close

कोरोनाले रोजगारी गुमाएकालाई ६० किसिमका तालिम ! 

कोरोनाले रोजगारी गुमाएकालाई ६० किसिमका तालिम ! 

Trulli
ADVERTISEMENT

खोटाङ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले कोरोना महामारीका कारण वैदेशिक रोजगारी गुमाएर नेपाल फर्केका वा मुलुकमै बेरोजगार भएका नागरिकलाई ६० किसिमका सीपमूलक तालिम दिने तयारी गरेको छ ।


लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले कोभिड-१९ को असरका कारण रोजगार गुमाएका नागरिकलाई सीपमूलक तालिम दिएर उद्यम सञ्चालन गर्दै स्वरोजगार बनाउने लक्ष्यसहित ६० किसिमका सीपमूलक तालिम दिने तयारी गरेको हो । 

 

सूचना सम्प्रेषणका लागि लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले पठाएको पत्रको आधारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (प्रधानमन्त्री रोजगार कार्यक्रम)ले उद्यम तथा व्यवसाय सञ्चालन गर्न इच्छुक व्यक्तिलाई आवेदन दिने व्यवस्थाका लागि ८ माघमा सबै स्थानीय तहलाई पत्राचार गरेको छ । 

 

लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले रोजगार सेवा केन्द्रमार्फत सूचना सम्प्रेषणमा सहजीकरणका लागि ५ माघमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्र पठाएको हो ।

 

कोभिड-१९ का कारण रोजगार गुमाएका नागरिकलाई फरक-फरक अवधिको हाउस वायरिङ, उद्यमशीलता विकास, खाद्य प्रशोधन, बेसिक प्याट्रन सिलाइ, फेसन डिजाइन, क्रिस्टल सामग्री उत्पादन, मखमल, ढाका, जुत्ता, चप्पल उत्पादनको तालिम दिने तयारी भएको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले बताएको छ ।

 

यस्तै, हाते कागज र फेल्ट उत्पादन, बेकरी एडभान्स, ब्युटिसियन, डल बनाउने, प्लम्बिङ, मोबाइल मर्मत, मोटरसाईकल मर्मत, अटो मेकानिक, कम्प्युटर मर्मत, आलु र केरा चिप्स, बेत बाँसका सामग्री, डल्लो साबुन, स्यानिटरी प्याड, दालमोठ, टिभी मर्मत, अटोमोबाइल वायरिङलगायतका तालिम दिने तयारी सुरु भएको केन्द्रले जनाएको छ ।

 
वार्षिक कार्यक्रमअनुसार सञ्चालन हुने ६० वटा सीपमूलक, सीप अभिवृद्धि एवं उद्यमशीलता विकास तालिम लिएर उद्यम व्यवसाय गर्न इच्छुकलाई २१ दिनभित्र आवेदन दिन केन्द्रले १९ मा सूचना जारी गरेको थियो ।

 

केन्द्रको सीपमुलक तालिममा सहभागिताका लागि १३ माघसम्म आवेदन दिन सकिनेछ । सीपमूलक तालिम लिन इच्छुक नागरिकलाई लक्षित गर्दै खोटाङका स्थानीय तहले पनि सूचनापाटी वा वेबसाइटमार्फत सूचना प्रकाशित गरेका छन् । 

 

सीप अभिवृद्धि तालिममा सहभागी हुन चाहने प्रशिक्षार्थीले तालिम लिएको कागजात वा कुनै पेसा, व्यवसाय, रोजगार वा स्वरोजगारमा आबद्ध भए त्यस्तो पेसा वा व्यवसाय स्तरोन्नति गर्ने योजना पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।

 

गरिब, विपन्न, दलित, जनजाति, आदिवासी, महिला, सीमान्तकृत पिछडिएका अल्पसंख्यक व्यक्ति, अपांग, सहिद परिवार, द्वन्द्वपीडितलगायतलाई सीपमूलक तालिममा प्राथमिकता दिइने केन्द्रले जनाएको छ ।