close

४ वर्षदेखि अलपत्र महुरे-फोक्सिङटार सडक 

पालिकाको ताकेतापछि बल्ल तात्यो निर्माण कम्पनी

४ वर्षदेखि अलपत्र महुरे-फोक्सिङटार सडक 

पालिकाको ताकेतापछि बल्ल तात्यो निर्माण कम्पनी

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको महुरे-फोक्सिङटार सडक कालोपत्रेको काममा भइरहेको ढिलासुस्तीका विषयमा स्थानीय सरकारले चासो देखाएको छ । फोक्सिङटार-राजापानी सिमपानी भञ्ज्याङ (२७ किलोमिटर) खण्डको कालोपत्रेको काममा भइरहेको चरम ढिलासुस्तीका विषयमा दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राईले चासो देखाएका हुन् । 

 

गाईघाट-दिक्तेल सडक अन्तरगत महुरे-फोक्सिङटार (४९ किलोमिटर) सडकको टुवा खोलादेखि रेग्मीटारसम्मको खण्ड दिप्रुङ चुईचुम्मा गाउँपालिकाभित्र पर्ने भएकाले ढिलासुस्तीका विषयमा आवाज उठाएको गाउँपालिका अध्यक्ष राईले बताए । 


फोक्सिङटार-राजापानी सिमपानी भञ्ज्याङ कालोपत्रेको काम देवनारायण पवन-मैनाचुली-खाम्पाचे जेभीले गरिरहेको छ । हालसम्म सो खण्डको करिब ६० प्रतिशतको हाराहारीमा भौतिक प्रगति भएको छ ।

 

देवनारायण पवन-मैनाचुली-खाम्पाचे जेभीले ५५ करोड ८७ लाखमा १० साउन, २०७७ भित्र कालोपत्रे पूरा गर्ने शर्तमा ११ साउन, २०७३ मा कालोपत्रे गर्ने सम्झौता गरेको थियो । काममा चरम ढिलासुस्ती भएको भन्दै गाउँपालिका अध्यक्ष राईले निर्माण कम्पनीका प्रतिनिधि कमल सुव्वा, विजय चाम्लिङ लगायतलाई शनिबार फिल्डमै भेटेर कालोपत्रेको काम चाँडो पुरा गर्न निर्देशन दिएका छन् । 


‘हाम्रो गाउँपालिकाको सडकको विषयमा चासो राख्नु हाम्रो दायित्व हो । कालोपत्रेको काममा भइरहेको ढिलासुस्ती अव सह्य छैन,’ गाउँपालिका अध्यक्ष राईले भने, ‘१५ दिनभित्र हाम्रो गाउँपालिकाभित्रको सडकमा थुप्रिएको पहिरो क्लियर गरिसक्नु भनेको छु । बाटो क्लियर गर्ने काम सुरु भएको छ ।’ 

 

ढिलासुस्तीका विषयमा गाउँपालिका अध्यक्ष राईले फिल्डमै पुगेर चासो देखाएपछि निर्माण कम्पनीका प्रतिनिधिले केही समयपछि जिरोप्वइन्ट (फोक्सिङटार)बाट पिचको काम सुरु गर्ने बताएका छन् । 

 

यस्तै, महुरे-फोक्सिङटार सडक खण्ड अन्तरगत महुरेदेखि राजापानीको सिमपानी (२२ किलोमिटर) सडक कालोपत्रेको काम भारत कन्ट्रक्सन-सिद्धी शाही जेभीले गरिरहेको छ । भारत कन्ट्रक्सन-सिद्धी शाहीले २९ असार, २०७७ सम्ममा सम्पन्न गर्ने शर्तमा ३० असार, २०७३ मा महुरे-राजापानीको सिमपानी सडक कालोपत्रे योजनाको सम्झौता गरेको थियो ।

 

 ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको निर्माण कम्पनीको हालसम्म ३५ प्रतिशत मात्र भौतिक प्रगति देखिएको गाईघाट-दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर (डिई) गोपाल खकुरेलले बताए । 


महुरे-फोक्सिङटार सडक कालोपत्रे भएपछि दिक्तेल र गाईघाटलाई जोड्ने छोटो स्थायी बाटो खुल्ने छ । हाल कालोपत्रे भइसक्नुपर्ने सडकमा ठेकेदारको ढिलासुस्तीका कारण अझै पनि हिउँदमा बुङबुङ धुलो र वर्षामा हिलाम्मे हुने गरेको छ । काममा ढिलासुस्ती गर्दै आएको निर्माण कम्पनीले पटक-पटक आफ्नो साइड इन्चार्ज परिवर्तन गर्दै स्थानीयलाई छल्ने गरेको बुईपाका युवा नेता मिलन राईले बताए । 


प्रतिनिधिलाई फिल्डमा पठाएर मुख्य ठेकेदार सम्पर्क बाहिर छन् । सडक कालोपत्रेमा भइरहेको ढिलासुस्तीका बारेमा जनप्रतिनिधि र दलका नेता समेत चुपचाप बस्ने गरेको स्थानीयको गुनासो छ । कालोपत्रे गरेर चिल्ला हुनुपर्ने सडकमा हिलो र धुलोको कारणले यात्रा गर्नै सकस छ ।  

 

गुणस्तरमाथि स्थानीयको प्रश्नै-प्रश्न 

महुरे-फोक्सिङटार सडक कालोपत्रेको गुणस्तरको विषयमा समेत आवाज उठ्ने गरेको छ । महुरे-सिमपानी (राजापानी) खण्डमा गुणस्तरहीन काम भएको भन्दै स्थानीयले २३ पुस, २०७६ मा करिब ३० मिटर ड्रेन भत्काइदिएका थिए । सडकको काममा चरम ढिलासुस्ती भएको, भएका काम पनि गुणस्तहीन भएको र कार्यरत कामदारले वर्षौँसम्म पनि पारिश्रमिक नपाएको विरोधमा स्थानीयले त्यसवेला दुई दिन सडकको काम ठप्प बनाएका थिए । 


हलेसी तुवाचुङ नगरपालिका-११ राजापानीको माटोखानी (साविकको राजापानी-२) मा सव-बेस ओछ्याउनका लागि पाखाबाट ल्याइएको गिटी तथा पाखाकै बालुवालाई ढलानको काममा प्रयोग गरिरहेको भन्दै स्थानीयले गत भदौमा  आवाज उठाएका थिए । 

 

ड्रेन निर्माणका क्रममा पाखाबाट उठाएर ल्याइएको सव-बेस गिटीलाई प्रयोग गरिरहेको पाइएपछि राजापानीका वडाध्यक्ष सन्तोष खत्रीले गत १२ भदौमा रोक लगाएका थिए । सडकको गुणस्तरका बारेमा जनताले पटक–पटक गुनासो गरिरहेको हलेसी तुवाचुङ नगरपालिकाकी उपप्रमुख बिमला राई बताउँछिन् ।