close

रुढीवाद र पुरातन सोचको पराकाष्ठाः झारफुकको नाममा वृद्धले गुमाए ज्यान

रुढीवाद र पुरातन सोचको पराकाष्ठाः झारफुकको नाममा वृद्धले गुमाए ज्यान

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ३ का ६४ वर्षीय रामबहादुर मुखिया ढाड दुख्ने समस्याले पीडित थिए । उनलाई धेरै पटक अस्पताल पुग्दा पनि निको भएन । 


झारफुक हुने सुनेका २ छोराले रामबहादुरलाई गत २५ पुसमा रेसुंगा नगरपालिका वडा नम्बर १ उदिनढुंगा ल्याए । यस्तै, रेसुंगा नगरपालिका वडा नम्बर ५ कि ४० वर्षीया टोपला दमाई पनि शरीर पोल्ने र झमझाउने भएपछि झारफुक गर्न उदिनढुंगा आइन् ।

 

मालिका गाउँपालिका वडा नम्बर ६ अर्जेका ३८ वर्षीय रामप्रसाद श्रेष्ठ र ३६ वर्षीया शान्तिला श्रेष्ठ दम्पतीले झारफुक गर्थे । रामबहादुर मुखियालाई चार दिनदेखि श्रेष्ठ दम्पतीले घरमै राखे । उपचारमा आएका कसैलाई पनि घरबाहिर निस्कन दिइएन । 


सुरु–सुरुमा श्रेष्ठ दम्पतीले टाउकोमा जल र जौ, तिल मात्रै छर्किन्थे, सामान्य कुटपिट पनि गर्थे । उपचारमा आएकाले सन्चो हुने ठानेर बिरामीले कुटपिटलाई सामान्य ठाने । श्रेष्ठ दम्पतीले बिरामीलाई विस्तारै–विस्तारै असह्य पीडा दिन थाले ।

 

टोपला दमाईसँग ११ हजार र रामबहादुर मुखियाका छोरा कृष्णसँग होम गर्ने सामग्रीका लागि भनेर १५ हजार रुपैयाँ मागे । बिरामीका परिवारले पैसा पनि दिए । 

 

तर, २८ पुसमा रामबहादुर मुखिया, टोपला दमाई र हुमबहादुर मुखियालाई झारफुकको नाममा श्रेष्ठ दम्पतीले मरणासन्य हुने गरी रड, पाइप र झाँझर तताएर डामे अनि कुटे । कृष्ण कुमाललाई देवता उतार्ने भन्दै काम्न लगाएर कुटे ।

 

झाँक्री दम्पतीको कुटाइले रामबहादुर मुखिया रातभर पीडाले छट्पटिए । बुधबार उपचार पाएनन्, बरु ज्यानै गुमाए ।

 

घटनामा संलग्न मालिका गाउँपालिका वडा नम्बर ६ अर्जे स्थायी घर भई रेसुंगा नगरपालिका वडा नम्बर १ उदिनढुंगा बस्दै आएका श्रेष्ठ दम्पतीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिए । 

 

४ दिनदेखि विभिन्न धातु तताएर डाम्दै आएकाले मृतकको शरीर सबै डढेर नीलो भएको छ भने घाइते दुई जनाको पनि शरीरका विभिन्न भागमा डढेका नीलडाम रहेको पाण्डेयले बताए । 

 

घाइते रेसुंगा नगरपालिका वडा नम्बर ५ की टोपला दमाई र मृतकका छोरा ३४ वर्षीय छोरा हुमबहादुर मुखियालाई गुल्मी अस्पतालमा सामान्य उपचारपछि पाल्पा रेफर गरिएको गुल्मी अस्पतालका प्रमुख डा. उत्तम पच्याले जानकारी दिए ।

 

मृतक मुखियाको शव गुल्मी अस्पताल तम्घासमा पोस्टमार्टमका लागि लगिएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी बताएको छ ।


गाउँदेखि सहरसम्म १० वर्षदेखि झारफुक 

 

श्रेष्ठ दम्पतीको झारफुक घटना पहिलो भने होइन । उनीहरूले गाउँमा पनि १०÷१२ वर्षदेखि झारफुक गर्थे । २ वर्षअघि मालिका वडा नम्बर ६ अर्जेकी १ महिला बिरामी भएपछि श्रेष्ठ दम्पतीकहाँ झारफुक गर्न पुगिन् ।

 

उनीहरूले घरमै बन्धक बनाएर पीडा दिए । उनका श्रीमान् र सासू-ससुरा कसैलाई पनि श्रेष्ठ दम्पतीले घर आउनै दिएनन् । अध्याँरो कोठामा बाँटामै दिसापिसाब गराउने र झारफुकको नाममा यातना दिएपछि छिमेकी ढालबहादुर विष्टले घरको ढोका फोरेर ती महिलाको उद्धार गरे ।

 

‘गाउँमा मेरै काकीलाई झन्डै मारेनन् । काकालाई समेत लट्ठ बनाए,’ विष्टले भने, ‘ढोका फोरेर काकीको उद्धार गरेका हाँै ।’ आफुलाई पनि मन्त्र हानेर ज्यान मार्ने धम्की आएकाले सबै मिलेर लखेटेका हौँ ।’

 
यसो भन्छन् घाइतेहरू


टोपला दमाई :


मैले गत जेठदेखि थाइराइडको औषधी पनि खाइरहेकी छु । शरीर पोल्ने र झमझाउने भएपछि निकै पीडा हुन्छ । औषधीले पनि निको भएन । अस्पतालको औषधीले निको नभएपछि खान पनि छाडेँ । त्यसपछि झारफुकतिर लागेँ । गाउँमा पनि कतै-कतै धामीलाई देखाएँ । अन्त्यमा अर्जेका १ जनाले तम्घासमा हेरेपछि निको हुन्छ भनेको सुनेपछि आएकी हुँ ।

 

५ दिनसम्म खान दिएन । ११ हजार रुपैयाँभन्दा बढी पैसा दिएँ । पहिले कुटेनन् । हिजो डाहा लगाउने भनेर कुटे–पिटे । आगोले पोले, जिउ जलेर बस्न खान छैन । ४ जना छोराछोरी छन् ।

 

हुम बहादुर मुखिया,मृतकका जेठा छोरा  :


बुबा पहिलेबाट ढाड, कम्मर दुख्ने समस्याले पीडित थिए । पहिले पनि अर्जेतिर लगेर सन्चो भएको रहेछ । फेरि समस्या बल्झेपछि भाइ कृष्णले तम्घास हेर्छन भनेर ल्याएछ । म २ दिनपछि आएँ । मलाई तँलाई पनि कुल छ, पछि जे पनि हुन सक्छ भनेर बाहिर आउन दिएनन् । २८ पुसमा होम गरेर घर कुहिरीमण्डल बनाए ।

 

मास, चामल छकर्ने र रड, पाइप, झाँजर, अगुल्टो सबैले कुट्न थाले । बुबा अचेत भएर लडे । अरू ३ जना पनि कुटाइ खाएर १२ बजेपछि सुत्यौँ । बिहानै ४ बजे उठेर बुबाको टाउको चार पटक भुइँमा ठोक्काए । बुबाले ऐया पनि भन्न पाएनन् । हामी बोल्ने हिम्मत पनि राखेनौँ । आखिर बुबा मरे । 

 

कृष्णबहादुर मुखिया,मृतकका कान्छा छोरा :


त्यो घरभित्र पसेपछि प्रतिकारै गर्न सकिँदैन । लट्ठ परेकाले हामीलाई जे गरे पनि हुन्थ्यो । भित्र एक–एक खुट्टा काटिएका तरबार छन् । उनीहरू दुवै जना बाहिर गएर रक्सी खाएर आउने र हामीहरूलाई झारफुक भन्दै यातना दिने गर्थे । मलाई पानी र अबिर खन्याए । हतियारले हानेनन् र डामेनन् । तर, कुटेकाले शरीर चलाउन नसक्ने भएको छु । 

 

यसरी खुल्यो घटनाको पर्दा 

 

गुल्मी सदरमुकाम तम्घास बजार नजिक श्रेष्ठ दम्पतीको कर्म पहिले कसैलाई पत्तै भएन । उनीहरू तीन वर्षदेखि स्थानीय माधव ज्ञवालीको जग्गा भाडामा लिएर बसेका थिए । त्यहाँ टिनको लामो टहरो छ । सधैँ उनीहरू टहरोमा नबस्ने गरेको छिमेकीहरू बताउँछन् । कहिलेकाहीँ गाउँ र कहिले तराईसम्म झर्ने गरेका थिए ।

 

पछिल्लो समय दसैँपछि श्रेष्ठ दम्पती तम्घासमै थिए । बुधबार बिहान हत्या आरोपित रामप्रसाद श्रेष्ठ आफ्नो घरमा अपरिचित व्यक्तिले अशान्ति मच्चाएको भन्दै उजुरी गर्न जिल्ला प्रहरी कार्यालय आए ।

 

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सन्तोष चन्दसहितको प्रहरी टोली टहरोमा पुग्यो । त्यहाँ मृतक र घाइते व्यक्ति देखेपछि प्रहरी पनि अचम्म प¥यो । घाइतेले सविस्तार कहानी सुनाए । त्यसपछि घटनाको रहस्य उद्घटित भयो । 

 

आखिर घटना श्रेष्ठतिरै मोडियो । ‘सामान्य उजुरी आएर घरमा पुग्दा गम्भीर स्थितिको रहस्य खुल्यो,’ चन्दले भने, ‘आरोपित गिरफ्तार छन्, थप अनुसन्धान भइरहेको छ ।’ प्रहरी निरीक्षक चन्दका अनुसार उनीहरू पहिले पनि श्रीमान्-श्रीमतीको झगडा गरेर प्रहरीमा आउने गरेका थिए ।