close

सिन्धुलीको फिक्कल भयो झिलीमिली (भिडियाे खबर)

सिन्धुलीको फिक्कल भयो झिलीमिली (भिडियाे खबर)

ADVERTISEMENT

सिन्धुली- कुनै बेला राती उज्यालोको सहारा सल्लाको दियालोसँग लिनुपर्ने अवस्था थियो । पछि विस्तारै मट्टीतेलको सहायताले टुकी बत्तीको प्रयोग हुन थाल्यो ।

 

वर्षौंदेखि बिजुली बत्ती देख्दै आएका तर स-सना टुकीसँग उज्यालोको सहारा लिएका नागरिकलाई बिजुली बत्तीको उज्यालोमा बस्ने रहर कहाँ नभएको हो र ! बिजुली बत्तीको उज्यालोमा बस्ने रहर स्थानीय तहमा जनप्रतिनिधि आएपछि पूरा हुँदै गएको छ । बिजुली बत्ती पुगेपछि सिन्धुलीको फिक्कल गाउँपालिकामा खुसियाली छाएको छ । 


सिन्धुलीको फिक्कल गाउँपालिकामा बिजुली बत्ती पुगेपछि नागरिकमा खुसियाली छाएको छ । विगतमा मट्टीतेलको सहायताले टुकी बत्ती बाल्दै आएका नागरिक बिजुली बत्ती बाल्न पाउँदा खुसी भएका छन् । यतिबेला फिक्कल गाउँपालिकाले बिजुली बत्ती विस्तार गरेपछि नागरिकमा खुसी छाएको स्थानीय भीष्म सुवेदी बताउँछन् ।

 

सडक, शिक्षा बिजुलीलाई गाउँपालिकाले विकासको पूर्वाधारको नारा बनाएको छ । गाउँपालिकाले सबै वडामा बिजुली बत्तीको पहुँच पुर्‍याउँदा नागरिकको जीवनशैलीमा पनि सहजता मिलेको छ । दुर्गम क्षेत्रमा पनि गाउँपालिकाको पहलमा बिजुली बत्तीको पहुँच पुर्‍याउने जनप्रतिनिधिको प्रयास सकारात्मक रहेको स्थानीय रामप्रसाद भण्डारीको भनाइ छ ।


निर्वाचित जनप्रतिनिधिले बनाएको ‘सडक, शिक्षा, बिजुली’ फिक्कल विकासको पूर्वाधारको नारालाई साकार बनाउने काम भइरहेको छ । जनतामाझ गरेको प्रतिबद्धताअनुसार गाउँपालिकाको केन्द्र सम्म बिजुली बत्ती विस्तार गरिएको छ । पालिकाका सबै वडामा बिजुली बत्तीको विस्तार गर्ने लक्ष्यअनुसार काम गाउँपालिका उपाध्यक्ष पार्वती सुनुवारले जानकारी दिइन् ।

 

फिक्कल गाउँपालिकाले छिमेकी गोलन्जोर गाउँपालिकादेखि आफ्नो पालिकासम्म बिजुली बत्ती विस्तार गरिसकेको छ । विद्युत् प्राधिकरणसँगको समन्वयमा पालिकका सबैको घर–घरमा बिजुली बत्ती विस्तार गर्ने गाउँपालिकाको लक्ष्य छ । हाल २, ३, ४, ५ नम्बर वडामा बत्ती विस्तार गर्न तार पोलको काम भइरहेको छ ।