close

ताङतिङ-दुधपोखरी-मनाङ रुटलाई भर्जिन पदमार्ग बनाउने अभियानमा मादी

ताङतिङ-दुधपोखरी-मनाङ रुटलाई भर्जिन पदमार्ग बनाउने अभियानमा मादी

Trulli
ADVERTISEMENT

पोखरा- कास्कीको मादी गाउँपालिका ऐतिहासिक र पर्यटकीय हिसावले निकै सुन्दर र महत्वपूर्ण छ । गुरुङहरुको आदिम थलो क्होंलासोथर देखि नेपालकै सबैभन्दा होचो स्थानमा रहेको (विश्वकै होचो दावी गरिएको) कपुचे हिमतालसम्म यो पालिकामा पर्छ । 


पर्यटकीय गाउँहरु सिक्लेस, याङजाकोट, ताङतिङ लगायत गाउँहरु पनि यहीँ छ । तर पर्यटकको पाइला त्यसतर्फ खासै लम्किएको छैन । त्यसैले मादी गाउँपालिकाका पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्न ट्रेकिङ्ग एजेन्सीज् एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल टोलीले यहाँ भ्रमण गरेको छ । 


गाउँपालिकाको सहयोग र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा ६ दिनसम्म ताङतिङ, क्ह्रपुडाँडा, क्हाेंलासोथर, ठुलीलेक, कोरी, क्हफुचे ताल, सिक्लेस पदयात्रा मार्गको अध्ययन र अनुसन्धान गरिएको टानले जनाएको छ । ट्रेकको प्रवर्द्धनका लागि टानका प्रतिनिनिधि, गाउँपालिकाका प्रतिनिधि, नेपाल पर्यटन बोर्डका प्रतिनिधि, पत्रकारहरु, पेशागत पथ प्रदर्शक, स्थानीय प्रतिनिधिहरु, पर्यटन व्यवसायीहरुले पदयात्रा गरेका छन् । 


नयाँ पदमार्गको खोजी, अध्ययन र प्रवर्द्धनकै लागि भ्रमण गरिएको टान पोखराका अध्यक्ष सुशिलराज पौडेलले बताए । नेपालको पर्यटनको प्रमुख हिस्सा ओगट्ने पदयात्रा विगत केही वर्षयता जोखिममा परिरहेको छ । सडक लगायत विकास निर्माणका कारण पदमार्ग हराउन थालेका हुन् । त्यसैले नयाँ पदमार्गको खोजी गर्नुपर्ने अवस्था आइसकेको पौडेल बताउँछन् । 

 

‘अन्नपूर्ण क्षेत्र सबैभन्दा राम्रो पदमार्ग हो । तर धेरै ठाउँमा सडक पुग्यो,’ उनले भने, ‘सडक र पदयात्रा पर्यटन सँगै चल्न सक्दैन । हामी नयाँ गन्तब्यको खोजीमा निस्किएका छौं ।’

 

ताङतिङ देखि दुधपोखरी हुँदै मनाङ निस्किने पुरानो भोट जाने बाटोलाई भर्जिन पदमार्गको रुपमा विकास गर्न सकिने उनको प्रस्ताव छ । गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङ धेरै पर्यटनको सम्भावना भएपनि प्रचार र प्रवर्द्धन नहुँदा उचित फाइदा लिन नसकेको बताउँछन् ।