close

हिउँदे फलफूल खेती गर्न किसानलाई सिदिङ्वाको अनुदान 

हिउँदे फलफूल खेती गर्न किसानलाई सिदिङ्वाको अनुदान 

Trulli
ADVERTISEMENT

ताप्लेजुङ- ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले फलफूल दशकअन्तर्गत स्थानीय तहमा हिउँदे फलफूल बिरुवा रोपण कार्यक्रमका लागि किसानलाई ५० प्रतिशत अनुदान दिने भएको छ ।


सबैभन्दा बढी प्राथमिकता भूमिहीन किसानलाई दिइने भएको छ । भूमिहीन किसानमार्फत करार खेती गर्नेले यस्तो सुविधामा सबैभन्दा लाभ लिन सक्ने कार्यविधि रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देन लिम्बूले जानकारी दिए ।


उनका अनुसार जग्गाको सरसफाइ, बगैँचा, रेखांकन गर्ने, बिरुवा रोप्ने, खाडल खन्ने, मल मिसाउने तथा पुर्ने, बिरुवा रोप्ने र टेका तथा छापो राख्ने ज्यामी शुल्कमा गाउँपालिकाको निर्णयअनुसार लागत स्टिमेटको निश्चित रकम अनुदान निर्धारण हुनेछ । 


गाउँपालिकाका कृषि शाखा प्रमुख विकास थेबेका अनुसार यस्तो अनुदान सार्वजनिक तथा निजी जग्गामा फलफूल बिरुवा रोपण कार्यक्रमका लागि प्रदान गरिनेछ । 


फलफूल बिरुवा खरिद तथा वितरण कार्यका लागि सरकारी दररेट, प्रचलित बजार मूल्य तथा स्थानीय दररेटको आधारमा तय गरिएको लागत अनुमानका आधारमा अनुदान प्रतिशत निर्धारण गरिनेछ ।


यस्तै, स्थानीय सामग्री तथा कम लागत प्रविधिमा आधारित बिरुवा संरक्षण तथा हेरचार कार्यका लागि गाउँपालिकाले लागत स्टिमेटको रकममा पालिकाले निर्धारण गरेअनुसार अनुदान उपलब्ध गराउनेछ । यस्तो अनुदान भने सार्वजनिक जग्गामा मात्रै फलफूल तथा बिरुवा रोपणका लागि प्रदान गरिनेछ ।


कृषि औजार उपकरण खरिदमा लागत स्टिमेटको रकममा स्थानीय तहको निर्णयअनुसार आवश्यक यन्त्र उपकरणको प्रचलित बजार मूल्यमा ५० प्रतिशत अनुदान दिइनेछ । यो अनुदान पनि सार्वजनिक जग्गा उपयोग गरिरहेका किसानले मात्रै पाउनेछन् ।


सिँचाइ पूर्वाधार कार्यका लागि सम्भाव्य सिँचाइ सुविधाको लागत अनुमानमा स्थानीय तहको निर्णयअनुसार अनुदान रकम उपलब्ध हुनेछ । यस्तो अनुदान भने सार्वजनिक तथा निजी जग्गा दुवैमा फलफूल तथा बिरुवा रोपण गरिरहेका किसानले पाउनेछन् ।


अनुदान पाउन २४ माघभित्र गाउँपालिकामा आवेदन दिइसक्नुपर्नेछ । इच्छुक भूमिहीन किसानले करार खेती गर्न, व्यावसायिक कृषक, विदेशबाट फर्किएका युवा र प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा सूचीकृत भएकाहरूले आवेदन दिन पाउनेछन् ।