close

खोटाङका ७ हजार ३ सय ९८ ले पाए तेस्रो किस्ता

खोटाङका ७ हजार ३ सय ९८ ले पाए तेस्रो किस्ता

Trulli
ADVERTISEMENT

खोटाङ– ५ वर्षअघिको भूकम्पका कारण घरबारविहीन बनेका खोटाङका ७ हजारभन्दा बढी लाभग्राहीले तेस्रो किस्ताबापतको अनुदान बुझेका छन् ।


पुनर्निर्माणतर्फ ९ हजार ३ सय १० र प्रबलीकरणतर्फ ९ सय ७१ गरी १० हजार २ सय ८१ लाभग्रही पहिचान भएको जिल्लामा ७ हजार ३ सय ९८ जनाले निजी आवास अनुदानबापत तेस्रो किस्ता बुझेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय खोटाङले जनाएको छ ।


निजी आवाससहित पुनर्निर्माणको चालू कार्यक्रमको प्रभावकारी कार्यान्वयन सम्बन्धमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सोमबार दिक्तेलमा छलफल कार्यक्रम चलाएको छ ।


कार्यक्रममा जिल्ला आयोजना कार्यान्वयन इकाइ कार्यालयका प्रमुख घनश्याम उपाध्यायले हालसम्म पुनर्निर्माणतर्फ ९ हजार ६८ र प्रबलीकरणतर्फ ७ सय ८५ गरी ९ हजार ८ सय ५३ लाभग्रहीसँग सम्झौता गरिएकामा जिल्लामा हालसम्म पुनर्निर्माणतर्फ ८ हजार ६० परिवारले मात्र दोस्रो किस्ता बुझेको जानकारी दिए ।


यस्तै, पुनर्निर्माणतर्फ ९ हजार ६८ घर र प्रबलीकरणतर्फ ७ सय ८५ गरी ९ हजार ८ सय ५३ लाभग्रहीले पहिलो किस्ता बुझेको प्राधिकरणले बताएको छ ।


१२ वैशाख ०७२ मा गएको भूकम्पपछिको पुनर्निर्माणका क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पुनर्निर्माण र प्रबलीकरणतर्फका १ हजार ८ सय ५६ लाभग्रहीमध्ये १ हजार ३ सय ३१ जनाले तेस्रो किस्ता, १ हजार ४ सय ४३ लाभग्रहीले दोस्रो किस्ता र १ हजार ७ सय ९३ जनाले पहिलो किस्ता बुझेका छन् ।


हलेसी तुवाचुङ नगरपालिकाका १ हजार ९ सय ७२ लाभग्रहीमध्ये १ हजार ४ सय ५३ जनाले तेस्रो किस्ता, १ हजार ६ सय ४६ जनाले दोस्रो किस्ता र १ हजार ९ सय ३ लाभग्रहीले पहिलो किस्ता बुझेका छन् ।


ऐँसेलुखर्क गाउँपालिकाका ९७१ लाभग्राहीमध्ये ६ सय ५४ जनाले तेस्रो किस्ता, ६ सय ८९ जनाले दोस्रो किस्ता र ९ सय ५ लाभग्रहीले पहिलो किस्ता बुझेका छन् ।


बराहपोखरी गाउँपालिकाका ५ सय ७ लाभग्रहीमध्ये ४ सय २३ जनालेले तेस्रो किस्ता, ४ सय ४० लाभग्रहीले दोस्रो किस्ता र ४ सय ७५ जनाले पहिलो किस्ता बुझेका छन् ।


दिप्रुङ चुइचुम्मा गाउँपालिकाका ७ सय १४ लाभग्रहीमध्ये ४ सय ९६ जनाले तेस्रो किस्ता, ५ सय ५१ जनाले दोस्रो र ६ सय ८९ लाभग्राहीले पहिलो किस्ता बुझेको जिल्ला आयोजना कार्यान्वयन इकाइ कार्यालयले जनाएको छ ।


यस्तै, जन्तेढुंगा गाउँपालिकाका ७ सय २६ लाभग्रहीमध्ये ४ सय ८१ ज्नाले तेस्रो किस्ता, ५ सय २२ जनाले दोस्रो र ६ सय ५६ लाभग्रहीले तेस्रो किस्ता बुझेका छन् ।


केपिलासगढी गाउँपालिकाका ८ सय ८६ लाभग्रहीमध्ये ५ सय ५६ जनाले तेस्रो किस्ता, ६ सय ६९ जनाले दोस्रो र ८ सय ७६ जनाले पहिलो किस्ता बुझेका छन् ।


खोटेहाङ गाउँपालिकाका १ हजार ६ लाभग्रहीमध्ये ७ सय ७५ जनाले तेस्रो किस्ता, ७ सय ८९ जनाले दोस्रो र ९ सय ७८ जनाले पहिलो किस्ता बुझेका छन् । रावाबेँसी गाउँपालिकाका १ हजार २९ लाभग्रहीमध्ये ७ सय २५ जनाले तेस्रो किस्ता, ७ सय ७९ जनाले दोस्रो किस्ता र ९ सय ८४ जनाले पहिलो किस्ता बुझेका छन् ।


साकेला गाउँपालिकाका ६ सय १४ लाभग्रहीमध्ये ५ सय ४ जनाले तेस्रो किस्ता, ५ सय ३२ जनाले दोस्रो र ५ सय ९४ जनाले पहिलो किस्ता बुझेको प्रगति विवरणमा उल्लेख छ ।


खोटाङमा ३ वैशाख २०७४ देखि सम्झौता सुरु गरेको पुनर्निर्माण प्राधिकरणले १९ जेठ २०७४ मा पहिलो किस्ता, ३० वैशाख २०७५ देखि दोस्रो किस्ता र २०७५ असोजदेखि तेस्रो किस्ता वितरण थालेको थियो ।


किस्ता बुझेर आवास निर्माणको काममा ढिलासुस्ती गर्ने लाभग्रही पनि उत्तिकै छन् । भूकम्पका कारण खोटाङमा १३ हजार ७ सय ९९ घरमा क्षति पुगेको तथ्यांक छ । भूकम्पका कारण जिल्लामा १८ सरकारी भवन पूर्ण र ५५ भवनमा आंशिक क्षति पुगेको थियो ।


४ जनाले फिर्ता गरे अनुदान

 

निजी आवास पुनर्निर्माणका क्रममा खोटाङमा १ जना लाभग्रहीले पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ अनुदान फिर्ता गरेका छन् । यस्तै, दोहोरो भुक्तानी लिएका ३ जना लाभग्रहीले १ लाख ५० हजार रुपैयाँ फिर्ता गरेको उपाध्यायले बताए ।


पुरानो प्रावधानअनुसार २० र नयाँ प्रावधानअनुसार १ सय २१ लाभग्रहीलाई प्रबलीकरणबाट पुनर्निर्माणमा परिवर्तनका लागि सिफारिस गरिएको छ ।


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको २१ करोड १ लाख ८८ हजार रुपैयाँ खर्चमा कालोपत्रेको तयारी गरिएको दिक्तेल–खानीडाँडा–आहाले सडक (१०.७९ किलोमिटर) कालोपत्रेको काममा हालसम्म ४३.६९ प्रतिशत मात्र भौतिक प्रगति भएको छ ।

 

यो सडक १ मंसिर २०७५ मा शिलान्यास गरिएको थियो । कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन) का आयोजना प्रमुख श्यामकिशोर सिंहले देशभरको पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।


वास्तविक भूकम्पपीडित छुटेको छुट्यै


भूकम्पीय आवास पुनर्निर्माणको काम अन्तिम चरणमा पुग्दा खोटाङका कतिपय वास्तविक भूकम्पपीडित निजी आवास अनुदानबाट वञ्चित भएको गुनासो आएको छ । निजी आवाससहित पुनर्निर्माणका चालू कार्यक्रमको प्रभावकारी कार्यान्वयन सम्बन्धमा दिक्तेलस्थित प्राधिकरण कार्यालयले आयोजना गरेको छलफलमा उपस्थित स्थानीय तहका प्रमुख तथा उपप्रमुखले अझै पनि वास्तविक भूकम्पपीडितलाई आवास पुनर्निर्माणले छुन नसकेको बताए ।


कार्यक्रममा दिप्रुङ चुइचुम्माका अध्यक्ष भूपेन्द्र राईले लाभग्रहीको सूचीमा पर्नुपर्ने घर नपरेको तर नपर्नु पर्ने घर परेको भन्दै पुनर्निर्माण प्राधिकरणको आलोचना गरे । रावाबेँसीका अध्यक्ष लीलानाथ निरौलाले ‘क’ वर्गको परिचयपत्र पाएका भूकम्पपीडित अहिलेसम्म लाभग्रहीको सूचीमा समावेश हुन नसकेको बताए ।


साकेला गाउँपालिका उपाध्यक्ष सरिता खड्काले कतिपयले पुरानो घर देखाएर आवास अनुदानको भुक्तानी लिएको गुनासो आएको बताइन् । केपिलासगढी गाउँपालिका उपाध्यक्ष हिरादेवी वनले पनि पुनर्निर्माणका क्रममा प्राधिकरणको कमजोरी भएको औँल्याइन् ।