close

जिल्ला अस्पताललाई प्रवासीको सहयोग 

जिल्ला अस्पताललाई प्रवासीको सहयोग 

Trulli
ADVERTISEMENT

ओखलढुंगा- जिल्ला अस्पताल रुम्जाटारलाई पोर्टेबल (सानो) अक्सिजन कन्सनट्रेटर सहयोगस्वरूप प्रदान गरिएको छ । सिद्धिचरण नगरपालिका वडा नम्बर ११ घर भई हाल बेलायत बस्दै आएका २ परिवारले अक्सिजन कन्सनट्रेटर सहयोग गरेका हुन् ।


नगरपालिकाको वडा नम्बर ११ रामबजारका शिवजी र उर्मिला श्रेष्ठ, भक्तलाल र भेषकुमारी श्रेष्ठ दम्पतीले आफ्ना बुबाआमाको स्मरणमा अक्सिजन कन्सनट्रेटर सहयोग गरेका हुन् ।

 

कन्सनट्रेटर मेसिनले अटोमेटिक रूपमै अक्सिजन उत्पादन गर्छ । यसले श्वासप्रश्वासका रोगीलाई विशेष सहायता पुग्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सन्तोष देवले बताए ।


ठूलो आकारको कन्सनट्रेटर बोकेर हिँड्न नमिल्ने भएकाले हाल सहयोगबापत प्राप्त कन्सनट्रेटर प्रयोग गर्न सहज हुने अस्पतालले जनाएको छ । उक्त उपकरण ८० हजार रुपैयाँ मूल्य बराबरको हो । गाडीको ब्याट्रीबाट चल्ने यो उपकरण एम्बुलेन्समा समेत राख्न सकिनेछ । 


उपकरण हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समितिका अध्यक्ष जयबहादुर श्रेष्ठ, सिद्धिचरण नगरप्रमुख मोहनकुमार श्रेष्ठलगायत उपस्थित थिए । दाताहरूका तर्फबाट शिवजी श्रेष्ठका भाइ केन्द्र श्रेष्ठ र भक्तलालका भाइ विश्व श्रेष्ठले कन्सनट्रेटर हस्तान्तरण गरेका हुन् ।


सिद्धिचरणका नगरप्रमुख श्रेष्ठले अस्पताललाई उपलब्ध गराइएको कन्सनट्रेटरले बिरामीको उपचारमा सहज हुने विश्वास व्यक्त गरे ।