close

बेनी बजारमा बाढी व्यवस्थापन गर्न घरजग्गा अधिग्रहण गरिँदै 

बेनी बजारमा बाढी व्यवस्थापन गर्न घरजग्गा अधिग्रहण गरिँदै 

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दी सदरमुकाम बेनी बजारको क्याम्पसचोकमा डेढ दशकदेखिको बाढीको समस्या समाधान र वडा कार्यालय स्थापनाका लागि जग्गा अधिग्रहण प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

 

नगरपालिकाले वडा नम्बर ८ स्थित क्याम्पसचोकमा पाखोबाट आउने भलबाढीको निकासलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालयमार्फत एउटा घरसहित ४ आना १ पैसा निजी जग्गा अधिग्रहण गर्न लागेको हो ।

 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले अधिग्रहण गरिने घर जग्गाको मुआब्जा भुक्तानीका लागि प्रशासनलाई ७९ लाख रुपैयाँ उपलब्ध गराइसकेको जानकारी दिए ।


 
‘बाढीलाई निकास दिन खरिद गरिने दुई तले घरको भुइँ तला खाली गरेर नाली बनाउने र माथिल्लो तलामा वडा कार्यालय स्थापना गर्ने प्रयोजनका लागि जग्गा अधिग्रहण गर्न लागेको हो’, उनले भने, ‘मुआब्जा वितरण गरेर बचेको बजेट भलबाढी व्यवस्थापन गर्न नाली निर्माण तथा वडा कार्यालयको संरचना निर्माणमा परिचालन हुन्छ ।’ 


विष्णु शर्माको नाममा रहेको ३ आना जग्गामा बनेको २ तले घर र मीन सापकोटाको १ आना १ पैसा जग्गा अधिग्रहण हुन लागेको हो । गत नगरसभाबाट ७५ लाख रुपैयाँ विनियोजन भएको क्याम्पसचोक ढल निकास तथा वडा कार्यालय स्थापना गर्ने योजनाका लागि नगरपालिकाले कार्यपालिका बैठकबाट थप ३० लाख रुपैयाँ विनियोजन भएको छ ।

 

जग्गा अधिग्रहण, वडा कार्यालय स्थापना र नाली निर्माण गर्न क्याम्पसचोकका बासिन्दाले नगरपालिकालाई २२ लाख रुपैयाँ उपलब्ध गराएका छन् । क्याम्पसचोक ढल निर्माण उपभोक्ता समिति अध्यक्ष गोविन्द बानियाको नेतृत्वमा बाढी प्रभावित करिब ७० घरधुरीबाट स्वेच्छिक रूपमा नगद संकलन गरेर नगरपालिकाको विविध खर्च शीर्षकको खातामा जम्मा गरिएको समितिका सदस्य ठाकुरप्रसाद शर्माले बताए । 

 

भलबाढीको दिगो व्यवस्थापन र वडा कार्यालय स्थापना गर्ने नगरपालिकाको योजनामा क्याम्पसचोक, पीपलचोक, शिक्षामार्गका बासिन्दाले सहभागिता जनाएका हुन् । ‘क्याम्पसचोकको बाढीको समस्या सधैँभरिका लागि समाधान गर्न नगरपालिकालाई साथ दिन हामीले पनि सहभागिता जनाएका हौँ’, शर्माले भने । 

 

उपभोक्ता समितिको टोलीले संकलित रकम खातामा जम्मा गरेको भौचर नगरप्रमुख हरिकुमार श्रेष्ठलाई उपलब्ध गराएका थिए । पाखोबाट आउने भलको सहज निकास नहुँदा क्याम्पसचोक क्षेत्रमा ढलका लागि बनाइएको नाला फुटेर सडक हिलाम्मे हुने, घर, पसलभित्र बाढी पस्ने गरेको छ ।


२०६३ देखि क्याम्पसचोकबासीलाई हरेक बर्खामा बाढीले सताउने गरेको छ । अधिग्रहण गर्न लागिएको घरको भुइँ तलाको पर्खाल भत्काएर नाली निर्माण गरेपछि भलबाढीलाई सहज निकास दिन सकिने वडाध्यक्ष रामकृष्ण बराइलीले बताए । घरको माथिल्लो तलालाई व्यवस्थित गरेर वडा कार्यालय स्थापना गर्ने तयारी छ । 


हाल म्याग्दी उद्योग वाणिज्य संघको भवनमा कोठा भाडा लिएर वडा कार्यालय सञ्चालन गरिएको छ । ‘क्याम्पसचोकको बाढीलाई निकास दिने र वडा कार्यालय स्थापना गर्ने चुनावी प्रतिबद्धता पूरा गरेका छौँ’, वडाध्यक्ष बराइलीले भने, ‘यो हाम्रो कार्यकालको महत्त्वपूर्ण उपलब्धि हो ।’