close

जुनारबाट मुहार फेर्दै गोलन्जोरका युवा (भिडियाे खबर)

जुनारबाट मुहार फेर्दै गोलन्जोरका युवा (भिडियाे खबर)

ADVERTISEMENT

सिन्धुली- सिन्धुलीवासीको आम्दानीको मुख्य स्रोत भनेकै जुनार हो । महाभारत काखमा परापूर्वकालदेखि सिन्धुलीमा जुनारको खेती हुँदै आएको छ । मीठो फलको रूपमा मानिने जुनार दरबारियाका लागि ‘ज्युनार’ गर्न लगिने फल भएकाले यसको नाम विस्तारै ज्युनारबाट अपभ्रंश भएर जुनार हुन गएको हो । 


जुनारले मानिसको स्वास्थ्यका लागि मात्र होइन, जीवनस्तर माथि उठाउन फाइदा पुर्‍याएको छ । जुनारले बजार पाउन थालेपछि यतिबेला किसान व्यावसायिक जुनार खेतीमा होमिएका छन् । हरेक वर्ष मनग्य आम्दानी गर्दा अन्य बाली हुने खेत तथा बारीमा जुनारको खेती गर्न थालेका छन् ।


तर, सिन्धुलीको मात्र नभई अधिकांश जिल्लाका युवा जनशक्तिलाई विदेशको मोह छ । कृषि कर्मलाई बुझ्न सक्ने हो भने युवाले स्वदेशमा नै विदेशको भन्दा राम्रो कमाइ गर्न सक्छन् भनेर सिन्धुलीको गोलन्जोर गाउँपालिका-४ तीनकन्याका किसान उदाहरण बनिरहेका छन् ।

 

अहिले सिन्धुलीका कृषक जुनारको बोटमुनि रहेको जमिनमा तरकारी लगाएर आम्दानी पनि गरिरहेका छन् भने जुनारले युवालाई रोजगारीका साथसाथै आर्थिक समृद्धिको बाटोतर्फ डोहो¥याएको छ ।


विगतमा डोकोमा बोकेर सिन्धुली बजार लैजानुपर्ने बाध्यता यतिबेला गाउँमा नै सडक पुगेपछि किसानलाई जुनार बिक्री गर्न सहज भएको छ भने आम्दानी पनि हुँदा किसान दंग छन् ।


कृषकले जुनार खेतीसँगै आलु, कोदो, खुर्सानीलगायतका तरकारी तथा नगदे बाली पनि लगाउने गरेका छन् । गोलन्जोर गाउँपालिका- ४ का स्थानीय यतिबेला जुनारमा निर्भर भइरहेका छन् । जुनार खेतीबाटै वार्षिक ३ लाखदेखि ९ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् ।

 

उत्पादन दिन प्रतिदिन बढ्दै गएको छ । जुनारलाई १२ महिना उपभोक्ताले बजारमा पाउने गरी गाउँपालिकाले योजना बनाएको छ ।


अहिले जुनारमा ब्याक्टोसेरा मिन्याक्स नामको किराले औँसा पारेर अघिल्ला वर्षमा नोक्सानी बेहोर्दै आएका किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जुनार सुपरजोर स्थापना भएपछि राहत मिलेको छ ।

 

रोग र कीरासंँग लड्दै आएका किसानलाई अर्कोतर्फ प्राकृतिक प्रकोपसँग पनि लड्नुपर्ने बाध्यता छ । 


महाभारत काखमा २०३७ सालदेखि सुरु भएको व्यावसायिक जुनार खेती यतिबेला १ हजार ३६७ हेक्टर क्षेत्रफलमा विस्तार भएको छ । ७०० हेक्टर क्षेत्रफलमा वार्षिक ९ हजार ५०० मेट्रिक टन जुनार उत्पादन हुँदै आएको छ ।