close

बैतडीका २ गाउँपालिकाका विद्यालयमा पठनपाठन सुरु

बैतडीका २ गाउँपालिकाका विद्यालयमा पठनपाठन सुरु

Trulli
ADVERTISEMENT


बैतडी - कोरोना भाइरसको प्रकोप कायमै रहेको अवस्थामा बैतडीका २ स्थानीय तहले विद्यालय सञ्चालन गरेका छन् ।जिल्लाको शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाले आइतबारदेखि विद्यालय सञ्चालन गरेका हुन् ।

 

कोभिड– १९ का कारण लामो समयदेखि विद्यालय सञ्चालन नहुँदा बालबालिकामा असर परेकाले पढाइ सुरु गरिएको शिवनाथ गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले जानकारी दिए । गाउँपालिकामा केही दिनअघि बसेको बैठकको निर्णयअनुसार आइतबारदेखि पालिकाभरिका विद्यालय सञ्चालनमा आएका उनले बताए ।


क्वारेन्टाइन तथा आइसोलेसन बनाइएका विद्यालयलाई निःसंक्रमीकरण र सरसफाइ  गरेर विद्यालय सञ्चालन गरिएको उनले जानकारी दिए । शिवनाथ गाउँपालिकाभरिका ३७ वटा सामुदायिक विद्यालयमा पठनपाठन सुरु भएको अध्यक्ष साउद बताउँछन् ।


यस्तै, पञ्चेश्वर गाउँपालिकाले पनि विद्यालय सञ्चालन गरेको छ । लामो समयसम्म विद्यालय बन्द हुँदा शैक्षिक गतिविधिमा असर पर्ने देखिएपछि  आइतबारदेखि विद्यालय सञ्चालन गरिएको गाउँपालिका उपाध्यक्ष बीना भट्टले जानकारी दिइन् ।  उनले भनिन्, ‘गाउँपालिकाभरिका क्वारेन्टाइन र आइसोलेसन बनाइएका विद्यालयहरूमा निःसंक्रमीकरण र सरसफाइ गरेपछि पढाइ सुरु भएको छ ।’ 


गाउँपालिकाभरिका ३५ सामुदायिक विद्यालयमा पठनपाठन सुरु भएको उपाध्यक्ष भट्ट बताउँछिन् । शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा अहिले कोरोनाका सक्रिय संक्रमित छैनन् । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिएको उनको दाबी छ । जिल्लाका अन्य स्थानीय तहले पनि विद्यालय सञ्चालनका लागि योजना बनाइरहेको बताएका छन् । 


दशरथचन्द नगरपालिकाले पनि यसै असोज दोस्रो सातादेखि विद्यालय सञ्चालन गर्ने भएको छ । अहिले विकल्पको रुपमा बैतडीका कुनै पनि ठाउँमा इन्टरनेट सेवाको सहज पहुँच नभएकाले बढी विद्यार्थी भएका विद्यालयमा विद्यार्थीहरूको रोल नम्बरका आधारमा जोर–बिजोर प्रणाली कायम गरी पठनपाठन सञ्चालन गरिनेछ ।


यस्तै, कम विद्यार्थी भएका विद्यालयहरूमा सबैको उपस्थितिमा पढाइ सञ्चालन गरिने नगरपालिकाले जनाएको छ । अध्यापनलाई सहज बनाउन विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा सरोकारवालाहरूबीच छलफल गरी सोहीअनुरुप व्यवस्थापन गरिने दशरथचन्द नगरपालिका–१ स्थित मणिलेक माविका प्रधानाध्यापक केशवदत्त भट्टले बताए ।    असोजदेखि विद्यालय सञ्चालन भए पनि किताको कोर्ष पूरा गर्न सकिने उनको बुझाइ छ ।


जिल्लाका अन्य पालिकाहरू पनि विद्यालय सञ्चालन तयारीमा रहेको सम्बन्धित पालिकाहरूले जनाएका छन् । क्वारेन्टाइन राखिएका विद्यालयहरूमा सरसफाइको काम भइरहेको बताइएको छ ।