close

जलथले-धौलागिरि आधार शिविर जोड्ने पदमार्ग निर्माण गर्दै अन्नपूर्ण 

जलथले-धौलागिरि आधार शिविर जोड्ने पदमार्ग निर्माण गर्दै अन्नपूर्ण 

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले संसारको सातौं (८,१६७) मिटर अग्लो धौलागिरि हिमालको आधार शिविर जोड्ने नयाँ पदमार्ग पहिचान गरेर पूर्वाधार निर्माण थालेको छ । 

 

जलथले-फगाम-सुवा-मतिचौर-कालीबराह हुँदै रघुगंगास्थित धौलागिरि हिमालको दक्षिणी आधार शिविर जोड्ने पदमार्गमा पूर्वाधार निर्माण सुरु गरेको हो । 


दानाबासीले भेँडाबाख्रा र गाईभैँसीको गोठ लेकबेँसी गराउन प्रयोग गरेको परम्परागत बाटोलाई पर्यटन पदमार्गमा रुपान्तरण गर्न लागिएको गाउँपालिका अध्यक्ष डमबहादुर पुनले बताए । 

 

‘सडक विस्तारसँगै पुराना पदमार्ग र पर्यटकको बसाइ छोटिएकाले नयाँ पदमार्ग पहिचान गरेका हौँ’, उनले भने, ‘गोठालाहरूले प्रयोग गरेको बाटोमा पूर्वाधार तयार पारेर पदमार्गमा रुपान्तरण गर्न थालिएको छ ।’

 

यसअघि पहिचान भएको नारच्याङ हुँदै संसारमै पहिलो पटक आरोहण भएको अन्नपूर्ण प्रथम हिमालको आधारशिविर जोड्ने मौरिस हर्गोज पदमार्गमा पर्यटन विभागले पूर्वाधार निर्माण सुरु गरेको छ । 

 

जलथले हुँदै ५ दिन पैदलयात्रा गरेर धौलागिरि आधारशिविरमा पुग्न सकिने स्थानीयले बताए । गाउँपालिकाले चालू आर्थिक वर्षमा पदमार्गको प्रवेशबिन्दु जलथलेदेखि पदमार्ग निर्माण सुरु गरेको छ । 

 

उपभोक्ता समितिका अध्यक्ष दुर्गादत्त सुवेदीले जलथलेदेखि फगामको चिहानडाँडाको टावरसम्म पदमार्ग निर्माण सुरु भएको जानकारी दिए । उनका अनुसार उकालोमा १.५ मिटर फराकिलो सिँढी चिनेर एक हजार १ सय ३३ मिटर पदमार्ग बनाउन लागिएको छ । 


‘२० सेन्टिमिटर उचाइ र ४५ सेन्टिमिटर चौडाइको सिँढी बनाउने डिजाइन छ’, अध्यक्ष सुवेदीले भने, ‘विभिन्न ठाउँमा ५ वटा चौतारी पनि बनाउने लक्ष्य छ ।’ गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेको जलथले-फगाम पदमार्ग निर्माणमा उपभोक्ताले १ लाख २३ हजार रुपैयाँ बराबरको श्रमदान गर्नुपर्नेछ । 

 

फगाम, सुवा र जलथलेका बासिन्दा पदमार्ग निर्माणमा खटिएका छन् । ढुंगाको सिँढी चिनेर पदमार्ग बनाउन लागिएको हो । गाउँपालिका उपाध्यक्ष केशमाया मगरले गत आर्थिक वर्षमा बजेट विनियोजन भए पनि बन्दाबन्दीका कारण कार्यान्वयन हुन नसकेको योजनालाई यसपालि निरन्तरता दिइएको बताइन् । 


धौलागिरि आधारशिविर पुगेपछि रघुगंगा, अन्नपूर्ण र थासाङ गाउँपालिकाको सीमामा पर्ने कालीबराह हुँदै मुस्ताङ निस्कने अर्को धौलागिरि आइसफल पदमार्ग छ । यो पदमार्गअन्तर्गत पर्ने दानाको मतिचौर बराहमा १ सय ८ धारा निर्माण सुरु भएको छ । धारा निर्माण गर्न गाउँपालिकाले ८ लाख रुपैयाँ विनियोजन गरेको छ । 

 

जनैपूर्णिमाको दिन पूजाआजा र मेला लाग्ने मतिचौर बराहलाई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्ने उद्देश्यले धारा निर्माण गर्न लागिएको उपभोक्ता समितिका सचिव गंगा पुनले बताए । मतिचौर बराहमा जनैपूर्णिमाका दिन पूजाआजा र भाकल गरे मनले चिताएको पुग्ने विश्वास छ ।

 

पदमार्गमा पूर्वाधार निर्माणलाई निरन्तरता दिनुका साथै नक्सा तयार पार्न प्राविधिक टोलीसहित स्थलगत सम्भाव्यता अध्ययन गर्न लागिएको गाउँपालिका अध्यक्ष पुनले बताए । ग्रामीण बस्ती, जनजीवन, वनजंगल, झरना, वन पैदावार, वन्यजन्तु, तालतलैया र अग्ला पहाडबाट हिमालको दृश्यावलोकन गर्न पाउनु यो पदमार्गको विशेषता हो । पूर्वाधार तयार भएपछि पदमार्ग सञ्चालनमा ल्याउने गाउँपालिकाको तयारी छ ।