close

लिफ्ट प्रविधिबाट प्यास मेट्ने पर्खाइमा रत्नेचौरका स्थानीय

लिफ्ट प्रविधिबाट प्यास मेट्ने पर्खाइमा रत्नेचौरका स्थानीय

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका वडा नम्बर १ मा रत्नेचौर लिफ्ट खानेपानी आयोजना निर्माण सुरु भएको छ । खानेपानी, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले ६ करोड ७६ लाख रुपैयाँको लागतमा आयोजना निर्माण सुरु गरेको हो ।


सिमस्थित कालीगण्डकी नदी किनारबाट पानी तानेर रत्नेचौर, उपल्लाचौर र सालघारीमा वितरण गर्ने लक्ष्य राखिएको छ । 


कार्यालय प्रमुख कुमार खड्काले आयोजनाबाट २ सय ४३ घरधुरीका १ हजार २ सय १५ जनसंख्या लाभान्वित हुने जानकारी दिए । सम्पावयलको सहायताले प्रतिसेकेन्ड ४.७ लिटर पानी ४ सय ५० मिटरमाथि सालघारीमा निर्माण हुने १ सय १५ क्युबिक क्षमताको टंकीमा खसालेर घर-घरमा धारा जडान गरेर वितरण गरिनेछ । 


प्रदेश सरकारको विशेष खानेपानी आयोजनामा छनोट भएको यो आयोजनाको पहिलो प्याकेजअन्तर्गत गत २४ असारमा प्राकृतिक–प्रदीप–जुम्ली जेभीले २ करोड ७५ लाख ३६ हजार ५ सय ६ रुपैयाँमा ठेक्का लिएको छ ।

 

२३ असार २०७९ सम्म मुहानमा इनार, मुख्य लाइन, संकलन, रिजर्भ र वितरण ट्यांकीलगायत संरचना निर्माण गरिसक्ने लक्ष्य राखिएको छ । घरघरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिने यो आयोजनाको बितरण लाइनको कुल दूरी १८.७ किलोमिटर छ । 

 

ठेकेदार कम्पनीका प्रतिनिधि होमनाथ सापकोटाले ट्यांकी निर्माण सुरु गरिएको बताए । ‘पर्याप्त मजदुर र उपकरण परिचालनका लागि आवश्यकताअनुसार निर्माण सामग्री जुटाएर निर्धारित समयमै आयोजना सम्पन्न गर्छौं’, उनले भने । 

 

रत्नेचौरमा २०३५ मा निर्माण भएको खानेपानी आयोजना जीर्ण र अव्यवस्थित भएको थियो । जीर्ण संरचना र मुहान सुक्दै गएकाले पर्याप्त पानी आपूर्ति हुन सकेको थिएन । नजिकै पानीको स्रोत नभएकाले लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण गर्नु परेको वडाध्यक्ष टेकबहादुर रावलले बताए । 

 

आयोजनाको आइतबार विघटित प्रतिनिधिसभाका सदस्य भूपेन्द्रबहादुर थापाले शिलान्यास गरे । थापाले निर्धारित समयमै खानेपानी आयोजना निर्माण सकेर सर्वसाधारणले सुविधा पाउने वातावरण बनाउनुपर्नेमा जोड दिए । 

सडक कालोपत्रे र खानेपानी आयोजना भित्र्याउन आफूले पहल गरेको बताउँदै उनले ढोडेनी खोलामा मोटरेबल र कुडुले जोड्ने झोलुंगे पुलको सर्वेक्षण भइसकेको जानकारी दिए । 

 

‘अर्जममा नयाँ खानेपानी आयोजनाका लागि बजेट व्यवस्थापन गरिएको छ । रत्नेचौर-भकुन्डे-स्वर्गाश्रम जोड्ने पदमार्गको अध्ययन सम्पन्न भइसकेको छ’, उनले भने ।

 

रत्नेचौरमा मात्र नभएर आफ्नो कार्यकालमा म्याग्दीको पर्यटन, पूर्वाधार, विद्युतीकरण, सडक र खानेपानीसम्बन्धी धेरै आयोजना भित्र्याएर कार्यान्वयन गराउन सफल भएको दाबी उनको छ ।