close

कोरोनाको खोप आएपछिको हेलचेक्र्याइँ (भिडियाे खबर)

कोरोनाको खोप आएपछिको हेलचेक्र्याइँ (भिडियाे खबर)

ADVERTISEMENT

बैतडी- ठीक १ वर्षअघि नेपालमा कोरोना भाइरसबाट संक्रमित हुने व्यक्ति फाट्टफुट्ट देखिन थालेका थिए । १ वर्षको अन्तरालमा २ हजार बढीले महामारीका कारण ज्यानसमेत गुमाए भने झन्डै ३ लाख संक्रमित भइसकेका छन् ।

 

छिमेकी चीनको वुहानबाट भित्रिएको भाइरसलाई रोक्न अहिले अर्को छिमेकी भारतले पठाएको कोरोनाविरुद्धको खोप लगाउने क्रम सुरु भएको छ । तर, नागरिक स्तरमा भने कोरोना खोपको आगमनसँगै संक्रमणको त्रास हराएको छ । यसले जनस्तरमा खोप वितरण हुनुअगावै अर्को भयावह रूप लिने हो कि भन्ने चिन्ता बढ्न थालेको छ । 


बैतडीमा मात्रै कोरोना भाइरसको संक्रमण हुनेको संख्या अहिले साढे ६ सय पुगेको छ । तर, जिल्लास्थित स्थानीय सरकारका साथै सरोकारवालाले कोरोना नियन्त्रणमा चासो देखाउन छाडेका छन् ।

 

भाइरसको प्रकोप नेपालमा आउँदा निकै कस्सिएका पालिका पनि अहिले मौन छन् । महामारीको भयले झन्डै २ महिनासम्म सीमास्थित भारतीय बजार झुलाघाटमै रोक्नुपरेको थियो । क्वारेन्टाइन बनाइयो, संक्रमण फैलन रोक्ने भन्दै कति बजेट हालियो । 

 

सरकारले लकडाउन गर्दा महामारी रोक्न निकै काम गरेका पालिकाहरू अहिले भने केही नगरी बसिरहेका छन् । उता, नागरिकले पनि स्यानिटाइजर, मास्क प्रयोग गरेर महामारीबाट जोगिन लाखौँ प्रयत्न गरिरहेका भए पनि  अहिले बेवास्ता गरिरहेको देखिन्छ । खोप आएपछि अहिले स्थानीयले महामारीबाट जोगिने उपाय  छाड्न थालेको स्थानीय धनिराम लोहार बताउँछन् ।


बजार भीडभाड उत्तिकै छ । महामारी अहिले पनि उत्तिकै भए पनि जनप्रतिनिधि हात बाँधेर बसेका छन् । महामारी नियन्त्रण प्रयास राम्रोसँग गरिएको दशरथचन्द नगरपालिका प्रवक्ता चक्रप्रसाद शर्मा दाबी गर्छन् । 


कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै सुरु सुरुमा देखाएको सर्तकता अहिले निस्कृय भएको छ । राजनीतिक कार्यक्रम हुँदै आएका छन् । भीडभाड हुन्छ तर प्रशासनले  महामारी फैलने खतरा थाहा हुँदाहुँदै पनि नागरिक स्तरबाटै उल्लंघन भएपछि केही गर्न नसकिएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी बताउँछन् ।


बुधबारबाट कोरोनाविरुद्धको खोप वितरण सुरु भएको छ । तर, सुरुमा फ्रन्टलाइनमा काम गर्नेलाई दिने हुँदा अझै पनि महामारीको त्रास घटेको छैन ।