close

नेपालगन्जका श्रमिकलाई भोकको डर, पाउनै छाडे काम 

नेपालगन्जका श्रमिकलाई भोकको डर, पाउनै छाडे काम 

Trulli
ADVERTISEMENT


बाँके- कोरोना संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउन र निषेधाज्ञाका कारण बाँकेका बिहान–बेलुका श्रम गरेर रोजीरोटीको जोहो गर्ने श्रमिकलाई भोक मेटाउने चिन्ताले दिनहुँ पिरोल्छ ।

 

दिनभर काम गरेर साँझ–बिहानको जोहो गर्ने नेपालगन्जका श्रमिकलाई भने कोरोनाभन्दा पनि बढी भोकको चिन्ता छ । नेपालगन्ज उपमहानगर बाँकेगाउँका हरेराम थारु र श्रीमती फुलरानी थारुलाई कोरोनाभन्दा पनि बढी भोकको पीर छ । 

 

‘कोरानाको डर लागे पनि माम कसरी जुटाउने भन्ने सुर्ताले सधैं पिरोल्छ । काम नपाएको एक साता भइसक्यो,’ फुलरानी  निराश सुनिनिन्छन् ।

 

नेपालगन्ज उपमहानगर– १५ प्रिपहवामा भाडा बस्दै आएका ३५ वर्षीय रामु चौधरीले श्रम बजारमा काम खोज्न थालेको करिब १० वर्ष बित्यो । श्रम गरेरै ६ जनाको परिवार पाल्दै आएका उनले कोरोनाअघि यस्तो कामको अभाव भोग्नु परेको थिएन । ७ बजे बिहानै घरबाट निस्कने उनले काम नपाएको लगालग ७ दिन भइसक्यो ।

 

‘बन्दाबन्दीको समय परिवार भोकै परेका बेला मागेको २ सय सापटी फर्काउँदा १ सय ब्याज थपेर ३ सय रुपैयाँ तिरें’, उनको गुनासो छ, ‘परिवारको भोको पेटभन्दा कोरोना ठूलो होइन रहेछ ।’ 

भोको पेट भर्न कोरोनाकै कारण गरिएको लकडाउन र निषेधाज्ञाले छेकबार लगाएको उनको बुझाइ छ ।

 

यस्तै, नेपालगन्ज–१८ कारकादोका सरिफ र समिर आलम दाजुभाइको दैनिकीलाई पनि कोरानाले छुन सकेको छैन । कोरोनाकै समय मजदुरी गरेबापत दैनिक ६ सय रुपैयाँ प्राप्त गर्छन्, उनीहरू । मजुदरीको रकमलाई रोजीरोटीमा खर्च गर्दै आएको बताउँछन्, उनीहरू ।

तर, अचेल काम पाउन नसक्दा बूढा आमाबुबा तथा साना भाइबहिनीको भोको पेट कसरी भर्ने पिरलोमा परेको उनीहरू बताउँछन् । वीरगन्जका उनीहरू गत वर्षदेखि कारकादोमा भाडामा बस्दै आएका छन् ।

 

हरेक दिनजसो गोसाईगाँउबाट मजदुरी गर्न आएकी फुलकुमारी थारुलाई कोरोनाभन्दा धेरै चिन्ता काम नपाएकामा छ । कोरोनाअघि काम पाइने भए पनि हिजोआज पाउन कठिन भएको थारु बताउँछिन् ।

 

थारुजस्तै कामको कामको खोजीमा बिहानैदेखि रामलिला मैदानमा करिब ३ सयभन्दा बढी मानिस आउँछन् ।

 

अधिकांश मजदुरले मास्क लगाएका हुँदैनन् । सचेतना अभाव र कमजोर आर्थिक अवस्थाका कारण न उनीहरूले मास्क लगाएका हुन्छन्, न त सामाजिक दूरीबारे जानकार छन् । 

प्रशासन तथा स्थानीय सरकारले कोरोनाविरुद्धको अभियानमा गम्भीर भइरहेको भनिरहँदा नेपालगन्जका श्रमिकको समस्याप्रति कसैको ध्यान पुगेको देखिँदैन । 

 

पहिले नेपालगन्जको पुरानो त्रिभुवन चोकमा लाग्ने सो बजार अहिले रामलिला मैदानमा सारिएको छ । कोरोना संक्रमितहरू बढिरहेका बेला त्यहाँ जम्मा हुने मजदुरबाट पनि समुदायस्तरमा फैलिन सक्ने र ठाउँ सानो भएका कारण त्रिभुवन चोकबाट रामलिला मैदानमा लगिएको बाँके प्रशासनले जनाएको छ ।