close

आश जगाउँदै चिलाउनेघारीका कागती (भिडियो खबर) 

आश जगाउँदै चिलाउनेघारीका कागती (भिडियो खबर) 

ADVERTISEMENT

बाग्लुङ- कान्लामा रहेको चिलौनेका रूखको फेदको ठुटो कुहिन थालेको छ । खेती मासेको भनेर ढले रूखको ठुटो कुँहिदै गर्दा खेतका गह्रा भने हराभरा हुँदै छन् ।

 

गत असारमा लगाइएका कागतीका बिरुवामा पलाएको मुनाले बोटको रूप धारण गर्दै छ । बिरुवामा मुना मात्रै पलाएका छैनन्, तिनै मुना हेरेर दंग पर्ने किसानका मनमा आशा पनि पलाएको छ ।

 

बाग्लुङका किसानले आफ्नै लगानीमा कागती खेती थालेपछि अहिले सरकारका आँखा किसानको बारीमा पनि पुगेका छन् । 

 

बागलुङ नगरपालिका वडा नम्बर १२ को सहलामा रहेको ठूलो फाँट यतिबेला कागतीका बिरुवामा पलाएको मुनाले सिंगारिएको छ । रूख र झारपात फाँडेर उजाड देखिने खेत अहिले प्रकृतिसँगै उठ्दै छन् ।

 

बर्खे खेती लगाउने समय खाडल खनेर कागतीको बिरुवा लगाउँदा कतिले खेती बाँझो राखेको भनेर किसानलाई प्रश्न गरे ।


अहिले हुर्र्किंदै गरेका कागतीका बिरुवाले प्रश्नको जवाफ दिइरहेका छन् । बाग्लुङको अर्माह गाउँमा बस्ने ४० जना किसानको एउटा समूह छ । उनीहरूले जमिन एकीकृत गरेर कागती लगाइरहेको चासो कृषक समूहका अध्यक्ष केशव सुवेदी बताउँछन् ।


परम्परागत खेती प्रणालीले खर्च समेत नउठेपछि बाली परिवर्तनमा लागेका छन्, उनीहरू । ३ सय रोपनी जमिनलाई एकीकृत गरेर कागती खेती थालिएको छ । यो वर्ष २ हजार १ सय बिरुवा रोपिएको र बाँकी जमिनमा अर्को वर्ष बिरुवा लगाउने योजना रहेको समूहका अध्यक्ष सुवेदीले बताए ।

 
उनीहरूले छिटो उत्पादन लिन हागा नर्सरी गरिएका बिरुवा र बिउँबाट निकालिएका बिरुवा दुवै लगाएका छन् ।  किसानले कागती खेती आफ्नै बलबुताले सुरु गरेका हुन् ।

 

अहिले भने सरोकारवाला निकायको ध्यान तानिएको छ । अधिकांश किसान समूहमा आबद्ध रहेकाले उनीहरूको योजना अहिले सेयर वृद्धि रहेको नगरपालिकाको वडा नम्बर १४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले जानकारी दिए ।


नगरपालिका वडा कार्यालयका अलावा कृषिसँग सम्बन्धित सरकारी कार्यालयसमेत उनीहरूको खेती हेर्न पुग्न थालेका छन् । बिरुवा, सिँचाइ र व्यवस्थापनको लागि सहयोग जुट्न थालेको छ ।  

 

२ जना किसानलाई कर्मचारीको रूपमा परिचलन गरेर खेतीको रेखदेख, मल र सिँचाइ हुन्छ । अहिले मुना पलाएको कागतीले ४ वर्षमा फसल दिने वडा नम्बर १४ का किसान कृष्ण सुवेदीको भनाइ छ ।

 

समूहले २ हजार १ सय बिरुवाका लागि मात्रै ४० लाख रुपैयाँ खर्च भएको जनाएको छ । अझै बाँकी जमिनमा बिरुवा लगाउँदा खर्च बढ्छ । चार वर्षपछि एउटै बिरुवाले एक बर्षमा फसल दिँदा दश बिरुवा बराबरको खर्च उठाउनेमा किसान विश्वस्त छन् ।