close

अन्नपूर्णका गाउँबस्तीमै डाक्टर 

अन्नपूर्णका गाउँबस्तीमै डाक्टर 

Trulli
ADVERTISEMENT

म्याग्दी– घुँडा दुख्ने समस्या भएका अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ नारच्याङका धनबहादुर विकले औषधी र चिकित्सकको परामर्श सेवा गाउँमै पाए । नारच्याङकै पोकमाया विकले पनि रक्तचाप कम हुने समस्याको पहिचान गाउँमै गर्न पाइन् ।


‘बेनी, पोखरा जाँदा २–३ दिन समय लाग्थ्यो । १०÷१५ हजार रुपैयाँको जोहो गर्नुपर्ने थियो,’ धनबहादुरले भने, ‘गाउँमै स्वास्थ्य परीक्षण गरेर रोग पत्ता लगाउने र औषधी पाएपछि समय र खर्च बच्यो । सहजै उपचार पायौँ ।’

 

धनबहादुर र पोकमायाजस्तै म्याग्दीको अन्नपूर्ण गाउँबासीलाई गाउँमै डाक्टरको सुविधा भएपछि राहत मिलेको छ । चिकित्सकले घरदैलोमै पुगेर नागरिकलाई स्वास्थ्य सेवा दिन थालेका छन् । 

 

आर्थिक अभाव, चेतनाको कमीलगायत कारणले रोग लुकाएर बसेका दुर्गमका बासिन्दालाई घुम्ती स्वास्थ्य शिविर सञ्चालन गरेर उपचार सेवा दिन थालेको उपाध्यक्ष केशमाया मगरले बताइन् । बेनी, पोखरा, बागलुङका अस्पतालले दिने आधारभूत स्तरको सेवा गाउँमै पाएका छन् । 

 

नारच्याङमा स्थापना भएको कोरोना अस्थायी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मी परिचालन गरेर नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा दिन थालेको हो । 

 

‘३ महिनाका लागि संघीय सरकारको सहयोगमा कोरोना अस्पताल स्थापना गरी चिकित्सक र स्वास्थ्यकर्मी व्यवस्थापन गरिएको थियो,’ उपाध्यक्ष मगरले भनिन्, ‘स्वास्थ्य, महिला, बालबालिकालगायत लक्षित समुदायका लागि विनियोजन गरेको बजेटलाई परिचालन गरेर पालिकाको सबै टोलमा शिविर सञ्चालन सुरु गरेका छौँ ।’

 

कोरोनाका बिरामी नभएको अवस्थामा अस्पतालका चिकित्सकलाई बस्तीमा लगेर घुम्ती शिविर सञ्चालन गरी स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधी वितरण सेवा उपलब्ध गराएको छ ।

 

नारच्याङ वडा नम्बर ७ को औला र वडा नम्बर ५ को शिखमा शिविर सञ्चालन गरेर स्वास्थ्य सेवाका साथै नसर्ने रोग र प्राथमिक उपचारविधिसम्बन्धी सन्देशमूलक कार्यक्रम गरेको अस्पतालका चिकित्सक लक्ष्मी पन्थीले बताइन् ।

 

शिविर सञ्चालन गर्न गाउँपालिका, वडा कार्यालय, आमा समूह र युवा क्लबले साझेदारी गरेका छन् । गाउँमै चिकित्सकको सेवा पाउँदा नागरिक दंग छन् । शिविरमा मुटु, मिर्गौला, मधुमेह, रगत, रक्तचाप, थाइराइडको परीक्षण र भिडियो एक्सरे सुविधा दिइएको छ । 

 

घाउ चोटपटक लागेका, छाला, बाथ, दम, चर्मरोग, ग्यास्ट्रिक, दाँत र स्त्री रोगसम्बन्धी समस्या भएका बिरामी बढी भेटिएका छन् । बिरामीलाई समयमै रोगको पहिचान गर्न सहज भएको छ । पहिचान भएका बिरामीलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाइएको छ । 

 

गाउँपालिकाले शिविर सञ्चालनका लागि अतिरिक्त औषधी खरिद गरेको छ । अन्नपूर्णमा ८ वटा वडाका १७ वटा बस्ती छन् ।