close

सडक बत्ती जडानपछि बेनी सदरमुकाम झिलीमिली

सडक बत्ती जडानपछि बेनी सदरमुकाम झिलीमिली

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दी सदरमुकाम बेनी बजारका सडकमा बत्ती जडान गरिएपछि रातीको समय पनि झिलीमिली हुन थालेका छन् । बेनी नगरपालिकाको वडा नम्बर ८ मा पर्ने सडकमा बत्ती जडान गरिएको हो । 


बजारलाई उज्यालो बनाउने र चोरी, डकैतीजस्ता अपराध नियन्त्रणमा सहयोग गर्ने उद्देश्यले बेनी नगरपालिकाले सडक बत्ती जडान गरेर उज्यालो बनाएको हो ।

 

उज्यालो बजार कार्यक्रमअन्तर्गत वडा नम्बर ८ का विभिन्न बस्तीमा १ सय वटा बत्ती जडान गरिएको वडाध्यक्ष रामकृष्ण बराइलीले जानकारी दिए । 


कालीपुल बसपार्क, पुरानो बजार, डल्लेपीपल, शिक्षा मार्ग, अस्पताल चोक, गणेशटोल, क्याम्पसचोक र न्युरोडको वडा नम्बर ७ को सिमानाको मुख्य सडकमा बत्ती जडान भएको छ । २० वाटको बत्ती बालेपछि रातीको समय सडक उज्यालो हुने गरेको छ । 

 

बत्ती जडानपछि रातीको समय सर्वसाधारणलाई हिँडडुल गर्न सहज भएको र शान्ति-सुरक्षामा सहयोग पुगेको क्याम्पस चोकका रवि शर्माले बताए । क्याम्पस चोकमा कन्ट्रोल स्विच राखिएको छ । 

 

सडक बत्ती जडान गर्न वडा नम्बर ८ को प्रस्तावमा बेनी नगरपालिकाले चालू आर्थिक वर्षमा ३ लाख रुपैयाँ विनियोजन गरेको थियो । बत्ती जडानमा २ लाख ८२ हजार रुपैयाँ खर्च भएको छ । 

 

यसअघि स्थानीयले महसुल बेहोर्ने गरेर टोल सुधार समितिले सडक बत्ती बालेका थिए । नगरपालिकाले ५ वर्षअघि जडान गरेको सोलार बत्ती बल्न छाडेपछि समस्या भएको थियो । 

 

सडक बत्तीलाई दिगो बनाउन मर्मतसम्भार तथा विद्युत् महसुल वडा कार्यालयले बेहोर्ने व्यवस्था मिलाएको अध्यक्ष बराइलीले बताए ।