close

जाडोमा दाउरा बोकेर गाउँगाउँमै पुगे वडाअध्यक्ष (भिडियो खबर)

जाडोमा दाउरा बोकेर गाउँगाउँमै पुगे वडाअध्यक्ष (भिडियो खबर)

ADVERTISEMENT

धनुषा- तराईमा पुस, माघको समय प्रत्येक वर्ष जाडो र हुस्सुले डेरा जमाउने गर्छ । स्थानीय सरकार गठन भएसँगै जाडोका बेला तराई मधेसमा बसोबास गर्नेले राहत पाउने आश नागरिकले गरिरहेका छन् । 

 

तर, धनुषाका १८ पालिकाले आफ्नो मातहतका विपद् व्यवस्थापन समितिलाई समयमा सक्रिय बनाउन सकेका छैनन् । समितिको बैठक बसे पनि कोठे बैठकमा भएको कागजी निर्णय व्यवहारमा लागू नहुँदा नागरिकलाई चिसोले सताइरहेको छ । 

 

जनकपुरधाम उपमहानगरले ४ माघमा विपद् व्यवस्थापन समितिको बैठकमा थुप्रै निर्णय ग¥यो । तर, त्यो निर्णयले अझै मूर्त रूप लिन सकेको छैन ।

 

जाडोमा चिसो हटाउने निर्णय गरेको कोठे बैठकले वडाध्यक्ष र अन्य पालिकाको बोर्ड सदस्यलाई समेत छुन सकेन । यसले गर्दा जनकपुरका २५ वडाका वडाध्यक्ष र बासिन्दाले पालिकाले के गरिरहेको छ भनेर प्रश्न गरिरहेका छन् । 

 

चिसोमा दाउरा, कम्बल वितरणलगायत राहतको विषयमा आफूहरूलाई जानकारी नभएको वडाध्यक्षहरूको आक्रोश छ । 

 

प्रमुखभन्दा वडाध्यक्ष अगाडि

 

चिसोमा जनकपुरधाम उपमहानगर प्रमुखभन्दा एक कदम अगाडि जनकपुरका वडाध्यक्षहरू देखिएका छन् । पालिका प्रमुखले ढिला गरेर कागजमा निर्णय गरे तर जनकपुरका एक वडाअध्यक्षले जाडो छल्न व्यवहारमै काम गरेर देखाएका छन् ।

 

जनकपुरधाम उपमहानगरका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले आफ्ना वडाबासीको भावनाको कदर गर्दै मंगलबार वडाका दर्जनौँ स्थानमा दाउरा बाँडे । आफैंले ट्रयाक्टर चलाएर दाउरा बाँडेको हेर्न भीडै लागेको थियो । 

 

वडाध्यक्ष साहले आफ्नो वडाको जीरोमाइल, दुर्गाचोक, भ्रमरपुराचोक, पेठिया बजार, नमस्कारचोक, तपसीचोक, मुसहर बस्तीका २ स्थानलगायत वडाको भीडभाड हुने स्थानमा दाउरा वितरण गरे । 

 

‘कसले के गर्छ, मलाई थाहा छैन’, वडाध्यक्ष साहले भने, ‘मैले आफ्नो दायित्व पूरा गरेको छु ।’

 

वडा नम्बर ७ मा पहिलो चरणमा मंगलबार ३० क्विन्टलभन्दा बढी दाउरा बाँडेको साहले बताए । अन्यत्र पनि थप दाउरा बाँड्ने उनले जानकारी दिए ।