close

हिउँले छपक्कै रुकुम पूर्वका लेक

हिउँले छपक्कै रुकुम पूर्वका लेक

Trulli
ADVERTISEMENT

रुकुम पूर्व- रुकुम पूर्वमा शुक्रबार राती पानी परेसँगै डाडाँकाँडा हिउँले सेताम्य भएका छन् । रुकुम पूर्वको लेकाली भेगमा पानीसँगै हिउँ परेको हो । 

 

यस वर्षको हिउँदमा पहिलो पटक पानी र हिउँ परेको छ । लामो समयसम्म पानी र हिउँ नपरेकालो आकाशे पानीको भरमा रहेको हिउँदे बालीमा राहत मिलेको छ । 

 

रुकुम पूर्वका ३ गाउँपालिकामध्ये भूमे र सिस्ने गाउँपालिकाका बेँसी, बस्तीहरूमा यस पटक हिउँ परेको छैन । १४ वडा रहेको पुथाउत्तरगंगा गाउँपालिकामा भने वडा नम्बर १, २ का बस्तीसम्म हिउँ परेको छ भने भूमे, पुथा र सिस्ने गाउँपालिकाका बस्तीमा पानी परेको छ । ३ वटै गाउँपालिकाको लेकाली भेग हिउँले भरिभराउ भएको छ । 

 

बेँसीमा पानी र लेकाली क्षेत्रमा हिउँ परेकाले जनजीवन प्रभावित बनेको पुथाउत्तरगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाक्षेत्रीले जानकारी दिए । सिँचाइको सुविधा नभएको रुकुम पूर्वमा हिउँदे अन्नबालीलाई राहत मिलेको अधिकृत बुढाक्षेत्रीले बताए । 

 

पानीसँगै हिउँ परेपछि किसान बाली सप्रने आशले खुसी भएका छन् । लेकाली क्षेत्रका बस्तीका घरआँगन, बारी, चौतारो तथा वनजंगल हिउँले ढाकिएका छन् । 

 

हिउँदे बालीका लागि मलभन्दा जलको आवश्यकता रहेको भूमे गाउँपालिका वडा नम्बर २ गाबाङका स्थानीय जुनकुमार रोका मगरले बताए । 

 

‘पानी परेपछि हिउँदे बालीको राम्रो उब्जनी हुने र बर्खे बालीका लागि पनि माटो मलिलो बनाउँछ । बर्खे बालीको उब्जनीमा यसले सहयोग गर्छ,’ रोकाले भने । किसानले आफ्ना बारीमा गहुँ, जौ लगाएका छन् । 

 

सुरक्षाको पूर्वतयारी 


लेकाली क्षेत्रका सबैतिर बाक्लो हिमपात र गाउँमा चिसोले गर्दा जनजीवन कष्टकर बनेको छ । पशुचौपाया गोठभित्र राखिएको छ । 

 

हिमपातपछि समस्यामा परिन्छ भनेर सर्वसाधारणले पहिल्यै तयारी गरेका हुन्छन् । बारी तथा काल्नाको हरियो घाँस काटेर सुकाएकाले जाडोमा त्यही घाँस पशुचौपायालाई दिने गर्छन् ।

 

जाडोका लागि दाउराको जोहो पहिल्यै हुन्छ ।