close

काली नदीको कटानले बर्सेनि खुम्चिँदै बेनी बजार

काली नदीको कटानले बर्सेनि खुम्चिँदै बेनी बजार

Trulli
ADVERTISEMENT

म्याग्दी– कालीगण्डकी र म्याग्दी नदीको कटान नियन्त्रण गरी म्याग्दी सदरमुकाम बेनी बजार संरक्षण योजना निर्माणमा ढिलाइ भएको छ ।

 

गत बर्खामा कालीगण्डकीमा आएको बाढीले म्याग्दी बेनी, पर्वतको बगरफाँट र राममन्दिर क्षेत्रमा कटान गरेको थियो । जोखिमयुक्त ठाउँमा तटबन्ध निर्माण गर्न ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयअन्तर्गतको रुपाताल एकीकृत विकास परियोजनामार्फत विनियोजन भएको ३ करोड रुपैयाँ बजेट कार्यान्वयनमा ढिलाइ भएको हो ।

 

हिउँद सकिनै लाग्दासमेत बजार संरक्षण र नदी नियन्त्रणको काम सुरु नहुँदा बर्खामा थप कटानको जोखिम बढेको संविधानसभाका निवर्तमान सदस्य रेशमबहादुर बानियाले बताए । बानियाको नेतृत्वमा आइतबार बेनी बजारका बासिन्दाले प्रजिअ उमाकान्त अधिकारीमार्फत बजार संरक्षणको काम तत्काल अघि बढाउन माग गर्दै ज्ञापनपत्र बुझाए ।


‘कालीगण्डकी नदीको दुवैतर्फ एकै पटक संरक्षणको काम सुरु गर्नुपर्नेमा पर्वततर्फ मात्र नदी नियन्त्रणको काम भएको छ’, बानियाले भने, ‘मध्यमाघ सकिन लाग्दासमेत काम सुरु भएको छैन । वैशाखदेखि नदीमा पानीको बहाव बढ्दै जान्छ । समयमै काम नहुँदा योजना कार्यान्वयन नहुने र बर्खामा बाढीले कटान गर्ने जोखिम छ ।’

 

पर्याप्त बजेट विनियोजन नहुँदा बेनी बजार संरक्षण योजनामा ढिलासुस्ती भएको मंगलाघाटका सुवासकुमार श्रेष्ठ बताउँछन् । ‘जोखिमयुक्त सदरमुकाम घोषणा गरेको बेनी संरक्षण योजनामा पर्याप्त बजेट नहुँदा सबै त्रासमा बस्नुपरेको छ’, उनले भने, ‘विनियोजन भएको बजेट पनि समयमा कार्यान्वयन नहुँदा अर्को समस्या थपिएको छ ।’

 

बर्खामासको बाढीले बेनी बजारका केही न केही भाग कटान गर्ने गरेको र प्रत्येक वर्ष संरक्षण कार्य भए पनि गत वर्षदेखि कम बजेट आएको, गत वर्ष गरिएको संरक्षणका काम पनि नदीले बगाएको, यस वर्ष निर्माण कार्य सकिने समय अझै सुरु नभएकाले बेनी बजारमा ठूलो क्षति पु¥याउने सम्भावना रहेको हुँदा सम्बन्धित निकायले समयमै निर्माण कार्य थाल्नुपर्र्ने ज्ञापनपत्रमा उल्लेख छ ।

 

ज्ञापनपत्र बुझाउँदै स्थानीय रामजीप्रसाद सुवेदीले पर्वतको संरक्षण कार्य आधा सकिन लाग्दा म्याग्दीतर्फ भने कुनै काम नहँुदा बेनीबासीमा शंका उत्पन्न भएको बताए । समयमा काम नसक्ने हो भने आउने बर्खामा बेनी बजारबासी रातभर जाग्राम बस्नुपर्ने अवस्था आउने उनको चिन्ता छ ।


 
ज्ञापनपत्र बुझ्दै प्रजिअ अधिकारीले बेनी बजार जोखिममा परेको र त्यसलाई संरक्षण गर्न प्रशासनले आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए । ‘यो ज्ञापनपत्र सम्बन्धित निकाय र मन्त्रालयमा पु¥याउनेछु,’ उनले भने, ‘आयोजनाका सम्बन्धित पक्षसँग पनि काम सुरु गर्न आग्रह गरेको छु’, उनले भने ।

 

रुपाताल एकीकृत विकास आयोजनाका सबइन्जिनियर बद्री भट्टराईले बेनी बजार संरक्षणको कार्य केही दिनमै सुरु हुने जानकारी दिए । ठेक्का आह्वान गरिएको पर्वत र म्याग्दीतर्फ पहिलो चरणमा कम बजेटको पर्वततर्फको काम सुरु भइसकेको उनको भनाइ छ ।

 

‘बेनी बजार संरक्षणका लागि ठेक्का प्रक्रिया पूरा भएको छ । हामीले १ सातभित्र काम सुरु गर्न पत्र काटिसकेका छौँ’, उनले भने, ‘उहाँहरूले ३÷४ दिनभित्र आएर काम सुरु गर्ने बताउनुभएको छ ।’ उनका अनुसार बजार संरक्षणका लागि २ करोड २० लाख रुपैयाँमा रुपैयाँमा कस्सभ निर्माण सेवा काठमाडौंसँग सम्झौता भएको छ ।