close

म्याग्दीका पहिरोपीडितको घर पुनर्निर्माण सुरु

म्याग्दीका पहिरोपीडितको घर पुनर्निर्माण सुरु

Trulli
ADVERTISEMENT

म्याग्दी- गत बर्खाको पहिरोले घरबास गुमाएका म्याग्दीका पहिरोपीडितको आवास पुनर्निर्माण सुरु भएको छ । रोजगारी, अध्ययन, व्यापार, व्यवसायलगायत विभिन्न कामको सिलसिलामा विदेशिएका म्याग्देलीहरू आबद्ध म्याग्दी प्रवासी नेपाली संघ (मोना) ले जिल्लाभर ४० वटा घर बनाउन लागेको हो । 


मोनाको पुनर्बास कार्यदलका सदस्य दल शेरबुजाले रघुगंगा गाउँपालिकाको झिँबाट पुनर्निर्माणको काम सुरु भएको जानकारी दिए । ‘मोनामार्फत म्याग्दीमा ४० वटा घर पुनर्निर्माण हुँदै छ,’ उनले भने, ‘झिँका भीमबहादुर गर्बुजाको घर निर्माण सुरु गरेर अभियान थालेका छौँ ।’ 


विश्वका विभिन्न देशमा रहेका म्याग्देलीले आर्थिक संकलन गरेर पहिरोपीडितको घर बनाइदिन लागेका हुन् । सम्बन्धित पालिका र जिल्ला प्रशासन कार्यालयले सिफारिस गरेका पीडितको घर पुनर्निर्माणका लागि छनोट गरिएको छ । 


मोनाले बनाउने एउटा घरको लागत ५ लाख रुपैयाँ अनुमान गरिएको छ । मोनाका अध्यक्ष ओमनारायण जुग्जालीले बर्खाअघि नै जिम्मा लिएका घर निर्माण सकेर पालिकामार्फत पीडितलाई हस्तान्तरण गरिने बताए । 


उनका अनुसार धवलागिरि गाउँपालिकामा १४, मालिकामा १०, मंगला, रघुगंगा, अन्नपूर्ण गाउँपालिका र बेनी नगरपालिकामा ४/४ वटा घर निर्माण गरिनेछ । एउटा भान्छाकोठासहित ३ कोठे घर भूकम्प प्रतिरोधी क्षमताको हुनेछ । प्रवासी, स्थानीय प्रशासन र पालिकाहरूसँग घर पुनर्निर्माणका लागि म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले संयोजन गरेको छ । 


आवास पुनर्निर्माणका लागि पहिरोबाट अति प्रभावित धवलागिरिको मराङ र मालिका गाउँपालिकाको बिममा जग्गा व्यवस्थापन भइसकेको छ । बिम–मालिका संघले २० लाख रुपैयाँमा खरिद गरेको जग्गामा घर निर्माण गर्न सम्याउने काम सकिएको बिमका वडाध्यक्ष रेशम जुग्जालीले बताए ।


समुदाय स्तरबाट आर्थिक स्रोत जुटाएर ३८ लाख ५० हजार रुपैयाँमा मराङको राम्चेमा ११ र अस्कारेमा १२ रोपनी जग्गा खरिद भइसकेको छ । 


वडाध्यक्ष राजाराम सुवेदीले राम्चेमा थप ६ रोपनी जग्गा प्राप्तिको प्रक्रियामा रहेको जानकारी दिए । वडास्तरीय विपद् ब्यवस्थापन कोषमा करिब ६० लाख रुपैयाँ संकलन भएको छ । 


गत बर्खामा म्याग्दीमा पहिरोका कारण ३१ जनाको मृत्यु र ६ जना बेपत्ता भएका थिए । ८१ वटा बस्तीमा पहिरोका कारण क्षति भएका २ सय ४७ र जोखिममा परेका ८ सय २१ घर स्थानान्तरणका लागि सिफारिस गरिएको थियो ।


प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले टहरा र त्रिपालमुनि रहेका पहिरोपीडितलाई बर्खाअघि नै सुरक्षित घर उपलब्ध गराउने तयारी भएको बताए । 

 

‘संघीय सरकारले पनि पहिरोपीडितको आवास पुनर्निर्माणका लागि बजेट पठाउँदै छ,’ उनले भने, ‘समुदाय स्तरबाट स्रोत जुटाएर जग्गा व्यवस्थापन भएका ठाउँमा पहिरोपीडितको घर पुनर्निर्माण सुरु गरिएको हो । बाँकीको पनि छिट्टै सुरु हुन्छ ।’


विघटित प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले पहिरोबाट भत्किएका, बगेका र पुरिएका घर पुनर्निर्माण गर्न ५ लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउन कार्यविधि स्वीकृत भइसकेको बताए । पहिरोमा घरबास गुमाएकाहरू टहरा, त्रिपाल, सामुदायिक भवन, आफन्त र गाउँका खाली घरमा बसेका छन् ।