close

दिक्तेलमा बन्यो मकै बिउ प्रशोधन प्लान्ट 

दिक्तेलमा बन्यो मकै बिउ प्रशोधन प्लान्ट 

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १ दिक्तेल कोलेबारीमा मकै बिउ प्रशोधन प्लान्ट भवन उद्घाटन गरिएको छ । 

 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ (मकै जोन) खोटाङ र स्थानीय कोलेबारी कृषि तथा सहकारी संस्था दिक्तेलको साझेदारीमा मकै बिउ प्रशोधन प्लान्ट भवन निर्माण गरिएको हो ।


२७ फागुन २०७६ मा सम्झौता गरेर गत ३१ असारमा निर्माण सम्पन्न गरिएको भवन मंगलबार कृषि तथा पशुपक्षी विकास मन्त्रालयका कृषि सचिव डा. योगेन्द्रकुमार कार्कीले उद्घाटन गरे ।


मकैको गुणस्तरयुक्त र स्वस्थ बिउ उत्पादन, प्रशोधन र मागअनुसार बिक्री-वितरण गर्ने उद्देश्यले मकै जोनको ५० प्रतिशत र कृषि तथा सहकारी संस्थाको ५० प्रतिशत लागत सहभागितामा ६३ लाख रुपैयाँ लागतमा बिउ प्रशोधन गर्ने मेसिन सहितको भवन निर्माण गरिएको हो ।

 

५३ फुट लम्बाइ र ३३ फुट चौडाइको १ तले पक्की भवनबाट मकै बिउ प्रशोधन गर्दै वितरण सुरु गरिसकिएको कोलेबारी कृषि तथा सहकारी संस्थाका अध्यक्ष गोपालचन्द्र आचार्यले बताए । 


बिउ प्रशोधन प्लान्ट भवनमा मकै बिउ ग्रेडिङ, बिउ उपचार गर्नेदेखि प्याकिङ गरेर किसानलाई बिक्री–वितरण गर्ने व्यवस्था मिलाइएको छ । बिउ प्रशोधन प्लान्टबाट वार्षिक १० टन प्रशोधित बिउ उत्पादन गरेर बिक्रीवितरण गर्ने लक्ष्य राखिएको कृषि तथा सहकारीले जनाएको छ । 


भवन उद्घाटनअगावै कृषि तथा सहकारीले करिब २ हजार केजी बिउ बिक्री-वितरण गरिसकेको छ । बिउ प्रशोधन प्लान्टमा दिक्तेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर २ सोल्मा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ३ बाम्राङ, दिक्तेल रुपाकोट मझुवागढी वडा नम्बर ४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी वडा नम्बर ५ लफ्याङका किसानबाट उत्पादित मकैलाई खरिद गरी ग्रेडिङ गर्दै प्रशोधन गरिनेछ ।


ग्रेड ‘ए’ र ‘सी’ लाई खानका लागि तथा ‘बी’ ग्रेडको मकै दानालाई बिउका रूपमा प्रयोग गर्न ट्रिटमेन्ट गरिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ (मकै जोन) खोटाङका वरिष्ठ कृषि अधिकृत डा. मणिरत्न अर्यालले बताए । 

 

प्रशोधन प्लान्टमा मकै बिउ उपचारका लागि मकै खोस्ट्याउने, छोडाउने, ग्रेडिङ गर्ने, उपचार गर्ने, प्याकिङ गर्ने उपकरण व्यवस्था गरिएको छ । बिउ उत्पादन गर्ने, प्रशोधन गर्ने र बिक्री वितरण गर्ने प्रयोजनका लागि कोलेबारी कृषि तथा सहकारी संस्थाले दिक्तेलमा १५ वर्षका लागि जग्गा भाडामा लिएर सामूहिक रूपमा मकै खेती लगाउन सुरु गरिसकेको छ ।


‘प्रशोधन प्लान्टमा मकै बिउ ग्रेडिङ, उपचार गरिएपछि किसानलाई बिक्री-वितरण हुन्छ,’ अध्यक्ष आचार्यले भने, ‘मकै हामी आफैं पनि उत्पादन गरिरहेका छौँ । छिमेकी वडाका किसानले उत्पादन गरेको मकै पनि संकलन गरेर बिउ तयार पार्नेछौँ ।’