close

जेलमा रहेका वडाध्यक्ष पदमुक्त

जेलमा रहेका वडाध्यक्ष पदमुक्त

Trulli
ADVERTISEMENT

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिका–४ का वडा अध्यक्ष पदमुक्त भएका छन्  । राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडा अध्यक्ष तिलक पुनलाई निर्वाचन आयोगले सार्वजनिक सूचनामार्फत पदमुक्त गरेको हो । उनीसँगै सोही वडाका सदस्य तिलबहादुर फगामीलाई पनि पदमुक्त गरिएको छ ।


निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनमोर्चाको तर्फबाट निर्वाचित वडाध्यक्ष पुन र वडा सदस्य फगामीलाई पदमुक्त गरेको सार्वजनिक सुचना प्रकाशन गरेको छ । राष्ट्रिय जनमोर्चाको सिफारिसमा वडाध्यक्ष र सदस्यलाई आयोगले पदमुक्त गरेको हो ।


पार्टीको आन्तरिक विवादको कारण जनमोर्चाले आफ्नै जनप्रतिनिधि निर्वाचित व्यक्तिलाई पदमुक्त गर्न आयोगलाई पत्र लेखेको थियो । जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै जनमोर्चा परित्याग गरेका पुन र फगामीलाई आयोगले पदमुक्त गरेको जानकारी गराएका छन् ।


 जनमोर्चा केन्द्रीय कमिटीले वडाध्यक्ष र सदस्य दुवैले दल त्याग गरेको सिफारिस निर्वाचन आयोगलाई लिखित रुपमा पेश गरेपछि राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३१ र ३२ तथा राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम अध्यक्ष र सदस्य पद स्वतः रिक्त भएको जानकारी दिएको छ ।

 

गत १२ कात्तिकमा जनमोर्चाका कार्यकर्ताे झडपमा परी पुन र फगामी घाइते भएका थिए । झडपमा वडाध्यक्ष पुनसहित अन्य कार्यकर्ता गम्भीर घाईते हुनेगरी कुटपिट भएको भएपनि वडाध्यक्ष पुनसहित उनी पक्षीय कार्यकर्तामाथि ज्यान मार्ने उद्योग गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । अध्यक्ष पुनलाई प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा पक्राउ गरी हिरासतमा राखेको छ ।


त्यो घटनामा ७ जनाविरुद्ध मुद्दा दायर भएको र उनीहरुको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ । वडाध्यक्ष पदमुक्त भएपनि खुंगावासीलाई सिफारिसलगायतका काममा समस्या भएको छ । नगरपालिकाले बैठक राखेर मौजुदा वडा सदस्यमध्ये कसैलाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिने तयारी गरेको ढोरपाटन नगरपालिकका प्रमुख देवकुमार नेपालीले जानकारी दिए ।