close

सरकारी तथा निजी व्यक्तिको सडक मिच्ने मोह

सडक सीमा संरक्षण गरिदिन स्थानीय तहलाई पत्राचार 

सरकारी तथा निजी व्यक्तिको सडक मिच्ने मोह

सडक सीमा संरक्षण गरिदिन स्थानीय तहलाई पत्राचार 

Trulli
ADVERTISEMENT

खोटाङ- सडक डिभिजन हर्कपुर ओखलढुंगाले सडक तथा सडकको सीमा संरक्षणका लागि ५ स्थानीय तहलाई गुहारेको छ । 


सडक विभागको स्वीकृति नदिई जथाभावी मेसिन प्रयोग गरेर राजमार्गमा संरचना निर्माणको काम भइरहेको भन्दै सडक डिभिजन हर्कपुरले ओखलढुंगा, खोटाङ र सोलुखुम्बुका स्थानीय तहलाई सडक तथा सडकको सीमा संरक्षणका लागि सहयोगको आग्रह गरेको हो । 


घडेरी सम्याउने, घर-टहरा बनाउने, एक्सेस सडक बनाउने, विद्युत्का हाइटेन्सनको टावर बनाउने नाममा सडक मिचिने क्रम बढेपछि कार्यालयले स्थानीय निकाय गुहारेको हो ।

 

सिद्धिचरण राजमार्गअन्तर्गत हर्कपुर-ओखलढुंगा-सल्लेरी-फाप्लु सडक, हिलेपानी-जयरामघाट र हलेसी-दिक्तेल सडक तथा सडकको सीमा संरक्षणका लागि ओखलढुंगाको सिद्धिचरण नगरपालिका र मानेभन्ज्याङ गाउँपालिका, खोटाङको हलेसी तुवाचुङ नगरपालिका र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका तथा सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकालाई पत्राचार गर्दै सहयोगका लागि आग्रह गरेको हो । 

 

सिद्धिचरण राजमार्ग, हिलेपानी-जयरामघाट र हलेसी-दिक्तेल सडकको सीमा केन्द्ररेखादेखि दायाँ-बायाँ १५÷१५ मिटर गरी ३० मिटर रहेको उल्लेख गर्दै सडक डिभिजनले सडक विभागको स्वीकृति लिएर मात्र सार्वजनिक सडक तथा सडक सीमामा घर-टहरा, प्रवेशद्वार, शालिक, घडेरी, सडकलगायत संरचना निर्माणको काम गर्ने व्यवस्थाका लागि सहयोग मागेको जनाएको छ ।


मध्यपहाडी लोकमार्गमा पर्ने हिलेपानी-जयरामघाट र हलेसी-दिक्तेल सडकको केन्द्रबाट दायाँ-बायाँ ३१-३१ मिटर सीमा कायम गरिएको अवस्थामा सडक डिभिजनले भने सडकको केन्द्रबाट दायाँ-बायाँ १५-१५ मिटर सिमा उल्लेख गरेर संरक्षणका लागि स्थानीय सरकारलाई पत्राचार गरेको हो ।


सडक डिभिजनको पत्रले मध्यपहाडी लोकमार्गको सीमा केन्द्रबाट दायाँ-बायाँ ३१-३१ मिटर मान्ने वा १५-१५ मिटर मान्ने भन्ने अन्योल सिर्जना गरेको हलेसी तुवाचुङ नगरपालिका प्रमुख इवन राईले बताए । 

 

सडक डिभिजनका कामु डिभिजन प्रमुख अरुणकुमारलाल कर्णले पठाएको पत्रमा सडकको सीमा मिचेर जथाभावी संरचना निर्माण गर्दा निस्केको ढुंगामाटो तथा अन्य सामग्री लामो समयसम्म सडकमा छाड्ने र सडकको नाली पुर्ने इत्यादिले गर्दा यातायात सञ्चालन गर्न-गराउन कठिनाइ भएको बताइएको छ ।


यसले सडकमा सवारी दुर्घटना बढ्न सक्ने सम्भावना देखिएको उल्लेख छ । पत्रमा सार्वजनिक सडकको आवागमनमा बाधा पुर्‍याउने किसिमले छाडा चौपाया, निर्माण सामग्री, दाउरा, गाडी पार्किङ गर्नेलगायतलाई रोक्न, कसैलाई कुनै कामका निम्ति सार्वजनिक सडक वा सडक सीमा खन्नु वा भत्काउनुपरे आवश्यकता तथा औचित्यका आधारमा धरौटी लिएर सडक विभागले स्वीकृत दिन सक्ने प्रावधान रहेकाले सोहीबमोजिम काम गरी सहयोग गर्न भनिएको छ । 

 

‘सडकको भारवहन क्षमता प्रतिएक्सल १०.२० मेट्रिक टन भएकाले सडक सतहलाई प्रतिकूल प्रभावबाट जोगाउन सवारीमा लोडअनुसारको थप एक्सल हुनुपर्ने देखिन्छ,’ सडक डिभिजनले भनेको छ, ‘सिद्धिचरण राजमार्ग तथा अन्य राजमार्ग १ लेनको मात्र रहेकाले ओभरलोड बोकेका मालवाहक गाडी आउजाग गर्दा सडकको सतह तथा नालीमा प्रतिकूल प्रभाव देखिएकाले यातायात व्यवस्था विभागबाट स्वीकृत मालवाहक सवारी साधनको भारवहन नियमसम्बन्धी निर्देशिकाअनुसार ओभरलोड मालवाहक सवारीसाधन नियन्त्रणमा सहयोग गरिदिन अनुरोध छ ।’


सडक डिभिजनले सुनकोसी पुल (घुर्मी उदयपुर-हर्कपुर-ओखलढुंगा) र दूधकोसी पुल (जयरामघाट-ओखलढुंगा-खोटाङ जोड्ने) को ४ किल्लाबाट ५ सय मिटर तल÷माथिसम्म नदीजन्य निर्माण सामग्री संकलन र उत्खननलाई पूर्ण रूपमा बन्द गर्न आग्रह गरेको छ । 

 

सडक तथा सडकको सीमा संरक्षणका लागि सडक डिभिजनले सार्वजनिक सडक ऐन, २०३१ को प्रतिलिपिसहित स्थानीय सरकारलाई पत्र पठाएको छ ।