close

मालिकाको विशेष गाउँसभाः घरबासलाई बजेट दिइयो 

मालिकाको विशेष गाउँसभाः घरबासलाई बजेट दिइयो 

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिकाले गत बर्खाको पहिरोका कारण घरवास गुमाएकाहरूको पुनस्र्थापनाका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ । 


दरवाङमा बुधबार भएको आठौँ गाउँसभाले पहिरोपीडितको पुनस्र्थापनाका लागि ५० लाख र दरवाङको नदी नियन्त्रण योजनाका लागि ६० लाख रुपैयाँ विनियोजन गर्ने निर्णय गरेको हो । 


गत आर्थिक वर्षको खर्च हुन बाँकी अल्याय, शीर्षकान्तर तथा रकमान्तरबाट विनियोजन भएको बजेट कार्यविधिअनुसार खर्च गरिने गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिइन् ।  


गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाको अध्यक्षतामा भएको सभाले गत आर्थिक वर्षमा खर्च नभएको र बाडफाँट हुन बाँकी ७ करोड २७ लाख ३५ हजार रुपैयाँ विभिन्न योजनाहरूलाई विनियोजन गरेको छ । विभिन्न योजनाहरूका लागि विनियोजन भएको ९५ लाख ८५ हजार रुपैयाँ रकमान्तर भएको छ । यसका साथै २१ वटा योजना तथा कार्यत्रम संशोधन गरिएको छ । 

 

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत प्राप्त १ करोड ८८ लाख १ हजार रुपैयाँ बजेट विभिन्न ठाउँमा पदमार्ग निर्माणमा प्राथमिकता दिएर विनियोजन भएको छ । यसका साथै प्राकृतिक स्रोत तथा वातावरण संरक्षण ऐन, संस्था दर्ता, जलस्रोत उपयोग विधेयक र १६ वटा कार्यविधि पारित भएका छन् । 

 

‘घ’ वर्गको निर्माण व्यवसायी इजाजतपत्र वितरणसम्बन्धी कार्यविधि, २०७७, विपद् व्यवस्थापन कोष व्यवस्थापन कार्यविधि, सुरक्षित विपन्न आवास कार्यक्रम संचालन कार्यविधि, सुत्केरी प्रोत्साहन भत्ता वितरण कार्यविधि, गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम संचालन कार्यविधि, स्थानीय तालिम संचालन कार्यविधि पारित भएका छन् । 


यस्तै, योजना तर्जुमा कार्यान्वयन तथा व्यवस्थापन कार्यविधि, खेलकुद संचालनसम्बन्धी कार्यविधि, आकस्मिक कोष संचालन तथा व्यवस्थापन कार्यविधि, समपूरक कोष संचालन तथा व्यवस्थापन कार्यविधि, नक्सा पाससम्बन्धी कार्यविधि, मर्मत सम्भार कोष संचालन निर्देशिका र कन्टेन्जेन्सी रकम व्यवस्थापन कार्यविधि अनुमोदन गरिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले बताए । 


गाउँसभालाई सम्बोधन गर्दै अध्यक्ष रोकाले बजेट विनियोजन भएका योजनाको पारदर्शी, जनसहभागितात्मक र प्रभावकारी कार्यान्वयनमा जुट्न जनप्रतिनिधि र कर्मचारीहरूलाई निर्देशन दिए ।