close

पालिका खबरदाता चौलागाई सम्मानित

पालिका खबरदाता चौलागाई सम्मानित

Trulli
ADVERTISEMENT

दोलखा- दोलखाको भीमेश्वर नगरपालिकाले २५औँ स्थापना दिवस  अवसरमा अन्तर्जातीय विवाह गर्ने एक जोडीलाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ । दलित र गैरदलितबीचको विभेद तोड्न साहस गर्ने जोडीलाई नगरपालिकाको स्थापना दिवस अवसरमा सम्मान गरिएको हो ।

 

नगरपालिकाले पहिलो पटक वडा नम्बर ३ का प्रदीप सेञ्चुरी र वडा नम्बर ६ की नेत्राकुमारी खड्कालाई अन्तरजातीय विवाह गरेकामा सम्मान गरेको हो ।


कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख डबल पाण्डेले समृद्ध नगर निर्माणको दूरदृष्टि योजना बनार्ई जनप्रतिनिधि र नगरका कर्मचारीले आ-आफ्नो जिम्मेवारी वहन गरेकामा आभार व्यक्त गरे । 

 

समृद्ध भीमेश्वर पौरखी भीमेश्वरको नारालाई शिरोधार्य गर्दै जनताको मन जित्ने गरी काम गरेको बताए । नगरलाई बागमती प्रदेशकै पहिलो बालमैत्री पालिका घोषणा गर्न सफल भएको, खेल क्षेत्रलाई प्राथमिकतामा राखी एक वडा एक खेल मैदानको अवधारणाअनुरूप प्रत्येक वडामा खेलमैदान निर्माण गरिएको नगरप्रमुख भरत केसीले बताए ।

 

यस्तै, जिल्लाकै गौरवको आयोजनाअन्तर्गत प्यारापिटसहितको रंगशाला निर्माण सुरु गरिएको, एक घर एक धारा, एक वडा एक पार्क, एक वडा एक रिचार्ज पोखरीको अभियानअन्तर्गत काम भइरहेको जानकारी उनले दिए । उपप्रमुख कमला बस्नेतले निर्वाचित भएपछि घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धता क्रमशः पूरा हुँदै गएको दाबी गरिन् ।

 

कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव एवं राष्ट्रिय सूचना आयोगका पूर्वप्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले विभिन्न पालिकाहरूको राम्रो र असल अभ्यासबारे जानकारी गराउँदै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी इमानदार, निष्ठावान् र कर्तव्यनिष्ठ हुनुपर्नेमा जोड दिए । 

 

जिरी नगरपालिका उपप्रमुख कृष्णमाया बुढाथोकी, कालिञ्चोक गाउँपालिका उपाध्यक्ष कालिका पाठक, बैतेश्वर गाउँपालिका उपाध्यक्ष रविचन्द्र आचार्यलगायतले भीमेश्वरले अन्यत्रका स्थानीय तहभन्दा बढी गौरव गर्न लायक काम गरेको बताए ।


भीमेश्वर नगरपालिकाले २५औँ स्थापना दिवस अवसरमा ३ जना पत्रकारलाई नगदसहित सम्मान गरेको छ । नगरको विकास निर्माण, सेवा प्रवाह र असल अभ्यासको समाचार सम्प्रेषण गरी नागरिकलाई ससूचित गराउन भूमिका खेलेबापत नगरले जिल्लाका ३ क्रियाशील पत्रकारलाई सम्मान गरेको हो ।

 

सम्मानित हुने पत्रकारमा पालिका खबरदाता दीपशंकर चौलागाई, दीक्षण दैनिकका सम्पादक सिर्जनकुमार घिमिरे र कालिञ्चोक एफएममा कार्यरत गायत्री आचार्य सम्मानित भएका हुन् ।