close

शालिकग्राम करिडोरमा दुई पुक्की पुल

शालिकग्राम करिडोरमा दुई पुक्की पुल

Trulli
ADVERTISEMENT

तनहुँ- तनहुँको देवघाटदेखि मुस्ताङको मुक्तिनाथसम्म जोड्ने छोटो दूरीको सडक शालिकग्राम करिडोर लोकमार्गमा २ वटा पुलको शिलान्यास गरिएको छ ।

 

वर्षौंदेखि यो लोकमार्गको चर्चा चले पनि बजेट अभावले काम सुस्त गतिमा थियो । संघीयता आएपछि प्रदेश सरकारको गौरवको योजनामा शालिग्राम करिडोरलाई महत्त्व दिइएको छ ।

 

यो वर्ष शालिकग्राम करिडोरको तनहुँ खण्डमा कामले गति लिएको छ । लोकमार्गको बैडी-घिरिङ-देवघाट खण्डको २१.५ किलोमिटर सडक स्तरोन्नतिको काम २ महिना अगाडि नै सुरु भइसेकेको हो ।

 

घिरिङ वडा नम्बर १ स्थित द्वपदी खोलामा पक्की पुल निर्माणसमेत थालिएको छ । शालिकग्राम करिडोर लोकमार्गमा पर्ने २ खोलामा पक्की पुल शिलान्यास गरी निर्माण सुरु गरिएको छ ।

 

ऋषिङ गाउँपालिका वडा नम्बर ४ र ५ लाई जोड्ने गरी ज्वाला खोलामा र ऋषिङ वडा नम्बर ५ को रुपटार र पिपलटारलाई जोड्ने गरी लुम्दी खोलामा बन्ने पक्की मोटरेबल पुलको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गरे । 

 

शालिकग्राम करिडोर आसपासका स्थानीयको जीवनस्तर उकास्न यी २ पुलले सहयोग पुग्ने उनले बताए । ‘प्रदेश सरकारले पनि यो लोकमार्गलाई गौरवको योजनामा समावेश गरेर प्राथमिकता दिएको छ’, उनले भने । 


पुल निर्माणको काम दु्रत गतिमा अगाडि बढाएर सम्झौता मितिभित्रै सम्पन्न गर्न मन्त्री गुरुङले निर्देशन दिए । ‘समयमै काम सम्पन्न भए भुक्तानीका लागि प्रदेश सरकार तत्पर छ । काममा ढिलाइ भयो भने बजेट व्यवस्थापनमा समस्या हुन्छ’, उनले भने ।

 

पूर्वाधार विकास कार्यालय तनहुँका अनुसार ज्वाला खोलामा २५ मिटर लामो र ८.४ मिटर चौडाइको ओपन फाउन्डेसनको पुल बन्नेछ । आगामी २५ असारमा निर्माण सम्पन्न गर्ने गरी यती बिल्डर्स प्रालि ललितपुरलाई ठेक्का दिइएको कार्यालयका प्रमुख ओमराज ढुंगानाले जानकारी दिए । ३ करोड २१ लाख १ हजार ६ सय ३७ रुपैयाँमा पुलको ठेक्का लगाइएको हो । 


लुम्दी खोलाको पुल पनि ओपन फाउन्डेसनमै बन्नेछ । ५० मिटर लम्बाइ र ८.४ मिटर चौडाइको पुल निर्माणका लागि वाइएसएस निर्माण सेवा सुर्खेतले ५ करोड ५१ लाख ९२ हजार २ सय ४० रुपैयाँमा ठेक्का सम्झौता गरेको ढुंगानाले बताए । यो पुल आगमी १० भदौभित्र सम्पन्न गर्नुपर्ने म्याद तोकिएको छ ।


करिडोर निर्माणले गाउँमा विकासको लहर ल्याउनेमा विश्वस्त रहेको स्थानीय लक्ष्मण श्रेष्ठले बताए । सडक पुलसँगै गाउँमा खानेपानी, सिँचाइ र बिजुली बत्ती आवश्यक रहेको उनले सुनाए ।