close

दानामा अब चैं गुड्छ गाडी

दानामा अब चैं गुड्छ गाडी

Trulli
ADVERTISEMENT

म्याग्दी– कालीगण्डकी करिडोर प्रसारण लाइन आयोजनाले म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ दानामा विभिन्न विकास आयोजना निर्माण सुरु गरेको छ ।


यसअघि फगाम, सुवामा सडक निर्माण गरेको आयोजनाको सहयोगमा वडा कार्यालय भवन ढलान र ज्ञानप्रकाश मावि जोड्ने सडक निर्माण भएको हो । आयोजनाको ठेकेदार कम्पनी टाटाले जलथले, फगाम, सुवा हँुदै दुवारी खोला जोड्ने सडक निर्माण गरेको थियो ।

 

प्रसारण लाइनको टावर निर्माण स्थलमा सामग्री ढुवानी गर्न निर्माण भएको यो सडकबाट स्थानीयलाई पनि सुविधा पुगेको छ । दुवारी खण्डमा पहिरोले भत्काएको सडक मर्मत गरे जलथले–दुवारी खण्डको बेनी–जोमसोम सडकको विकल्प बन्ने स्थानीय सुरत केसीले बताए ।


अहिले फगाम र सुवाका बासिन्दाले आउजाउका साथै कृषि उपज निकासी र दैनिक उपभोग्य तथा निर्माण सामग्री ढुवानीमा यो सडक प्रयोग गरेका छन् । ४ किलोमिटर दूरीको यो सडक निर्माण गर्न टाटाले करिब ५५ लाख रुपैयाँ खर्च गरेको जनाएको छ ।


यसैगरी आयोजनाको १२ लाख रुपैयाँ सहयोगमा दानास्थित वडा कार्यालय भवन ढलान गरिएको छ । यसअघि वडा कार्यालयको भवन जस्तापाटाले छाइएको थियो । जस्पाता हटाएर ढलानसँगै भवनभित्रका कोठा मर्मतसमेत गरिएको वडाध्यक्ष नरसिंह पुर्जाले बताए । यसअघि भवन चुहिने समस्या थियो । भवन मर्मत र ढलान गरेपछि सेवा प्रवाहमा सहज भएको वडाध्यक्ष पुर्जाले जानकारी दिए ।


यसैगरी दानाको घट्टेखोलास्थित बेनी–जोमसोम सडकदेखि ज्ञानप्रकाश मावि जोड्ने सडक निर्माण भएको छ । सडक निर्माणका लागि आयोजनाले गाउँपालिकामार्फत उपलब्ध गराउने गरी २० लाख रुपैयाँ विनियोजन गरेको थियो । नालीसहित ६ मिटर फराकिलो सडक निर्माण भएको हो ।


सडकको दुवैतर्फ पर्खाल निर्माण भएको छ । उपभोक्ता समितिमार्फत सडक निर्माण भएको हो । समितिका अध्यक्षसमेत रहेका केसीले सडक, नाली र पर्खाल निर्माणको काम सकेर गाउँपालिकामा भुक्तानी प्रक्रिया अघि बढाएको बताए ।

 

नमुना विद्यालयमा छनोट भएको विद्यालयसम्म सहज पहुँच पुग्नुका साथै दानाबासीलाई आउजाउ र ढुवानीमा सुविधा पुगेको छ । जलविद्युत्, प्रसारण लाइनलगायत विकास आयोजनाले कुल लागतको ०.७५ प्रतिशत वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार सामाजिक गतिविधिमा खर्च गर्ने व्यवस्था छ ।

 

सोही व्यवस्थाअनुसार प्रसारण लाइन प्रभावित क्षेत्रमा स्थानीय तहसँग समन्वय गरेर आवश्यकताका आधारमा सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरिएको आयोजनाले जनाएको छ ।