close

अस्पतालका बिरामीलाई १० रुपैयाँमा खाना तर दिदै दिदैनन्

अस्पतालका बिरामीलाई १० रुपैयाँमा खाना तर दिदै दिदैनन्

Trulli
ADVERTISEMENT

कालीकोट– कालीकोटको नरहरिनाथ गाउँपालिका वडा नम्बर ७ मालकोटकी २७ वर्षीया सुनिता शाही अस्पतालमा भर्ना भएको ४ दिन भयो ।

 

१५ महिने छोरा बिरामी परेपछि चेकजाँच गराउन गाउँबाट जिल्ला अस्पतालमा आएकी छन् । छोराको चेकजाँच गराउँदा कुपोषण भएको फेला परेपछि अस्पतालमा भर्ना गरियो ।

 

गाउँबाट बच्चाको उपचार गर्न जिल्ला अस्पतालमा आएकी शाहीको आर्थिक अवस्था कमजोर छ । एकै दिन बच्चाको उपचार गरेर घर फर्किने सोचमा सदरमुकाम मान्म आएकी शाहीलाई बच्चामा कुपोषण देखिएपछि अस्पतालले भर्ना गरिदियो ।

 

अस्पतालको बेडमा रहेकी उनले भनिन्, ‘मसँग भएको पैसा औषधी किन्नमै सकियो । खाना खाने पैसा छैन । अस्पतालमा भर्ना गरेका बिरामीलाई सरकारले निःशुल्क खाना दिन्छ भन्ने सुनेकी थिएँ । तर, होटलमा उधारो खाइरहेकी छु ।’

 

पोषिलो खानेकुरा खान नपाएर बच्चालाई कुपोषण भएको डाक्टरले भने पनि पोषिलो खानेकुराको कुरै छाडौँ, सामान्य खानासमेत खुवाउन नपाएको शाही गुनासो गर्छिन् ।

 

भर्ना भएका जोसुकै बिरामीलाई अस्पतालले निःशुल्क खाना खुवाउने व्यवस्था छ तर स्वास्थ्य सेवा कार्यालय कालीकोटमा भने भर्ना भएका बिरामीले अस्पतालबाहिरका होटलबाट आफ्नै पैसा तिरेर खाना खाने गरेका छन् ।

 

सुनिता मात्र होइनन्, ४ दिनदेखि अस्पतालमा भर्ना भएका पलाँता गाउँपालिका वडा नम्बर ३ धौलागोहका लवराज हमालले पनि उस्तै गुनासो गरे । ‘अस्पतालमा भर्ना भएको ४ दिन भयो । १ दिन निःशुल्क खाना आएको थियो । त्यसपछि फेरि निःशुल्क खाना आएन । अस्पताल बाहिरका होटलबाटै पैसा तिरेर खाइरहेका छौँ ।’ अस्पतालमा निःशुल्क खाना खुवाउने भनिए पनि नियमति नभएको उनले बताए ।


स्वास्थ्य सेवा कार्यालयले भने खाना खुवाउने ठेक्का रद्ध गरेर अर्को होटलसँग सम्झौता गरेरै भए पनि बिरामीलाई खाना खुवाइने जनाएको छ । निमित्त कार्यालय प्रमुख डा. भीष्म पोखरेलका अनुसार अस्पतालले ठेक्का आह्वान गर्दा १० रुपैयाँमा खाना खुवाउने ठेक्का परेपछि होटलले खाना खुवाइरहेको थियो । बीचमा कहिले खाना खुवाउने, कहिले नखुवाउने गरेको बिरामीबाट गुनासो आएपछि यो विषयमा अस्पताल प्रशासनको ध्यानाकर्षण भएको उनले जानकारी दिए ।

 

डा. पोखरेलले भने, ‘अस्पतालमा भर्ना भएका बिरामीका लागि राज्यले निःशुल्क खानाको व्यवस्था गरेको छ । हामीले ठेक्का आह्वान गर्दा एक छाकको १० रुपैयाँमा खाना खुवाउने फर्मलाई ठेक्का पर्‍यो । १ पुसबाट खाना खुवाइरहेको थियो । उसले छाड्यो । अब अर्को ठेक्का आह्वान गरेरै भए पनि बिरामीलाई खाना उपलब्ध गराउँछौँ ।


यस विषयमा अस्पताल व्यवस्थापन समिति भने बेखबर छ । अस्पताल व्यवस्थापन समितिले कर्मचारी नियुक्ति र सामग्री खरिदमा चासो देखाए पनि आफूहरूको पीडामा ध्यान नदिएको स्थानीयको गुनासो छ । बिरामीलाई निःशुल्क खाना खुवाउने होटल सञ्चालकले आफूलाई १० रुपैयाँमा खाना खुवाउनुपर्दा घाटा भएको बताएर नखुवाउने बताए ।