close

उदयपुर प्रशासन सुविधासम्पन्न नयाँ भवनमा

उदयपुर प्रशासन सुविधासम्पन्न नयाँ भवनमा

Trulli
ADVERTISEMENT

उदयपुर- जिल्ला प्रशासन कार्यालय उदयपुरले सुविधासम्पन्न नयाँ भवनबाट सेवा प्रवाह सुरु गरेको छ । पुरानो प्रशासनिक भवन परिसरमै निर्मित ३ तले आधुनिक नयाँ भवनबाट बुधबारदेखि प्रशासनिक कामकाज सुरु गरेको हो । 


औपचारिक रूपमा भवन उद्घाटन बाँकी रहे पनि सेवाग्रहीलाई काम लिन अप्ठेरो भएपछि निर्माण सम्पन्न भइसकेको भवनबाट सेवा दिन थालिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए । भवन १ महिनाअघि नै निर्माण सम्पन्न भए पनि भुक्तानीलगायत बिभिन्न कारणले औपचारिक उद्घाटन र हस्तान्तरण हुन बाँकी छ । 


५ दशकअघि बनेको पुरानो र भूकम्पले जीर्ण भवनबाट सेवा प्रवाह गर्नुपर्दा सेवाग्रही र कर्मचारी दुवैलाई समस्या परेकाले हस्तान्तरण हुन बाँकी भए पनि भवन प्रयोगमा ल्याउन थालिएको प्रजिअ पाण्डेले बताए ।

 

१९ असार २०७४ मा सम्झौता भएर १० जेठ २०७७ मा सम्पन्न गर्ने गरी काम भए पनि कोभिडका कारण ढिलाइ हुँदा ९ महिना थप समय लागेको प्रजिअ पाण्डेको भनाइ छ । 


भवन निर्माणका लागि रौताहा कन्स्ट्रक्सनले ५ करोड ९९ लाख १६ हजार ९ सय ९६ रुपैयाँ ६४ पैसामा जिम्मा पाएको थियो । ३ तले भवनको भुइँ र पहिलो तला प्रशासनिक काममा प्रयोग गरिएको छ ।

 

खानेपानी, महिला, पुरुष र अपांगता भएकालाई छुट्टाछुट्टै शौचालयसहितको भवनमा स्थानीय प्रशासन, नागरिकता, राहदानी, मुद्दा फाँट तथा कम्प्युटर कक्ष राखिएको छ । त्यस्तै, सभाकक्ष, प्रमुख जिल्ला अधिकारी कक्ष, सहायक प्रमुख जिल्ला अधिकारी, प्रशासकीय अधिकृत कक्ष पनि छन् । 


भवन वरिपरि बरन्डा निर्माण गरेर सेवाग्रहीलाई काम लिन सहज बनाइएको छ । नयाँ भवनमा काम थालेपछि सेवा लिन धेरै सहज भएको सेवाग्रही बताउँछन् । पहिले साँघुरो पूर्वाधारका कारण भीडभाड हुने हुँदा काममा समस्या हुने भए पनि अहिले सहज भएको अर्का सेवाग्रही सुनाउँछन् ।


नयाँ भवन निर्माणसँगै सेवा दिने र लिने दुवैलाई सहज भएको छ । भवनको केही दिनभित्रै औपचारिक उद्घाटन गरेर हस्तान्तरण गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।