close

बस्ती स्थानान्तरणको योजना ५ वर्षदेखि अलपत्र 

जोखिममा दलित परिवार, स्थानीय सरकार बेखबर 

बस्ती स्थानान्तरणको योजना ५ वर्षदेखि अलपत्र 

जोखिममा दलित परिवार, स्थानीय सरकार बेखबर 

Trulli
ADVERTISEMENT

गुल्मी–पहिरोको उच्च जोखिममा परेका बस्ती र समुदायलाई स्थानान्तरण गर्ने घोषणा गरिएको पाँच वर्ष पुग्दा पनि हालसम्म योजना कार्यान्वयनमा आएको छैन  । 

मदाने गाउँपालिकाका ३, काफलपाटा र सिमगाउँका ३२ दलित घरपरिवार वर्षौंदेखि पहिरोको उच्च जोखिममा रहे पनि उनीहरूलाई अहिलेसम्म स्थानान्तरण गरिएको छैन ।

२०७२ को भूकम्पपछि पहिरोको कारण उच्च जोखिममा रहेका बस्तीको अध्ययन गरेर स्थानान्तरण थालिएको थियो । तर, ५ वर्षसम्म मदाने र धुर्कोटमा जग्गा खरिद बाहेक अरु केही काम भएको छैन ।

वडाध्यक्ष नारायण घर्तीका अनुसार सिर्सेनीको काफलपाटाका ३० घरमध्ये ११ घर खन्युखर्क र १९ घरपरिवारलाई काफलपाटामै सामूहिक जग्गा खरिद गर्ने काम भएको छ । सिमका २ घर भने उतै छन् ।

अहिले घर निर्माणका लागि पहिलो किस्ता निकासा भएपनि नापी मार्फत कित्ताकाट नभएका कारण काम ठप्प भएको खन्युखर्क एकीकृत वस्ती विकास समिति अध्यक्ष विष्णुबहादुर विकले जानकारी दिए ।

दुई गाउँ हिउँद, बर्खा दुवै समय पहिरोको उच्च जोखिममा छन् । तर, बस्ती स्थानान्तरणको कामले गति नलिएको विक बताउँछन् ।

बस्ती स्थानान्तरण गर्ने स्थानको डिपीआर र भौगर्भिक अध्ययनको काम मदाने गाउँपालिकाले सम्पन्न गरेको छ । भूगर्भविद्ले प्रतिवेदनसमेत दिएकाले स्थानीय तह र कार्यालयहरूबीच समन्वय नहुँदा बाँकी काम ठप्प भएको स्थानीय कृष्ण घिमिरेले बताए ।
 
घर निर्माण र भौतिक संरचनाको कामका विषयमा भवन डिभिजन, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र स्थानीय तह स्पष्ट नभएको घिमिरेको बुझाइ छ । 

बेखबर स्थानीय सरकार

मालिका गाउँपालिका–२ दर्लिङको काशिलाबाँझ पनि बस्ती स्थानान्तरणको सूचीमा छ । सोही गाउँका करिब ३५ दलित घरपरिवार पहिरोको उच्च जोखिममा छन् ।

तर, स्थानीय सरकार कोशिलाबाँझ स्थानान्तरणको विषयमा जानकार छैन । उक्त गाउँमा हिउँदमा खाने पानी अभाव हुन्छ । बर्खामा घर–घरमा पानी पलाएर पहिरोले गाउँनै बग्ने खतरा छ । 

२०७२ साउनमा गाउँनै पहिरोले बगेपछि थुप्रै स्थानीय विस्थापित भए । पानी परे ओतिने ठाउँ छैन । विस्थापित तत्कालीन बेला केही समय खुला चौरमा बसे ।

तर, स्थायी बासका लागि कसैले चासो नदेखाएपछि विस्थापित परिवार घरमै फर्केको स्थानीय दलित अगुवा रवीन्द्र विकको गुनासो छ । 

स्थानीय तह बनेपछि पनि बस्ती स्थानान्तरणको काम केही भएको छैन । वडाध्यक्ष युद्धवीर घर्ती कहिलेकाहीँ कार्यपालिकामा छलफल भएपनि ठोस कार्ययोजना अगाडि नबढेको सुनाउँछन् ।

‘यो वर्ष अधिक वर्षा भएकाले काशिलाबाँझका नागरिकले झनै सास्ती भोगेका छन् । अहिले झन् गाउँ तल र माथिबाट मोटरबाटो निर्माण गरेकाले पानी परे सुत्नै नसक्ने अवस्था छ’, पीडित युद्धविर विश्वकर्मा भन्छन् ।

मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारी आफूहरूलाई बस्ती स्थानान्तरणको विषयमा जानकारी नभएको बताए । अबको कार्यपालिका बैठकमा यस विषयलाई प्रवेश गराउने उनको भनाइ छ ।

जोखिम उस्तै 

धुर्कोट गाउँपालिका–७ वाग्लाको अजमिरका १८ घरपरिवार पनि स्थान्तरणको सूचीमा छन् । उनीहरूको अवस्था पनि घर र अन्य पूर्वाधार निर्माणमै गएर अड्किएको छ । उनीहरूलाई वडाचौरमा जग्गा खरिदको काम गरिएको छ । 

सुरुमा प्रति परिवार २÷२लाख रुपैयाँप्राप्त भएपछि संयुक्त  घडेरीखरिद गरिएको र अहिले घर निर्माणको पहिलो किस्ता आएकाले प्राप्तनिर्माण प्रक्रिया अगाडि बढाइने वडाध्यक्ष हिमप्रसाद पन्थीले जानकारी दिए ।

तर, घर निर्माणको विषयमा पीडित परिवारलाई थाहा छैन । अजमिरका पहिरोपीडित बाबुराम विक खाता खोलेर मात्रै बसेको सुनाउँछन् । केही समय पहिले जग्गा खरिद गर्नेबाहेक केही नभएको उनको गुनासो छ । अजमिरबाट स्थानान्तरण हुने सबै परिवार विक र परियार छन् ।

गुल्मी दरबार गाउँपालिका–१ बलिथुमको चारखुट्टे पहिरोको जोखिममा छ । उक्त स्थानमा अहिले हुमबहादुर कुमालको परिवार मात्रै बस्छ । घर निर्माणका लागि भर्खरै घडेरी खरिद गरेर घर निर्माणको कामथालेको वडाध्यक्ष रामबहादुर पल्ली बताउँछन् । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरेको अध्ययन अनुसार २०७२ को भूकम्पबाट अति प्रभावित र प्रभावित २५ जिल्लाका २ सय ९९ वटा बस्ती अति जोखिममा छन् । यस्तै, भूगर्भविद्ले अति जोखिममा रहेका गुल्मीका ११ वटा बस्तीको भौगर्भिक अध्ययन गरेका थिए । 

तीमध्ये जिल्लाका ४ स्थानीय तहका ५ वटा बस्ती स्थानान्तरणमा परेका छन् । भूगर्भविद्ले मालिका गाउँपालिका, धुर्कोट र गुल्मी दरबार गाउँपालिकाका १/१ र मदाने गाउँपालिकाका २ बस्ती स्थानान्तरण गर्नुपर्ने सुझाव दिएका छन् । तर, स्थानान्तरणको कामले गति नलिएका कारण पहिरो प्रभावित परिवार जोखिम मोलेरै आप्mना घर र गोठमा बसिरहेका छन् ।