close

मादी गाउँपालिका केन्द्र विवादः लेखा समितिले माग्यो गाउँसभा

मादी गाउँपालिका केन्द्र विवादः लेखा समितिले माग्यो गाउँसभा

Trulli
ADVERTISEMENT

कास्की– कास्कीको मादी गाउँपालिकाको केन्द्र विवाद समाधान गर्न सार्वजनिक लेखा समितिले गाउँसभा बोलाउन माग गरेको छ ।

 

अघिल्लो साता पालिकाको सिफारिसमा प्रदेशले बेतेनी केन्द्र तोक्न केन्द्र सरकारसँग आग्रह गरेको थियो । त्यसपछि स्थानीयले अव्यावहारिक रूपमा केन्द्र सार्न लागिएको भन्दै तत्काल निर्णय फिर्ता माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

 

अहिलेसम्म पनि पालिका कार्यालय ठप्प छ । केन्द्र विवादको समस्या समाधान गर्न पालिकाको सार्वजनिक लेखा समितिले गाउँसभा बोलाउन माग गरेको हो ।

 

‘कार्यालय जता लगे पनि हुन्छ । तर, निर्णय गर्ने अधिकार गाउँसभालाई दिनुपर्छ’, समिति संयोजक सरोज केसीले भने, ‘पालिकामै सहमति नभएको कुरा प्रदेश सरकारमा पठाउनु गलत छ । त्यो सिफारिस फर्काएर गाउँसभामा पेस गरिनुपर्छ ।’ गाउँसभाबाट सकेसम्म सर्वसम्मत र नभए बहुमतकै आधारमा निर्णय लिन सकिने उनको भनाइ छ ।

 

गाउँपालिकाले ४ वटा विकल्प दिएर प्रदेश सरकारलाई सिफारिस गरेको थियो । पहिलो प्राथमिकतामा पठाइएको बेतेनीलाई केन्द्र बनाउन सकिने निर्णयसहित प्रदेशले संघमा पठाएको हो । त्यसपछि हाल कार्यालय रहेको याङजाकोटका स्थानीयले विरोध गरे । उनीहरूले पालिका कार्यालय तोडफोडसमेत गरे ।

 

लेखा समितिले आइतबार विज्ञप्ति जारी गरी केन्द्र सार्ने विवादपछि उत्पन्न असहज परिस्थिति समाधान गर्न सर्वदलीय बैठक बोलाउन पनि माग गरेको छ । तालाबन्दीले ६ दिनदेखि दैनिक कामकाज रोकिएका छन् ।

 

गाउँपालिका केन्द्र निर्धारण विषय निर्वाचित भएको मितिले सुरुको ६ महिनाभित्र सामान्य बहुमत र त्यसपछिको निर्धारण दुई तिहाइको बहुमतले पारित हुनुपर्ने व्यवस्था छ । केसीले समस्या समाधानका ७ वटा विकल्प अघि सारेका छन् ।

 

उनले कर्मचारीलाई राजनीतिक चपेटामा नपारी दैनिक कार्य सञ्चालन सहज गराउन माग गरे । स्थानीय तहको पुनस्र्थापनापछि कास्कीका साविक पार्चे, नामार्जुङ, थुमाकोडाँडा, कालिकाका केही वडा, सिल्दजुरे, मिजुरेडाँडा, भाचोक, सैमराङ, माझठानाका केही वडा र हंसपुरका केही वडा समेटेर बनेको मादी गाउँपालिका १२ वडा छन् ।