी कर्मचारी खटाएका छौँ,’ उनले भने, ‘सेवाग्राहीलाई परामर्श, सम्बन्धित शाखा, अधिकारीसँग सम्पर्क गराएर छिटो–छरितो सेवा प्रवाह गर्नुका साथै बिचौलियाको सहायता लिनुपर्ने अवस्था अन्त्य गर्न सहयोग पुग्ने अपेक्षा छ ।’