close

गुल्मीको शान्ति सुरक्षाः अपराधी खुलेआम घुम्छन्, प्रहरी टुलुटुलु हेर्छन् (भिडियाे खबर)

गुल्मीको शान्ति सुरक्षाः अपराधी खुलेआम घुम्छन्, प्रहरी टुलुटुलु हेर्छन् (भिडियाे खबर)

ADVERTISEMENT

गुल्मी- गुल्मीमा पछिल्लो समय शान्ति-सुरक्षा धर्मरिँदै गएको छ । दिनदहाडै हत्या, अपराध हुँदा पनि अपराधी समातिएका छैनन् । सुरक्षाकर्मीको बाक्लो उपस्थिति हुने ठाउँमा आपराधिक घटना बढ्दै गएका हुन् ।

 

पछिल्लो समय केहीको हत्या भएको छ । कुटपिट हुने, कृषकको बालीनाली नष्ट गर्ने काम भइरहँदा कुनै पनि अपराधी प्रहरीले पक्राउ गर्न नसक्नुले प्रहरी नेतृत्वमाथि नै प्रश्न उठिरहेको छ । 


जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मीका सबै स्थानीय तहमा पछिल्लो समय आपराधिक घटना बढ्दै गएका छन् । जिल्लाका अधिकांश मुख्य नेता केन्द्रीय राजनीतिमा पकड बनाएर बसेका छन् । कोही मन्त्री छन् त कोही पूर्वमन्त्री । 


तर, आफ्नो जिल्लामा पछिल्लो समय बढ्दो अपराध नियन्त्रणमा न प्रहरीलाई अपराधी खोज्न दबाब दिइएको छ, न त उनीहरूले चिन्ता नै लिएका छन् । 

 

गुल्मीमा पछिल्लो समय भएका आपराधिक घटना :


घटना नम्बर १ : ३ भदौ २०७७ मा गुल्मीकै मुसिकोट नगरपालिका वडा नम्बर २ का १ जना पाको उमेरका पुरुषले ५ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गराएको उजुरी परे पनि पक्राउ परेनन् ।

 

घटना नम्बर २: २० असोज २०७७ को राती गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ३, पालुका घर्तीफाँटका २३ वर्षीय मोतीबहादुर कुँवरको हत्या भयो । आफ्नै रेस्टुरेन्टमा अज्ञात समूहको कुटपिटबाट उनको हत्या भएको थियो ।


घटना नम्बर ३: १० मंसिर २०७७ मा रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ४ मा १ बालिकालाई भारतमा बेचबिखन गर्न लगेको अभियोग लागेका एक स्थानीयी गाउँमै रहे पनि प्रहरीले पक्राउ नगरेको । 


घटना नम्बर ४: २४ पुस २०७७ मा सदरमुकास्थित महेन्द्र नमुना माविमा कक्षा ११ मा अध्ययनरत इस्मा गाउँपालिका वडा नम्बर ३ दर्लामचौरका १९ वर्षीय माधव पछाई निर्घात कुटिए । रेसुंगा नगरपालिका वडा नम्बर १ का रोहित गुरुङ, सन्देश श्रेष्ठ, रितेश भलामी, आइस पाण्डेमध्ये २ जना पक्राउ पर्दा अन्य २ फरार भए । 


घटना नम्बर ५: ३ माघ २०७७ मा रेसुंगा नगरपालिका वडा नम्बर १४ पराल्मी रातामाटामा दिनदहाडै अज्ञात व्यक्तिले भरुवा बन्दुक प्रहार गर्दा ४७ वर्षीय तुलबहादुर विकको ज्यान गयो । 

 

घटना नम्बर ६: २३ पुस २०७७ मा चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ हर्राचौरका शौभाग्य शाहको बाख्रा फर्ममा अज्ञात समूहद्वारा आगजनी ।

 

घटना नम्बर ७: २७ पुस २०७७ मा मालिका गाउँपालिका वडा नम्बर ७ घमिरमा मुमानन्द लम्सालको खेतका केरा फँडानी, पाइप र सिँचाइका सामग्रीमा क्षति ।

 


यीबाहेक स्वास्थ्य चौकी तोडफोडका घटना त छन् नै । पछिल्ला घटनाले देखाउँदै छन्, गुल्मीमा आपराधिक क्रियाकलापले जरो गाडेको छ । हत्या गरिएका विक र कुँवरका हत्यारा पत्ता नलाग्दा स्थानीयमा त्रास बढ्दो इस्मा गाउँपालिका वडा नम्बर ३ का वीरबहादुर खत्री बताउँछन् ।

 

झारफुकको नाममा डामेर इस्मा वडा नम्बर ३ कै ६४ वर्षीय रामबहादुर मुखियाको हत्या भयो भने अन्य २ घाइते भए । विपन्न मुखिया परिवार अहिले पनि शोकमा छ । दोषीलाई कडा कारबाही गर्नुपर्ने माग राख्दै आएको इस्मा गाउँपालिका वडा नम्बर ३ का स्थानीय हुमबहादुर मुखियाले सुनाए ।

 

यसरी निरन्तर आपराधिक गतिविधि हुँदा पनि प्रहरीले अझै खास उपलब्धि हासिल गर्न सकेको छैन । प्रहरी हरेक घटनास्थल पायक पर्ने ठाउँमा नभएको र स्थानीय स्तरबाट समन्वय नहुँदा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेयले जानकारी दिए ।


मालिका गाउँपालिकामा पनि केही घटना भएका छन्, जसले गाउँका स्थानीय सरकारलाई शान्ति सुरक्षा कायम गर्न चुनौती बढेको मदाने गाउँपालिका अध्यक्ष दानबहादुर केसीको बुझाइ छ ।

 

दैनिक अपराधका घटना बढ्दै गएपछि नागरिक समाज र सरोकारवालाले जिल्लामा शान्ति-सुरक्षाको माग गरेका छन् । पछिल्लो समय भएका घटना र प्रहरीले देखाएको उदासीनताबारे स्थानीयबाट आक्रोश व्यक्त भइरहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् । 


जिल्लामा प्रशासन नजिकै पनि नौला घटना भएकाले चित्त दुखेको छ । यसबारे सुरक्षा समितिमा गम्भीर समीक्षा भएको उनले जानकारी दिइन् ।

 

पछिल्लो समय जिल्लामा हत्यासँगै अनौठो प्रकृतिका घटना भएका छन् । कतै आरोपित गाउँमै खुलेआम डुलेर हिँडिरहेका छन् । अपराधीको मनोबल बढ्दो क्रममा छ । यस्तो अवस्थामा नागरिकले प्रहरी प्रशासनबाट न्याय र शान्ति सुरक्षाको महसुस कसरी गर्न सक्छन् ?