close

श्रीमान् सहिद भए, पालिकाले ताम्रपत्र थमायो

श्रीमान् सहिद भए, पालिकाले ताम्रपत्र थमायो

Trulli
ADVERTISEMENT

कास्की- कास्कीस्थित रुपा गाउँपालिकाकी खिमादेवी बास्तोलाका श्रीमान् विजयराज बास्तोलाको १६ वर्षअघि तत्कालीन शाही सेनाले हत्या गर्‍यो । 

 

१६ असार २०६१ मा कास्कीको अर्मलामा उनको हत्या भयो । सहिद र बेपत्ता परिवारलाई भेटेर फर्किएका विजय आफैं सहिद भए । खिमालाई आइतबार रुपा गाउँपालिकाले ताम्रपत्र र दोसल्लाले सम्मान गर्‍यो । 

 

सहिदले देखाएको बाटो देशले बिराएकामा उनको दुखेसो छ । १ छोरा र २ छोरी जसोतसो हुर्काइन् । तर, देशमा न सहिदको सपना हुर्कियो, न त संघीयता नै ।

 

त्यहीँकी दुर्गादेवी गुरुङले भर्खरै सेनामा भर्ती भएका लक्का जवान छोरो गुमाइन् । तत्कालीन विद्रोही माओवादीले छोराको हत्या गरेपछि विक्षिप्त बनेकी दुर्गाको मन अझै फर्किएको छैन । उनले पनि सोमबार ताम्रपत्र र दोसल्ला पाइन् ।

 

द्वन्द्वका बेला रुपाभित्र मात्रै १८ जनाले शहादत प्राप्त गरेको तथ्यांक छ । १७ जना अझै घाइते छ भने ४० जना द्वन्द्वबाट पीडित भए । ८ जनाले जेलनेल खेपे । 

 

द्वन्द्वका बेला गरेको योगदानलाई सम्झेर गाउँपालिकाले सहिद, बेपत्ता र द्वन्द्वपीडितको परिवारलाई सम्मानसहित स्वास्थ्य बिमा गरिदिएको छ । अघिल्लो वर्ष नै यो कार्यक्रम गर्ने भनिए पनि कोरोनाका कारण रोकिएको थियो ।

 

द्वन्द्वबाट रुपा गाउँपालिकाले ठूलो क्षति बेहोर्‍यो । दुवै पक्षबाट धेरैको ज्यान गयो । कति अझै पनि अंगभंग छन्’, पालिका अध्यक्ष नवराज ओझाले भने, ‘जसको बलिदानी र योगदानले हामी निर्वाचित भयौँ । उनीहरूलाई सम्मान गर्नु हाम्रो दायित्व हो ।’


६१ परिवारको स्वास्थ्य बिमा निःशुल्क गरिएको उनी बताउँछन् । ‘प्रत्येक परिवारका ५ जनाको दरले १ लाख रुपैयाँ बराबरको बिमा पालिकाले गरिदिएको छ’, उनले भने । द्वन्द्वपीडितलाई आयआर्जनसँग जोड्ने कार्यक्रम बनाइरहेको उनले सुनाए । 


गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनले सहिद परिवारलाई सम्मान गरेकी हुन् । मन्त्री पुनले सहिदा परिवारको दिगो जिविकोपार्जनका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याएको जानकारी दिइन् ।

 

सहिद तथा बेपत्ता परिवारका तर्फबाट खिमादेवी बास्तोलाले राजनीतिक दलका नेताले सहिद तथा बेपत्ताका मुद्दालाई विभाजित गर्ने र भाषणको पात्र गराइरहे पनि गाउँपालिकाले सम्मान गरेकामा खुसी व्यक्त गरिन् ।