close

पूर्वाधार निर्माणले सहज बन्दै धौलागिरि चक्रीय पदमार्ग यात्रा 

पूर्वाधार निर्माणले सहज बन्दै धौलागिरि चक्रीय पदमार्ग यात्रा 

Trulli
ADVERTISEMENT

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका वडा नम्बर ४ स्थित संसारको साताैं (८,१६७) मिटर अग्लो धौलागिरि हिमालको आधारशिविर पदमार्गको यात्रा सहज बन्न थालेको छ । 

 

धवलागिरिको वडा नम्बर ४ मा पर्ने धौलागिरि आधारशिविर हुँदै मुस्ताङको मार्फा जोड्ने यो पदमार्गमा केही वर्ष अघिसम्म जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था थियो ।

 

आधारशिविरसम्म व्यवस्थित पदमार्ग निर्माण भएपछि आउजाउ सहज हुनुका साथै पर्यटक आगमन बढ्न थालेको वडा नम्बर ४ खाम्लाका यामलाल शर्माले बताए । 

 

धौलागिरि आधारशिविरको पर्यटन विकासका लागि गाउँपालिका, संघीय र प्रदेश सरकारको साझेदारीमा पदमार्ग, सूचना केन्द्र र मोबाइल फोन सेवा विस्तार गर्न बीटीएस भवन निर्माण भएको छ । 

 

‘नाउराको भीरदेखि इटली आधारशिविर आधारभूत स्तरको पदमार्गले जोडिएको छ’, शर्माले भने, ‘नयाँ पदमार्ग निर्माणपछि साँघुरो बाटोमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।’

 

पदमार्ग बनेपछि भरिया र हेलिकप्टरको विकल्पमा खच्चरबाट सामान ढुवानी हुन थालेको छ । पर्यटक पैदल यात्रा गरेरै आधारशिविर पुग्न थालेका छन् । 

 

भीर र जंगलको जोखिमपूर्ण ठाउँमा बाटो फराकिलो र सिँढीसहितको पदमार्ग बनाउन गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पछिल्ला २ वर्षमा करिब २ करोड रुपैयाँ लगानी गरेको छ ।

 

२०७५ मा ५० लाख रुपैयाँमा नाउराभीरदेखि सल्लाघारीसम्म र २०७६ मा ४० लाखमा तलित्रेदेखि इटली आधारशिविरसम्म ६ किलोमिटर पदमार्ग निर्माण भएको थियो । 


प्रदेश सरकारले अर्को शीर्षकमा २०७५ मै विनियोजित ५० लाख रुपैयाँबाट मुदी, नाउरा, खाम्ला, घिमलेटी, खिवाङ–देउराली क्षेत्रमा पदमार्ग बनाइएको उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद तिलिजाले जानकारी दिए ।

 

‘स्विस बेसक्यामसम्म खच्चर हिँड्न मिल्ने पदमार्ग बनेको छ’, उनले भने, ‘खोलाहरूमा झोलुंगे पुल र इटली आधारशिविरसम्म सिँढी चिनेर पदमार्ग बनाउन बाँकी छ । यसअघि बनाएको पदमार्ग स्तरोन्नति गर्नुपर्ने देखिन्छ ।’ 

 

गत आर्थिक वर्षमै गाउँपालिकाको ३० लाख रुपैयाँमा बगर, बाँसबोट, सिंकुस, जुरकुस हुँदै मल्कबाङ जोड्ने डाँडाखर्कसम्मको पदमार्ग पनि निर्माण भएको छ ।

 

पर्यटकको तथ्यांक राख्न सूचना र प्राथमिक उपचार सेवा उपलब्ध गराउन इटाली आधारशिविरमा चेकपोस्ट सञ्चालनका लागि भवन निर्माण गरिएको गाउँपालिका अध्यक्ष थमसरा पुनले बताइन् । 

 

आधारशिविरसम्म मोबाइल सेवा विस्तारका लागि बगरको देउरालीमा टेलिकमले बीटीएस टावर स्थापना गर्न गत वर्ष नै भवन निर्माण गरेको अध्यक्ष पुनको भनाइ छ ।

 

संघीय सरकारको पर्यटन मन्त्रालयबाट विनियोजित १५ लाख रुपैयाँबाट २०७५ मा इटाली क्याम्पदेखि स्वीस क्याम्पसम्म ढुंगाको सिँढी चिनेर पदमार्ग बनाइएको थियो । 

 

३१ लाख रुपैयाँ लागत अनुमान गरिएको चोकपोस्ट भवन निर्माण समितिका पदाधिकारीले गाउँपालिकाले पूरा रकम भुक्तानी नदिँदा मर्कामा परेको गुनासो गरेका छन् ।

 

चालू आर्थिक वर्षमा पर्यटन विभागले थप ४ करोड रुपैयाँको ठेक्का प्रक्रिया अघि बढाएको छ । पर्यटन मन्त्रालयले धौलागिरि आधारशिविर र चक्रीय पदमार्गलाई स्थापित पर्यटकीय गन्तव्यको सूचीमा राखेको छ । 


धवलागिरि आधारशिविर पदमार्गमा पूर्वाधार बनाउन पर्यटन विभागले हालै ठेक्का प्रक्रिया अघि बढाएको विघटित प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले जानकारी दिए ।

 

‘पैदलमार्ग बनाउने, पुल हाल्ने, पोर्टर सेल्टर बनाउनेलगायतका काम गर्न बजेट विनियोजन भएको हो’, उनले भने, ‘मुदी हुँदै आधारशिविरका साथै मुस्ताङको मार्फासम्मको पदमार्गलाई स्तरोन्नति गरेर पर्यटक सहज रूपमा आउजाउ गर्न मिल्ने बनाउन लागिएको हो ।’

 

बगरको प्राकृतिक तातोपानी कुण्ड संरक्षण गर्न प्रदेश सरकारको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सामाजिक विकासमन्त्री नरदेवी पुनको सिफारिसमा ६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ । 

 

जापानिज आधारशिविरमा म्याग्दी खोलामाथि ४६ मिटर र इटली आधारशिविरमा अर्को ३ सय ५० मिटर लामो झोलुंगे पुल निर्माणका लागि सर्वेक्षण गरिएको छ । थप १५ ठाउँमा पुल र स्विस क्याम्पबाट जापानिज क्याम्पसम्म पदमार्ग निर्माण गर्नुपर्नेछ । 

 

बगर, नाउरामा होमस्टे तथा सल्लाघारी, दोभान र इटली आधारशिविरमा चिया पसल सञ्चालन हुन थालेका छन् । आवास सुविधाका लागि होटल सञ्चालन नहुँदासम्म यो पदमार्गमा क्याम्पिङ टे«किङ गर्नुपर्ने हुन्छ ।

 

मनोरम हिमशृंखलासँगै अग्ला झरना, जंगलको एकान्त वातावरण, नजिकै देखिने झारल, कस्तुरी मृग, डाँफे, तालतलैया, हिमनदीको दृश्य धौलागिरि चक्रिय पदमार्गको मुख्य आकर्षण हो ।