close

कोरोना अस्पतालमा रेबिजविरुद्धको खोप !

कोरोना अस्पतालमा रेबिजविरुद्धको खोप !

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले अस्थायी कोभिड-१९ अस्पतालबाट रेबिजविरुद्धको खोप सेवा उपलब्ध गराउने भएको छ ।


कुकुर, स्यालजस्ता जनावरले टोकेका बेला रेबिजविरुद्धको खोप लगाउन काठमाडौं, ओखलढुंगा वा जिल्ला अस्पताल दिक्तेल पुग्नुपर्ने बाध्यता अन्त्यका लागि नगरपालिकाले स्वास्थ्य चौकी दुर्छिममा स्थापना गरिएको अस्थायी कोभिड-१९ अस्पतालबाट एन्टी रेबिजविरुद्धको खोप सेवा उपलब्ध गराउने तयारी गरेको हो ।

 

संघीय सरकारले ३ महिनासम्म आर्थिक सहयोग गर्ने गरी स्थापना गरिएको अस्थायी कोभिड-१९ अस्पताललाई नगरपालिकाको स्रोत-साधनबाट स्थायी रूपमा निरन्तरता दिने तयारी गरिएकाले रेबिजविरुद्धको खोप सेवा थप गरिएको हो । 


नगरपालिकाको पहलमा सामान्य अस्पतालसरह निरन्तरता पाउने अस्थायी कोभिड-१९ अस्पतालमा १ जना एमबीबीएस डाक्टर कार्यरत भएकाले रेबिजविरुद्धको खोप सेवा प्रवाह गर्ने तयारी गरिएको नगरप्रमुख इवन राईले बताए । 


केही समयअघि सम्पन्न नगर कार्यपालिका बैठकले नगरपालिकामा स्थापना गरिएको अस्थायी कोभिड-१९ अस्पतालमा एन्टी रेबिज भ्याक्सिनको व्यवस्था गर्ने निर्णय गरेको थियो । 


नगर कार्यपालिकाको सोही निर्णयअनुसार जिल्ला अस्पतालसँगको सहकार्यमा एन्टी रेबिज भ्याक्सिन सेवा उपलब्ध गराउने तयारी पूरा भएको हो ।


नगरपालिकाका स्वास्थ्य शाखा सह-संयोजक प्रकाश घिमिरेले बिहीबार जिल्ला अस्पतालबाट एन्टी रेबिज भ्याक्सिनको ५० डोज बुझिसकेका छन् ।


‘नगरपालिकामा स्थापना गरिएको अस्थायी कोभिड-१९ अस्पतालमा एमबीबीएस डाक्टर कार्यरत रहेकाले एन्टी रेबिज भ्याक्सिन उपलब्ध गराउन महामारी रोग केन्द्र काठमाडौं टेकुमा पत्राचार गरेका थियौँ’, उनले भने ।


आगामी दिनमा प्रदेशबाट जिल्ला अस्पतालमार्फत नगरपालिकालाई ५० डोज एन्टी रेबिज भ्याक्सिन नियमित प्राप्त हुने नगरपालिकाका स्वास्थ्य शाखा सह-संयोजक घिमिरेले बताए । 


‘नगरपालिकामा भुस्याहा कुकुरको समस्या छ । टोकिहाले रेबिजविरुद्धको खोप लगाउन अन्यत्र जानुपर्ने बाध्यता छ,’ नगरप्रमुख राईले भने, ‘कोभिड-१९ अस्पतालमा जनशक्ति भएकाले एन्टी रेबिज भ्याक्सिनको व्यवस्था गर्न सकिन्छ भनेर छलफल गरेका हौँ । जिल्ला अस्पतालसँगको सहकार्यमा केही डोज भ्याक्सिन व्यवस्था गरिसकेका छौँ ।’ 


यसअघि ऐँसेलुखर्क गाउँपालिकाले गत बैशाखदेखि नै प्राथमिक स्वास्थ्य केन्द्रमा रेबिजविरुद्धको खोपको व्यवस्था गरिसकेको छ । स्वास्थ्यकर्मीका अनुसार रेबिजविरुद्धको पहिलो खोप ३ दिन, ७ दिन, १४ दिन र २१ दिनमा लगाउने गरिन्छ ।