close

गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु : मन्त्री ज्ञवाली बने पहिलो लाभग्राही

गुल्मीमा राष्ट्रिय परिचयपत्र वितरण सुरु : मन्त्री ज्ञवाली बने पहिलो लाभग्राही

Trulli
ADVERTISEMENT

गुल्मी- गुल्मीमा राष्ट्रिय परिचयपत्र विवरण संकलनसँगै वितरण पनि सुरु भएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पहिलो राष्ट्रिय परिचयपत्र पाएका छन् । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मन्त्री ज्ञवालीलाई शनिबार परिचयपत्र प्रदान गरिन् । 


ज्ञवालीले जिल्ला प्रशासन कार्यालयमा ३२ साउन २०७६ मा राष्ट्रिय परिचयपत्रका लागि आफ्नो विवरण संकलन गरेका थिए । मन्त्री ज्ञवालीले राष्ट्रिय परिचयपत्र विवरण संकलन गरेका जिल्ला प्रशासन कार्यलयका प्रशासकीय अधिकृत उद्धव पन्थीसहित ३ जना सेवाग्राहीलाई पनि परिचय पत्र प्रदान गरे ।


गुल्मीमा ८ साउन २०७६ बाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन कार्य सुरु भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । जिल्लाका ९ स्थानीय तहमा विवरण संकलनको काम सकिएको छ । 


२३ कात्तिक २०७७ बाट ६१ जना दर्ता अधिकारीले गाउँमा विवरण संकलनको काम गरेका छन् । यो परिचयपत्र भर्खर कार्यान्वयन भने हुँदैन । नेपाल सरकारले निर्णय गरेपछि मात्रै परिचयपत्रको कार्यान्वयन हुने प्रमुख जिल्ला अधिकारी शर्माले बताइन् । अहिलेसम्म १ लाख सात ७ हजार ३ सय २३ जनाको विवरण संकलन भएको छ । 


चन्द्रकोट र कालीगण्डकी गाउँपालिकामा विवरण संकलनको काम भइरहेको छ । भने रेसुंगा नगरपालिकामा केही समयपछि अभियान सञ्चालन हुने सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । 

 

भण्डारीका अनुसार जिल्लामा १ लाख ४४ हजार ४८ जनाले विवरण संकलन गर्ने अनुमान गरिएको छ । अहिलेसम्म जिल्ला प्रशासन कार्यालयबाट ८ हजार ४ सय ९७, गुल्मी दरबार गाउँपालिकाबाट ११ हजार ९ सय ५, धुर्कोट गाउँपालिकाबाट १० हजार पाँच सय ८०, छत्रकोट गाउँपालिकाबाट १० हजार आठ सय ४५ जनाले विवरण संकलन गरेका छन् ।


त्यस्तै, मदाने गाउँपालिकाबाट ९ हजार ७ सय ८०, मालिका गाउँपालिकाबाट १० हजार २ सय ४०, रुरु क्षेत्र गाउँपालिकाबाट ९ हजार ५ सय ९९ जनाले विवरण संकलन गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत पन्थीले बताए ।

 

त्यस्तै, मुसिकोट नगरपालिकाबाट १४ हजार ६ सय ७८, इस्मा गाउँपालिकाबाट ९ हजार ३ सय ५८, सत्यवति गाउँपालिकाबाट १० हजार ६ सय ६४ र चन्द्रकोट गाउँपालिकामा अहिलेसम्म १ हजार १ सय ७७ जनाले विवरण संकलन गरेको पन्थीले बताए । 

 

परिचयपत्र ग्रहण गर्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले राष्ट्रिय परिचयपत्र राष्ट्रिय पहिचानसहितको बायोमेट्रिक सुविधायुक्त बहुउपयोगी प्रमाण भएकाले अभियानमा सहभागी हुन जिल्लाबासीलाई आग्रह गरे ।


उनले जिल्लामा परिचयको विवरण संकलन अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने जिल्ला प्रशासन र समन्वय गर्ने स्थानीय तहलाई धन्यवाद दिए ।