close

सडक पेटी अतिक्रमणले कुरुप बन्दै गाईघाट बजार

सडक पेटी अतिक्रमणले कुरुप बन्दै गाईघाट बजार

Trulli
ADVERTISEMENT

उदयपुर– उदयपुर सदरमुकाम गाईघाटस्थित पुरानो त्रियुगा नगरपालिकाभित्रको गाईघाट बजार क्षेत्रका सडक पेटी अतिक्रमण गरी स्थानीयले विभिन्न व्यवसाय सञ्चालन गर्न थालेपछि दुर्घटनाको जोखिम बढेको छ ।


सम्बन्धित निकायको फितलो अनुगमनका कारण गाईघाट–दिक्तेल सडकअन्तर्गत त्रियुगा बसपार्कदेखि डिमगेट हुँदै मुख्य चोकसम्म करिब १ किलोमिटर कालोपत्रे सडकको दुवैतर्फ सडक पेटी अतिक्रमण हुँदा दुर्घटनाको जोखिम बढेको हो । 


पैदल यात्रुका लागि निर्माण गरिएको सडक पेटी स्थानीय व्यवसायीले अतिक्रमण गरेका हुन् । डक पेटीमाथि पसल राख्ने, नुनका बोरा थुपार्ने, निर्माण सामग्री राख्ने, मोटरसाइकल ग्यारेज सञ्चालन गर्ने, टायर थुपार्ने, बाख्रा बाँध्नेलगायतमा प्रयोग गर्न थाले पनि नगरपालिका, ट्राफिक प्रहरी, सडक कार्यालय वा जिल्ला प्रशासन कार्यालय कसैले अतिक्रमण नियन्त्रणमा चासो देखाएका छैनन् ।


व्यक्तिगत लाभका लागि यसरी बजारको स्वरुप नै कुरुप हुने गरी सार्वजनिक सडक पेटी अक्रिमण गरेपछि पैदल यात्रु जोखिम मोलेरै सडक बीचबाटै हिँड्नुपर्ने बाध्यता छ । सम्बन्धित निकायले चासो नदेखाउँदा दुर्घटनाको जोखिम बढेको स्थानीय सेता फार्मेसी सञ्चालक खुसीलाल ठाकुर बताउँछन् ।


सडक पेटी अतिक्रमण गर्नेलाई सार्वजनिक सडक ऐनअन्तर्गत कारबाही गर्न सकिने कानुनी प्रावधान कार्यालयसँग भए पनि नगरपालिकाको क्षेत्रभित्र भएकाले उसकै सक्रियतामा सडक पेटी खाली गराउँदा उचित हुने गाईघाट–दिक्तेल सडक योजना प्रमुख गोपालप्रसाद खकुरेलले बताए ।


नालीमाथि स्ल्याब लगाएर बनाइएको पेटीमा व्यापारीले जबर्जस्ती निर्माण तथा व्यापारिक सामग्री थुपारेर अवरोध पु¥याएपछि सडकबाट हिँड्दा तीव्र गतिमा हुइँकिने गाडीले ठक्कर दिने त्रास रहेको पैदल यात्रीको गुनासो छ ।