close

गाउँपालिका योजना कार्यान्वयन गर्दै रघुगंगा

गाउँपालिका योजना कार्यान्वयन गर्दै रघुगंगा

Trulli
ADVERTISEMENT

म्याग्दी - म्याग्दीको रघुगंगा गाउँपालिकाले आर्थिक वर्ष ०७७/७८ का लागि बजेटमा समेटिएका योजना तथा कार्यक्रम कार्यान्वयनको तयारी थालेको छ । आर्थिक वर्षको अन्तमा गरिने ‘असारे विकास’ को विकृति न्यूनीकरणका कार्यतालिका बनाएर योजना कार्यान्वयनमा जुटेको गाउँपालिकाले जानकारी दिएको हो ।


असोज १५ सम्म उपभोक्ता समिति गठन र चैत महिनाभित्र पूर्वाधार योजना कार्यान्वयन गरिसक्ने कार्यतालिका बनाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।  ‘वडामा उपभोक्ता समिति गठन भइरहेका छन । सडक, पदमार्ग मर्मतसम्बन्धी केही योजना सम्झौता भएर पनि कार्यान्वयनमा गएका छन्’, उनले भने, ‘सबै उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्षलाई आयोजना कार्यान्वयनको नीतिगत तथा प्राविधिक विषयमा प्रशिक्षण दिँदै छौं ।’


गाउँपालिकाले पाखापानी र मौवाफाँट दुई ठाउँमा प्रशिक्षण सञ्चालन गर्ने योजना बनाएको छ । एकै व्यक्ति एकै वर्षका धेरै योजनामा बसेको पाइएपछि त्यसलाई हटाउन सबै योजनाको एकै पटक समिति गठन र वडामै पुगेर सम्झौता गर्ने तयारी भएको हो । प्राविधिक, नीतिगत र प्रक्रियागत ज्ञानको अभावमा लागत अनुमान तथा डिजाइनअनुसारको काम नहुने समस्या न्यूनीकरणका लागि प्रशिक्षण दिन लागिएको अधिकृत सुवेदीले बताए । 


गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले आर्थिक वर्ष अन्तमा गरिने पूर्वाधार, तालिम, गोष्ठी प्रभावकारी र उपलब्धिमूलक नदेखिएपछि सुधारको पहल गरिएको बताउँछन् । ‘समयमै, गुणस्तरीय काम गराउने र बजेट दुरुपयोग रोक्नका लागि असारे विकासको प्रवृत्ति निरुत्साहित गरिएको छ’, उनले भने, ‘योजनाको नक्सा, लगत, उपभोक्ता समिति गठन, तालिम र बोलपत्र आह्वान गर्ने कार्ययोजना कार्यान्वयनमा लगिएको छ ।


पुँजीगततर्फ कुल ९ करोड ९३ लाख १० हजार रुपैयाँ बजेट विनियोजन गरेको रघुगंगाले वडागत ८२ र पालिका स्तरका २२ गरी कुल १ सय ४ वटा पूर्वाधार योजना बनाएको छ । गाउँपालिकाले कृषिमा १ करोड २६ लाख ५० हजार, पशु सेवामा ५८ लाख ५० हजार र सहकारीतर्फ ८ लाख रुपैयाँ विनियोजन गरेको छ । 


मौवाफाँटदेखि दग्नाम–दर्मिजा हुँदै चिमखोला जोड्ने सडक निर्माणका लागि दग्नाम, चिमखोला र कुइनेमंगलेको आयोजना बनाएर १ करोड ५० लाख बजेट विनियोजन गरेको छ । ‘अजिंगर भीरमा अहिले तुदी हाइड्राको सहयोगमा सडक खन्ने काम भइरहेको छ,’ अध्यक्ष भण्डारीले भने, ‘चिमखोला तर्फबाट दर्मिजासम्म आइपुगेको बाटोलाई यो वर्ष अजिंगर भीर छिचोलेर दग्नामबाट पनि जोड्ने तयारीमा छौं ।’


पाखापानीको कोटगाउँदेखि रायखोर जोड्ने सडक निर्माणमा ४० लाख, बेगको लामो पुलदेखि भूमेथान जोड्ने पदमार्ग र मोटरबाटोलाई २५ लाख, पिप्लेको तालिम केन्द्रलाई १५ लाख, झिँको सामुदायिक भवनलाई २५ लाख बजेट विनियोजन गरिएको उनले जानकारी दिए । झिँमा खेलमैदान बनाउन १ करोड विशेष अनुदान आएको भण्डारीले बताए । 


कात्तिक मसान्तभित्र व्यवसाय दर्ता र नवीकरण गर्ने अभियान सुरु गरिएको गाउँपालिका उपाध्यक्ष कमला तिलिजाले बताइन् । कोरोना रोकथामसँगै विकास आयोजनालाई समयमै कार्यान्वयन गर्ने नीति लिएको गाउँपालिकाले लिएको उपाध्यक्ष तिलिजाको भनाइ छ ।  उपाध्यक्ष तिलिजाका अनुसार कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार रघुगंगाको तीन ठाउँमा ५० बेडको क्वारेन्टाइन र १५ बेडको प्रिआइसोलेसन बनाउन लागिएको छ । 


गाउँपालिका वडाहरूमा लाभग्राहीको खाता खोल्न प्रभु बैंकसँग सम्झौता गरिएको उनले जानकारी दिइन् ।