close

चियापसलले जन्माएकी नेतृ

चियापसलले जन्माएकी नेतृ

Trulli
ADVERTISEMENT

भक्तपुर– भक्तपुर मुलुककै सबैभन्दा सानो जिल्ला हो । अन्य जिल्लाको तुलनामा यहाँ थोरै संख्यामा मात्रै स्थानीय तह छन् ।


२ पुराना र २ नयाँ गरी ४ वटा स्थानीय तह छन् । सांस्कृतिक रूपमा सम्पन्न स्थानीय तहको नामकरण पनि सोहीबमोजिम भएका छन् । भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक अनि चाँगुनारायण नगरपालिका ।

 

भक्तपुर नगरपालि जिल्लाको मात्रै नभई नेपालकै सानो नगर हो । चुनावी क्षेत्रमा आधारमा भक्तपुरलाई २ क्षेत्रमा विभाजन गरिएको छ । सूर्यविनायक र मध्यपुर थिमि क्षेत्र नम्बर १ मा पर्छ भने चाँगुनारायण र भक्तपुर क्षेत्र २ निर्वाचन क्षेत्रमा पर्छन् ।

 

जिल्लाभित्रका स्थानीय तहको विकास निर्माणको अनुगमन गर्न जिल्ला समन्वय समिति क्रियाशील छ । यसको उपप्रमुखमा सरिता कुवँर रहेकी छन् ।

 

को हुन् उपप्रमुख कुँवर


५६ वसन्त पार गरेकी उपप्रमुख कुँवरको जन्म २०२१ साउन ३१ गते ललितपुरको इमाडोलमा भएको हो । कक्षा ९ सम्म अध्ययन गरेकी उनले ७ कक्षामा हुँदा नै सामाजिक संस्थामा काम गर्न थालेकी थिइन, जतिबेला १४ वर्षकी मात्र थिइन् ।

‘हजुरआमा पञ्चायती व्यवस्थाकी कट्टर समर्थक नेतृका रूपमा परिचित हुनुहुन्थ्यो । उहाँको सोही स्वभावका कारण म पनि राजनीतिमा प्रवेश गरेँ,’ उनी भन्छिन् ।


उनले आमा मिलन केन्द्र नामक संस्थामा परिवार नियोजन अस्थायी साधनको जनचेतनासम्बन्धी काम गरिन् । ‘मेरो जिम्मेवारी व्यवस्थापनको थियो । अन्य ५ जना साथीहरूलाई मेरो जिम्मेवारीमा काम गराउनुपथ्र्याे’, कुँवरले भनिन् ।

 
सोही संस्थामा काम गर्दा समाजसेवातिर आकर्षण बढेको उनको अनुभव छ । तर, त्यतिबेलासम्म उनले राजनीतिमा प्रवेश गर्ने सोचेकी थिइनन् ।


१९ वर्षको उमेरमा उनको विवाह भयो । माइती जिल्ला छाडेर भक्तपुर आइपुगिन् । तत्कालनी गुण्डु गाविस नजिकै विवाह भयो । सुरुका २ वर्ष घरायसी काम सम्हालेकी उनले किराना पसल सञ्चालन गरिन्, जहाँ दैनिक उपभोग्य सामग्री मात्रै होइन, चियासमेत पाइन्थ्यो ।

 

चिया पसलबाट राजनीतिको यात्रा


उनको पसलमा चिया नपिउने व्यक्ति सायद कमै होलान् । सेवाग्रहीदेखि कर्मचारीसम्म र कार्यकर्तादेखि नेतासम्म उनको पसलमा चिया पिउन पुग्थे ।

 

चिया गफसँगै भएका भलाकुसारीले उनले जनसम्पर्क बढाउन मात्रै होइन, राजनीतिलाई नै बुझ्ने थालिन् । त्यसैबाट विभिन्न संस्थामा आबद्ध हुन थालेको कुँवर बताउँछिन् ।

 

‘छोरीले पढ्नुपर्छ भन्ने मान्यता कमै थियो । विद्यालय जाने महिलाको संख्या न्यून हुन्थ्यो । विभिन्न संस्थामा आबद्ध हुने मौका पाएँ । महिला समूहसँगै स्वयंसेवीको रूपमा काम गरेँ । सोही कामबाट मेरो यात्रा राजनीतितिर मोडियो,’ उपप्रमुख कुँवरले विगत स्मरण गरिन् ।

 

यसरी भयो भक्तपुरको विकास


उपप्रमुख कुँवरका अनुसार स्थानीय तह आएपछि भक्तपुरको विकास क्रमशः हुँदै गएको हो । कुनै नगरको विकास तीव्र भएको छ भने कुनै सन्तोषजनक ।

 

एउटै रणनीति लिएको, एकै पार्टीको बहुमत भएकाले नगरको विकास निर्माण तीव्र हुन गएको उनको बुझाइ छ । भक्तपुर नारायणमान बिजुक्छेको गृहजिल्ला हुनुका साथै त्यहाँ नेपाल मजदुर किसान पार्टीको वर्चस्व रहँदै आएको छ ।

विकास निर्माणका आधारमा क्रमशः सूर्यविनायक तीव्र, चाँगु राम्रो र मध्यपुर सन्तोषजनक रहेको उनी ठान्छिन् ।

 
भक्तपुर नगरपालिकामा भने जिल्ला समन्वय समितिलाई पस्न बन्देजसरह नै छ । ‘फरक विचारधार बोकेको भएकाले होला, हामीलाई त्यहाँ पस्न स्वीकृति दिइएको छैन’, उनले भनिन्, ‘हामीले बोलाएको तालिममा पनि आउनुहुन्न । तर, वार्षिक समीक्षाका दिन भने आउनुभएको छ ।’

 

महिलाका गुनासा बढी


साढे ३ वर्षयता महिलाका गुनासा धेरै आउने गरेको उनले सुनाइन् । ‘कागजी रूपमा महिलालाई संविधानमा धेरै व्यवस्था गरिएको छ’, कुँवर भन्छिन्, ‘तर व्यावहारिक रूपमा कार्यान्वयन हुन सकेको छैन ।’

 
एकल महिलाहरू धेरै समस्यामा परेको उनी बताउँछिन् । आफू महिला भएकै नाताले पनि उनीहरूका गुनासा धेरै आएको उनको अनुभव छ । ‘दैनिकजसो ८ वटा गुनासा आउँछन् । तीमध्ये अधिकांश पीडित महिलाका हुने गरेका छन् । यहाँ आएपछि महिला कति समस्या परेका रहेछन् भन्ने बुझ्न सकेँ,’ कुँवरले भनिन् ।


भावी योजना ?


अबको डेढ वर्षपछि पुनः समाज सेवाको क्षेत्रमा काम गर्ने उनको योजना छ । ‘जिल्ला खानेपानी महासंघ, महिला स्वास्थ्य स्वयंसेविकामा कार्यवाहक व्यक्ति राखेर बिदामा छु । सोही क्षेत्रमा गएर काम गर्ने योजना छ’, उपप्रमुख कुँवरले भनिन् ।