close

रघुगंगाबासीलाई रगतको शुल्क नलाग्ने 

रघुगंगाबासीलाई रगतको शुल्क नलाग्ने 

Trulli
ADVERTISEMENT

म्याग्दी– म्याग्दीको बेनी अस्पतालमा उपचारका लागि आउने रघुगंगा गाउँपालिकाका बासिन्दालाई रगतको शुल्क नलाग्ने भएको छ । 

 

बेनी अस्पताल परिसरमा रक्तसञ्चार केन्द्र सञ्चालन गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा म्याग्दी र रघुगंगा गाउँपालिकाबीच निःशुल्क रगत सुविधा उपलब्ध गराउने सम्झौता भएको हो । 

गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी र रेडक्रसका शाखा सभापति लेखबहादुर हमालले सम्झौतापत्रमा हस्ताक्षर गरे । बेनी अस्पतालमा उपचारका लागि आउने रघुगंगाबासीलाई रक्तसञ्चार केन्द्रले निःशुल्क रगत उपलब्ध गराउने र गाउँपालिकाले एकमुष्ट वार्षिक १ लाख रुपैयाँ रेडक्रसलाई दिने सम्झौता भएको छ । 

 

रगत निःशुल्क पाइने भए पनि परीक्षणका लागि भनेर शुल्क लिने गरिएको छ । रक्तसञ्चार केन्द्रमा नभएको रक्त समूहको रगत आवश्यक पर्ने बिरामीका लागि रेडक्रसले स्वयंसेवी रत्तदाता खोजेर व्यवस्था मिलाउनेछ । २०७८ पुस मसान्तसम्मका लागि १ वर्षे सम्झौता भएको छ । अन्य पालिकाहरूसँग पनि सम्झौताको तयारी गरिएको रेडक्रसका शाखा सभापति हमालले बताए ।

 

गाउँपालिकाले निःशुल्क रगत पाउने व्यवस्था मिलाएपछि बेनी अस्पतालमा उपचारका लागि आउने रघुगंगाबासीलाई सुविधा पुग्ने प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।