close

आफ्नै भवन बनाउँदै पोखरा महानगर

हाकिमलाई छुट्टै घर

आफ्नै भवन बनाउँदै पोखरा महानगर

हाकिमलाई छुट्टै घर

Trulli
ADVERTISEMENT

कास्की– पोखरा महानगरपालिकाले नयाँ प्रशासकीय भवन निर्माण प्रक्रिया सुरु गरेको छ । यसै वर्ष काम गर्न २ करोड रुपैयाँ विनियोजन गरेर निर्माण थालिएको हो । महानगरको न्यूरोडमा रहेको आफ्नै लालपुर्जाको जग्गामा बजेट रकमान्तर गरेर भवन बनाउन लागिएको हो ।

आइतबार भएको ८ औं नगरसभामा बजेट रकमान्तरका लागि प्रस्ताव लगिएको छ । भवनका लागि डीपीआर बनिसकेको छ । ‘ठूलो महानगर भएपछि काम पनि धेरै हुन्छ । धेरै काम गर्न भवन ठूलो चाहियो’, नगरप्रमुख मानबहादुर जिसीले भने, ‘अहिलेको भवन साँघुरो छ । त्यसैले विकल्पको खोजी गरिएको हो ।’

सुरुमै पोखरा वडा नम्बर १२ को रामघाटस्थित पशु सेवाको जग्गामा एकीकृत भवन बनाउने तयारी थियो । तर, जग्गा नपाएपछि ठाउँ–ठाउँमा कार्यालय खडा गरिएको छ । 

एउटा ढोकाबाट छिरेपछि काम सकेर निस्कने संरचना बनाउने दाबी गरिरहेको महानगरले जथाभावी खोलेका कार्यालयबाट नागरिकलाई झन् सास्ती भएको छ । 

महानगरको सामाजिक विकास महाशाका सिर्जना चोकमा छ । कृषि महाशाखा बिरौटा, शिक्षा महाशाखा ड्यामसाइड, स्वास्थ्य महाशाखा नयाँबजारमा छ । अरू विभिन्न कार्यालय विभिन्न ठाउँमा छन् ।

पोखरामा नगरप्रमुख जिसीले कार्यभार सम्हालेपछि पहिलो निर्णय नै एकीकृत भवन निर्माण गर्ने घोषणा गरेका थिए । हालसम्म जग्गा प्राप्ति प्रक्रिया पनि थालिएको छैन । 


आइतबारको नगरसभाबाट २५ करोड रुपैयाँभन्दा बढी रकम रकमान्तर गरिएको छ । रातो किताबमा परेका योजना कार्यान्वयनमा समस्या देखिएपछि अर्को योजनामा रकमान्तर गरिएको हो ।

रकमान्तर गरिएको रकम बहुवर्षीय ठेक्काबाट तानिएको छ । २४ करोड ४ लाख रुपैयाँ बहुवर्षीय ठेक्का र १ करोड २५ लाख भइपरी आउने चालू खर्चबाट रकमान्तर गरिएको हो ।

रकमान्तर भएको बजेटबाट ३ करोड रुपैयाँ बैदाम–पामे सडकमा विनियोजन गरिएको छ भने प्रकोपबाट क्षति भएका संरचना मर्मत गर्न २ करोड, सिल्ट्रेसन ड्याम मर्मतका लागि २ करोड, सडक बत्ती राख्न २ करोड र फिर्ता खर्चका लागि ३ करोड रुपैयाँ छुट्याइएको छ ।

कोभिडका बेला काम गर्ने स्वास्थ्यकर्मीलाई जोखिम भत्ता दिन १ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । म्याचिङ फण्डका लागि १ करोड २६ लाख, योजनाको भेरियसन र थप गर्न २ करोड ६८ लाख, प्रमुख प्रशासकीय अधिकृतको निवास बनाउन २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । 

ल्यान्डफिल साइट जाने बाटो निर्माणका लागि १ करोड, योजना कार्यान्वयनमा पुँजीगत खर्चका लागि १ करोड रुपैयाँ छुट्याइएको छ । पुँजीगत खर्चको आकार बढाउन रकमान्तर गरिएको प्रमुख प्रशासकीय अधिकृत महेश बरालले बताए ।

‘बजेट खर्च कम हुने देखियो । काम नै नहुने योजनामा अल्झिनुभन्दा जसले काम गर्छ, उतै बजेट दिए आवश्यक्ता पनि पूर्ति हुन्छ, काम पनि राम्रो हुन्छ’, उनले भने, ‘रकमान्तर गर्दा पुराना आयोजनामा असर नपर्ने गरी झिकिएको छ । केही रकम ठेक्का लाग्दा घटेको पनि छ ।’ 

विशेष् गरी कनेक्टिङ सडकतर्फको बजेट रकमान्तर बढी भएको छ । 


आठौँ नगरसभामा ६ वटा नयाँ विधेयक पास हुनेछन् भने १७ वटा विधेयक संशोधनका लागि प्रस्ताव गरिएको छ । कृषि, पूर्वाधार विकास निगम, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण, पर्यटन, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन र गैरसरकारी संस्थासम्बन्धी विधेयक सभामा टेबल गरिएको हो ।

महानगरले यसअघि बनाएको आर्थिक कार्यविधि, गण्डकी बहुप्राविधिक शिक्षालय, कर तथा गैरराजस्व, खेलकुद, सहकारी, सुशासन, सहरी योजना, बालबालिकाको अधिकार व्यवस्थापन, फोहोरमैला व्यवस्थापन, सार्वजनिक/निजी साझेदारी, पूर्वाधार विकास, कृषि व्यवसाय प्रवर्द्धन ऐन, नगर प्रहरी ऐन, न्यायिक समितिलगायत १७ वटा ऐन तथा कार्यविधि संशोधन गर्न लागेको छ ।

आइतबारबाट सुरु भएको नगरसभा मंगलबार विधेयक पास गरेर सकिनेछ । यही सभाले पुराना कर्मचारीलाई गोल्डेन ह्यान्डसेक दिने गरी नयाँ व्यवस्था ल्याउन लागेको छ ।