close

नदी उत्खनन रोक्न तात्यो स्थानीय प्रशासन 

नदी उत्खनन रोक्न तात्यो स्थानीय प्रशासन 

Trulli
ADVERTISEMENT

उदयपुर- राष्ट्रिय गौरव तथा महत्त्वको आयोजनाका नाममा खोलिएका अस्थायी क्रसरले जथाभावी नदीजन्य वस्तु उत्खनन् गर्न थालेपछि स्थानीय प्रशासनले अनुगमन बढाएको छ ।

 

उदयपुरमा सडक योजनाको नाममा खेलिएका १२ वटा अस्थायी क्रसरबाट उत्पादित गिटी, बालुवा, रोडा उद्देश्य विपीरत बजारमा बिक्री गर्न थालिएपछि स्थानीय प्रशासनले अनुगमन सुरु गरेको हो । 


स्थानीय प्रशासनले अनुगमनका क्रममा राष्ट्रिय गौरव तथा महत्त्वका योजनाका नाममा खुलेका अस्थायी क्रसर अनुगमन गर्ने क्रममा मापदण्ड पूरा नगरी सञ्चालन गर्ने २ वटा क्रसर बन्द गराएको छ ।

 

मदन भण्डारी लोकमार्गको नाममा खुलेका चौदण्डीगढी नगरपालिका वडा नम्बर २ र ५ का केडी स्यान्ड प्रोसेसिङ उद्योग र लामा खोलामा रहेको बेल्टार स्यान्ड प्रोसेसिङ उद्योगलाई स्थानीय प्रशासनले अनुगमनपछि बन्द गराएको हो ।

 

राष्ट्रिय गौरव तथा महत्त्वका आयोजनालाई आवश्यक पर्ने निर्माण सामग्री आपूर्ति गर्न अस्थायी रूपमा स्थापित क्रसर उद्योगले मनपरी गरेको गुनासो आएपछि अनुगमन सुरु गरिएको स्थानीय प्रशासनले दाबी गरेको छ ।

 

सडक योजनालाई आवश्यक पर्ने निर्माण सामग्री प्रभावित क्षेत्रमा उत्पादन गर्न सरकारले छुट दिएको सुविधालाई निर्माण व्यवसायीले दुरुपयोग गर्न थालेका छन् । 


राष्ट्रिय गौरव तथा महत्त्वको मदन भण्डारी लोकमार्ग, गाईघाट-दिक्तेल सडक योजना, सुनकोसीको फोक्सिङटार मोटरेबल पुलको नाममा अस्थायी रूपमा स्थापना गरिएका क्रसर उद्योगमार्फत नदी दोहनमा संलग्न समूहले बगर उत्खनन र चोरी निकासी गरिरहेका छन् ।

 

उनीहरूलाई स्थानीय तहले न्यूनतम मूल्यमा क्रसरलाई नदीजन्य पदार्थ उत्खनन गर्न अनुमति दिने गरेका छन् । 

 

सडक योजनाको नाममा खोलेका अस्थायी क्रसर उद्योगबाट अवैध रूपमा गिटी, बालुवा बाहिर निकासी हुने गरेको छ । अस्थायी क्रसर उद्योगका लागि आवश्यक पर्ने नदीजन्य पदार्थ ठेकेदारले जथाभावी डोजर लगाएर उत्खनन गर्दा नदी कटान तथा विपद् निम्तिने खतरा उत्तिकै बढेको त्रियुगा नगरपालिका वडा नम्बर ११ वडाका वडाध्यक्ष विश्वराज भट्टराईले बताए ।

 

मदन भण्डारी लोकमार्ग, गाईघाट-दिक्तेल सडक योजना, सुनकोसी फोक्सिङटारको मोटरेबल पुलको नाममा अस्थायी रूपमा यहाँ १२ वटा क्रसर सञ्चालनमा छन् । 


गृह मन्त्रालयले कडाइ गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएपछि मापदण्ड विपरीत डोजर प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन, प्रशोधन जारी राखेका क्रसर उद्योगमाथि अनुगमन सुरु भएको प्रमुख जिल्ला अधिकारी चक्रपाणिले जानकारी दिए ।

 

‘महत्त्वपूर्ण आयोजना निर्माणका लागि पाएको सुविधा दुरुपयोग गरी बालुवाजन्य वस्तु बेचबिखन गरे-नगरेको छानबिन गर्न अनुगमनलाई तीव्रता दिएका हौँ । अवैध रूपमा सञ्चालित २ वटा क्रसरलाई बन्द गराएका छौँ’, प्रजिअ पाण्डेले भने ।

 

घरेलु तथा साना उद्योग कार्यालय उदयपुरका अनुसार अस्थायी रूपमा १२ वटा क्रसर उद्योग दर्ता भएका छन् । राष्ट्रिय गौरव तथा महत्त्वको योजनाको नाममा ३ वटा क्रसर भने घरेलु तथा साना उद्योग कार्यालयमा दर्तैबिना सञ्चालनमा छन् ।

 

मदन भण्डारी लोकमार्गको नाममा सिन्धुली र उदयपुरमा गरी ५ वटा क्रसर सञ्चालनमा रहेको लामा एन्ड शर्मा जेबीका पूर्वी खण्डका प्रबन्धक सीताराम दाहालले बताए ।

 

उनका अनुसार चौदण्डीगढी नगरपालिकको लामा खोला, त्रियुगा नगरपालिकाको चुहाडे, कटारी नगरपालिकाको रिस्कु, सिन्धुलीको रानीबास, सिन्धुलीको जवाडीमा अस्थायी रूपमा क्रसर सञ्चालनमा छन् ।

 

मदन भण्डारी लोकमार्गका लागि स्थापना गरिएका ५ क्रसरमध्ये चौदण्डीगढीको लामा खोलामा र सिन्धुलीको रानीबासमा बन्द गर्न सम्बन्धित निकायलाई गत असारमै पत्राचार गरिएको दाहालको दाबी छ । उनका अनुसार केही महिनाका लागि ३ वटा क्रसर सञ्चालनमा रहनेछन् ।