close

कमलपोखरीमा विद्यासुन्दर शाक्य र गगन थापाको जुहारी 

कमलपोखरीमा विद्यासुन्दर शाक्य र गगन थापाको जुहारी 

Trulli
ADVERTISEMENT

काठमाडाैं- काठमाडौं महानगरपालिकाले पुरातत्त्व विभाग र काठमाडौं क्षेत्र नम्बर ४ का निवर्तमान सांसद गगन थापालाई पत्राचार गरेको छ । पुरातत्त्व विभागलाई कमलपोखरी पुनर्निर्माणका क्रममा समन्वय नगरेको आरोप उनीहरूमाथि छ ।


महानगरले पोखरीको पुनर्निर्माण गर्दा मौलिकता मासेको चौतर्फी आलोचना भएको थियो । यसअघि विभागले महानगरलाई मौलिकता नमासिने गरी पुनर्निर्माण गर्न पत्र पठाएको थियो । महानगरले पुरातत्त्व विभागले समन्वय नगरेको आरोप लगाएको छ । 

 

काठमाडौं महानगरका प्रशासन विभाग प्रमुख महेश काफ्लेले पुरातत्त्वलाई पत्र नै पठाएर ध्यानाकर्षण गराएका छन् । विभागले समन्वय नै नगरी महानगरलाई पठाइएको भनिएका पत्र एकपक्षीय रूपमा पहिल्यै विभिन्न सञ्चार माध्यमलाई उपलब्ध गराएको उसको आरोप छ ।


काठमाडौं महानगरबाट टेन्डर प्रक्रियामार्फत २ दुई वर्षदेखि कमलपोखरी पुनर्निर्माणको काम भइरहेको थियो । पत्रमा लेखिएको छ, ‘यस प्रकारको समन्वय अभावले कमलपोखरी समयमा निर्माण हुन नसकी खर्चमा समेत बढोत्तरी हुने हुँदा कुनै पनि पत्राचार गर्नुपूर्व समन्वय, छलफल र सहकार्य गर्नुहुन अनुरोध छ ।’ 


काठमाडौं महानगर र वडा नम्बर १ काठमाडौं महानगरपालिकाको नाममा लेखेको पत्र संख्या २०७७÷७८ चलानी नम्बर ७९९ को पत्र प्राप्त गर्नुअघि नै विभिन्न अनलाइनमार्फत सार्वजनिक भएको महानगरको भनाइ छ । 


गगनलाई शाक्यको पत्र 

 

काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यले पनि तत्कालीन संघीय सांसद गगनकुमार थापालाई पत्र लेखेका छन् । पत्रमा कमलपोखरीको विकास तथा सुधारका लागि आफूले गरेका कार्यको विवरण उपलब्ध गराइदिन भनिएको छ । 


‘कमलपोखरी पुनर्निर्माणका सन्दर्भमा तपाईंबाट प्रेषित काठमाडौं महानगर प्रमुखलाई सम्बोधन गरिएको मिति २०७७÷०९÷२६ को पत्र प्राप्त भयो,’ पत्रमा भनिएको छ, ‘संवत् २०७६ असारबाट निर्माण प्रारम्भ भएको कमलपोखरीको डिजाइन तपाईंसँग समेत पटक-पटक भएको छलफल तथा अन्तरक्रियाबाट अन्तिम भई कार्यान्वयनमा आएको प्रस्ट छ ।

 

पोखरीको विकास तथा सुधारमा समेत विगतमा धेरै कार्य गरिएको भन्ने छलफलका क्रममा तपाईंबाटै अभिव्यक्त भएका थिए । तपाईंको पहलबाट विगतमा कमलपोखरी परिसरमा भएका विकास तथा सुधारका कार्यको विवरण उपलब्ध गराई सहयोग गरिदिनुहुन अनुरोध छ ।’ 


काठमाडौं महानगर प्रमुख शाक्यले प्रस्तावित ढाँचा सो क्षेत्रका तत्कालीन संघीय सांसद गगन थापा, प्रदेश सांसद, सो क्षेत्रका पुराना विज्ञ, ज्येष्ठ नागरिक, स्थानीय संघ–संस्था र सरोकारवाला सबैसँग पटक–पटक छलफल गरेर सहमतिमै कमलपोखरी पुनर्निर्माण अघि बढाइएको बताए । 


काठमाडौँ महानगर पुरातात्त्विक तथा धार्मिक महत्त्वका स्मारकको संरक्षण अभियानमा रहेको नगरप्रमुख शाक्यको भनाइ छ । ‘हामीले कमलपोखरी मासेर अन्य संरचना बनाउन खोजेका होइनौँ । कमलपोखरीमा पोखरी नै बनाउन खोजेका हौँ,’ शाक्कले भने, ‘काम गर्ने सिलसिलामा केही कमजोरी भएको रहेछ भने छलफल गरेर अघि बढ्न तयार छौँ ।’

 

कमलपोखरी पुनर्निर्माणका क्रममा त्यस वरपरका भौतिक संरचना हटाउनेलगायत काम गर्दा त्यहाँको क्षेत्रफल अझ बढेको र मौलिकता झल्किने गरी सम्पदाको संरक्षण गरेर कला–संस्कृतिलाई जोड्ने र मौलिकता जोगाउने उद्देश्य राखेको शाक्यले प्रस्ट्याएका छन् ।

 

लामो समयसम्म ढलको रूपमा रहेको कमलपोखरीलाई महानगरले सुन्दर पोखरी बनाउन लागेको प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले बताए । ‘रानीपोखरी ऐतिहासिक सम्पदा हो तर कमलपोखरी ऐतिहासिक पोखरी हो,’ ज्ञवालीले भने, ‘सम्पदा संरक्षण र संवर्द्धन गर्ने कुरामा हाम्रो कुनै कमी रहँदैन । घाँसले भरिएको कमलपोखरीलाई व्यवस्थित गर्दै स्थानीयको समेत सहमतिमा पोखरी पुनर्निर्माणको काममा महानगर अघि बढेको छ ।’